गृहमन्त्री रविको नागरिकताको सुनुवाइ सकिएन, हेर्दाहेर्दैमा शुक्रवार पुन सुनुवाइ सुरु हुने

गृहमन्त्री रविको नागरिकताको सुनुवाइ सकिएन, हेर्दाहेर्दैमा शुक्रवार पुन सुनुवाइ सुरु हुने

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेको नागरिकताको वैधताबारे संवैधानिक इजलासमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा रहेको छ। बुधवार सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा शुक्रवार पुन बहस जारी रहनेछ।

बुधवार रिटकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुङ्गानाले बहस गरेका थिए।

उनीहरूले बुझाएको लिखित बहस नोटमा लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः निष्क्रिय रहेको र निष्क्रिय रहेको नेपाली नागरिकता पुन प्राप्तिका लागि अपनाउनुपर्ने प्रक्रिया नअपनाएकाले उनको नागरिकता अवैध रहेको तर्क गरेका थिए।

नागरिकता पुन प्राप्तिका लागि अपनाउनुपर्ने चार चरणको प्रक्रियामध्ये उनी अमेरिकी नागरिकको रूपमा नेपाल आएर स्थायी रूपमा यही बसेको र अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको तर विदेशी नागरिकता त्यागेको निस्सा दर्ता नगरेको र नागरिकता पुन प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनी सांसद र मन्त्री हुन कानुनी रूपमा अयोग्य रहेको उनीहरूको तर्क थियो।

प्रधानमन्त्रीको कार्यालयको तर्फबाट बहस गर्न आएका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेको पक्षमा बहस गर्दै नागरिकता पुन प्राप्ति सम्बन्धी कार्यविधि बाध्यात्मक नभई ऐच्छिक भएकाले विदेशी नागरिकता प्राप्त गर्दा निस्क्रिय नेपाली नागरिकता सक्रिय गराउन विदेशी नागरिकता त्यागे पुग्ने तर्क गरेका थिए।

बुधवार बहस नसकिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। बुधवार स्थगित भएको सुनुवाइ शुक्रवार सुरु हुनेछ।

माघ ११, २०७९ बुधबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।