ब्याच नम्बर ६९ : गृहमन्त्री गच्छदारले नै 'डिआइजीमा बढुवा हुन हेमन्तले ५० लाख घुस दिन आयो' भनेर हल्ला चलाए

ब्याच नम्बर ६९ : गृहमन्त्री गच्छदारले नै 'डिआइजीमा बढुवा हुन हेमन्तले ५० लाख घुस दिन आयो' भनेर हल्ला चलाए

घटना २०६८ असोज ९ को। शुक्रवारको दिन थियो। बिहानैतिर हो। एकाएक घण्टाघरमा गोली हानेर कसैको हत्या भएको खबर आयो।

त्यो बेलामा विजयकुमार गच्छदार गृहमन्त्री थिए। त्यो बेलाको महानगरीय प्रहरी अपराध महाशाखामा म प्रमुख थिए भने काठमाडौँ परिसरमा केदार रिजाल। हामी दुबैलाई गच्छदारले सरुवा गर्न खोजिरहेको सूचना आइरहेको थियो। त्यही बेला अर्को हत्या भयो।

मस्जिदमा प्रार्थनाका लागि जाँदै गर्दा नेपाल मुस्लिम इत्तेहाद सङ्घका महासचिव फैजान अहमद मारिएका थिए।

साढे नौ बजेतिरको समय होला। ठ्याक्कै घण्टाघर अगाडि सडक पेटीमा भिडभाडकैविचमा ड्याङड्याङ गोली हानेर मारिएको थियो। महानगरीय प्रहरी आयुक्तको कार्यालय २ सय मिटर टाढा पनि छैन। उता दरबारमार्ग वृत्त।

नेपाल प्रज्ञा प्रतिष्ठानतिर जाने हो भने पनि त्यहाँ पनि सुरक्षाकर्मी हुन्छन् नै। चारैतिर सुरक्षाकर्मी र प्रहरीको कार्यालय भएको बिच ठाउँमा अनि मूल सडकमै एक नेपाली नागरिकको हत्या भयो। हत्या भए लगत्तै घटनामा संलग्नहरू सहजै फरार भए।

यूनुस अन्सारीको हत्या प्रयासको घटनाको अनुसन्धान गरेको अनुभवले यो घटना पनि सामान्य हैन भन्ने घटनाको शैलीले नै देखाइहाल्यो। उनी मुस्लिम अनि त्यसमा पनि पाकिस्तानसँग सम्बन्ध देखिएको। नेपालमा मदरसा शिक्षामा सक्रिय थिए उनी।

उनी ११ वर्ष पाकिस्तान बसेर नेपाल फर्किएर सुनसरीको हिलाल पब्लिक स्कुलमा ४ वर्ष प्रिन्सिपल भएका रहेछन्। इस्लामी सङ्घमा बसेर उनी सुनसरीलगायतका स्थानमा मदरसाको स्थापना, स्तरवृद्धिको काममा लागेका थिए।

यी पृष्ठभूमिले पनि यो घटना पनि उही जमिम शाह लगायतकाको हत्याको निरन्तरता हो भने देखाएको थियो। तर उनी कहिल्यै विवादमा आएका थिएनन्। अनि उनलाई कहिकतैबाट सुरक्षा थ्रेट आएको पनि जानकारी थिएन।

हामी अनुसन्धानमा लागेकै थियौँ। त्यही बेलामा मेरो अनि परिसरका केदार रिजालको पनि सरुवा निस्कियो। मेरो प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा सरुवा भयो। फैजान हत्या अनुसन्धान गहिरिएर गर्न सकिन।

OOO

अनुसन्धान र प्रविधि जोड्न एक घटनालाई उल्लेख गर्न मन लाग्यो।

सन् २०१० मा दुबइको एक होटेलमा प्यालेस्टियन नेता महमुद अल मबोहको हत्या भयो। उनी विरुद्ध इजरायले २ जना इजरायली सेनाको अपहरण र हत्यामा संलग्न रहेको आरोप लगाएको थियो।

होटलको कोठामा कसैले उनको घाँटी थिचेर हत्या गरेका थिए।

होटेलमा क्लोज सर्किट टेलिभिजन हत्यामा संलग्नहरू हातमा र्याकेट बोकेर टेनिसको लुगा लगाएर होटलको कोठामा गएको देखियो। त्यसकै आधारमा अनुसन्धान अगाडि बढाउँदा २१ जना इजरायलीहरू विभिन्न युरोपियन देशको पासपोर्टमा दुबइमा आएको खुल्यो।

उनीहरूले ब्रिटिस पासपोर्टदेखि अस्ट्रेलियासम्मको पासपोर्ट प्रयोग गरेको खुल्यो। अनुसन्धानमा ती सबै मोसादका एजेन्टहरू रहेको र उनीहरूले महोबको पिछा गर्दै दुबईको होटेलमा मौका पाएपछि हत्या गरेको खुल्यो। 

सबैको पहिचान भयो। उनीहरूले कुन कुन देशको पासपोर्ट प्रयोग गरेका थिए भन्ने पनि खुल्यो। बेलायतले त आफ्नो देशको पासपोर्ट दुरुपयोग गरेर अपराधमा प्रयोग गरेको भनेर औपचारिक रूपमै असन्तुष्टि जनाएको थियो।

तर प्रविधिको सहयोगमा सजिलैसँग एक राजनीतिक बदला मिसिएको हत्या घटनाको अनुसन्धान सफल भयो।

OOO

हत्याको मात्रै उद्देश्य भएको भए उनको कार्यालय, घर या अन्त जहाँ पनि आक्रमण गर्न सक्थे। तर उनीहरूले मूल सडक त्यो पनि उपत्यकाको सुरक्षा हेर्ने प्रहरी कार्यालयको नाकैमा हत्या गरेर सहजै फरार भए।

फैजान हत्याको उद्देश्यले मात्रै हैन हत्यासँगै हामीले चाह्यौ भने जे पनि गर्न सक्छौँ है भन्ने सन्देश दिने उद्देश्य पनि देखियो।  फैजान हत्या निकै दुस्साहसी अप्रेशन थियो।

मदरसा चलाएको या मुस्लिम भएकाले मात्रै फैजान मारिएका हुन् कि अन्य केही थियो भन्ने लामो समयसम्म खुलेन। पछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर यसमा संलग्न भारतीय नागरिकहरूको पहिचान खुलाएको थियो।

तर यता काठमाडौँमा उनीहरूलाई ओसारपसार गर्ने ट्याक्सी चालक धनबहादुर मगर मात्र पक्राउ परे।

दुई वर्षपछि बारामा फहद अहमद भन्ने व्यक्ति पक्राउ परेका थिए गोली हानेर भाग्दै गर्दा। उसको पक्राउपछि फैजानको हत्यामा उ पनि संलग्न रहेको अनि २ महिनाको योजनामा हत्या गरेको खुल्यो। उनले उही जमिम शाहको हत्यामा जस्तै भारतको लखनउको जेलमा रहेको बब्लु श्रीवास्तवकै नाम लिए। जुन त्यति विश्वास लाग्दो पक्कै थिएन।

OOO

२०७० तिरको कुरा हो,एक दिन एक परिचित पत्रकार मलाई भेट्न आए। उनी केही आश्चर्यमा परेका थिए। उनी मलाई भेट्न आउनुको कारण थियो इन्डियन मुज्जाहिद्दिनका कमान्डर  यासिन भट्कल।

भदौ दोस्रो साता भारतीय टेलिभिजन पुरै भट्कलको स्टोरीले भरिएका थिए। भारतको सुरक्षाका लागि इन्डियन मुज्जाहिद्दिन ठुलो चुनौती थियो। त्यसका कमान्डरहरू कता थिए कता। कोही फेला परेका थिएनन्। एकाएक भट्कल पक्राउ पर्नु उनीहरूका लागि ठुलो राहतको विषय थियो।

कतिले भट्कल भारतमा पक्राउ परेको दाबी गरिरहेका थिए। कतिले नेपालमा पक्राउ गरेर लगेको दाबी गरिरहेका थिए। स्वाभाविक रूपमा मलाई पनि चासो हुने नै भयो। यताउता कनेक्सनमा रहेकाहरूसँग बुझ्दा यासिन नेपालमा पक्राउ परेको पुष्टि भयो।

उनी लामो समयदेखि पोखरामा बसेका रहेछन् अर्को सहयोगीसँगै। पोखरामा उनी परम्परागत मुस्लिमपद्धतीको उपचार गर्ने चिकित्सकको आवरणमा बसेका थिए। पोखराबाट भारतमा पैसा पठाउँदा शङ्का लागेर भारतीय खुफिया एजेन्सीले अनुसन्धान गर्दा भट्कल पोखरामा बसेको खुलेपछि नेपाल प्रहरीको अनौपचारिक सहयोगमा पक्राउ गरेर भारत लगिएको थियो।

पहिला त भारतीय मिडियाहरूले भारतमै पक्राउ परेको दाबी गरिरहे। तर पछि खुल्दै गयो। उनी कसरी पोखरामा लुकेर बसेका थिए भन्ने सबै स्टोरीहरू सार्वजनिक भए। त्यो बारे त फिल्म पनि बनिसक्यो।

म पुन उही पत्रकारको प्रसङ्गमा फर्किए। मेरो घरमा आएका ती पत्रकार भारतीय टेलिभिजनमा उनै यासिन भट्कलको अनुहार देखेर मलाई भेट्न आएका रहेछन्। उनी आएपछि एकै सासमा भने' दाइ यसलाई त मैले भेटेको थिए।'

म पनि छक्क परे। ती पत्रकार भाइले भनेकोमा शङ्का गरिहाल्नुपर्ने पनि केही देखिएन। नभेटेको व्यक्तिलाई भेटे भनेर मलाई गफ दिँदा उनलाई के नै फाइदा हुन्थ्यो र।

ती पत्रकार कुनै कामले एक दिन फैजान अहमदलाई भेट्न उनको कार्यालयमा गएका रहेछन्। त्यही एक जना लामो दार्ही पालेका व्यक्ति समेत भेटिए। फैजानले उनलाई ती व्यक्ति चिकित्सक भनेर चिनाएका रहेछन् फैजानले। ती भाइका अनुसार भारतीय मिडियामा भटकल भनेर जसलाई देखाइएको थियो ती व्यक्ति उही फैजानको कार्यालयमै भेटिएका व्यक्ति थिए।

यसले किन फैजान मारिए भन्ने एक कारण त देखियो।

OOO

अनुसन्धानमा फैजानको हत्यामा को-को संलग्न थिए भन्ने नामहरू त खुले। उनीहरू कलङ्की क्षेत्रमा आएर बसेको, समूहमा महिला समेत संलग्न रहेको, उनीहरू उपचारका लागि अस्पताल गएकोसम्म विवरण सिआइवीले खुलाएको थियो।

तर पक्राउ पर्नेमा उही ट्याक्सी चालक मात्रै परे। ट्याक्सी चालक पनि निकै पछि पक्राउ परेकाले उनीबाट हत्यामा संलग्नहरूसम्म पुग्न सक्ने अवस्था हुने कुरै भएन।

नेपालमा हुने यस्ता घटनाको अनुसन्धान एक ठाउँमा गएर अनुसन्धान ब्रेक हुन्छ। अगाडि बढ्नै सक्दैन। उनीहरूले यसरी सञ्जाल बनाएका हुन्छन् कि एक स्थानमा पुगेर टुटिहाल्छ। त्यस्तोमा प्रविधि लगायतकाले सघाउन सक्छन्। नेपालमा समस्या त्यही प्रविधिको अभावमा देखिन्छ।

त्यही प्यालेस्टाइन नेताको हत्याको घटना हेरौँ न। यदि नेपालमा त्यस्तै योजनामा हत्या भयो भने खुलाउन सकिएला?

OOO

विजय गच्छदार गृहमन्त्री बनेर आए। अब गच्छदार कुन नेचरका मन्त्री हुन् भन्ने त सार्वजनिक नै भइसकेको विषय हो। प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह। उहाँले अब कहाँ एसएसपी बस्ने ठाउँमा बसिरहेको अब चाँडै बढुवा पनि निस्कँदै छ भन्नुभयो। मैले कुरा बुझिहाले। आइजिपीका पनि केही बाध्यताहरू हुन्छन्। उहाँले मलाई डिआइजी प्रमुख हुने स्थानमै सरुवा गर्न खोज्नुभएको थियो। तर मैले मानिन्।

म जान्न प्रशासनमै बस्छु भने। उहाँले पनि मान्नु भयो।

डिआइजीमा सरुवाको दौडधुप सुरु भयो। म कतै गइन। जान आवश्यक पनि थिएन। अब गृहमन्त्री भेट्ने हो भने के प्रस्ताव आउँछ प्रस्टै थियो। दिनकर शमशेर राणासँग गच्छदारले बढुवाका लागि पैसा मागेको त सार्वजनिकै भयो नि।

डिआइजी बनाउन मैले गच्छदारलाई ५० लाखको प्रस्ताव पठाएको भनेर गच्छेदारले आइजिपी शाहलाई सुनाएछन्। उहाँले सूचनाको स्रोतबारे सोध्दा सेनाबाट आएको भनेछन्। अनि उहाँले 'ल ठिक छ त्यसो भए म प्रधानसेनापति नै राखेर कुरा गर्छु। यदि हो भने कारबाही गर्छु' भनेपछि चुप लागेछन्।

गच्छदारले मेरो बढुवा रोक्ने प्रयास गरिरहे। कारण भेट्न नगएको, उनको आस पुरा नगरेको बाहेक के नै थियो र। उनी पैसा नलिई कुनै काम गर्दैनथे। उनको स्वभाव त्यस्तै हो। त्यसैले म बढुवामा छुट्दै थिए।

अब छुटे छुटोस्। एसएसपीमै अवकाशमा जाउँला भन्ने लाग्यो। तर आइजिपी शाहले बढुवामा मेरो नाम नराखेसम्म बढुवा प्रक्रियालाई अगाडि बढाउन मान्नु नै भएन। हेमन्त हुन्न भने कोही पनि हुन्न भनेरै बस्नुभएछ।

केही जोर नचलेपछि बल्ल मेरो नाम बढुवाको सूचीमा पर्यो। शाहसरको अड्डीका अगाडि गच्छदारले चाहेर पनि मलाई डिआइजी हुनबाट रोक्न सकेनन्। 

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

 

माघ ११, २०७९ बुधबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।