शिक्षक नै भू-माफिया, सार्वजनिक जग्गा दर्ता गरी बेचबिखन गर्ने तयारी गरेपछि मालपोतले लियाे नियन्त्रणमा

शिक्षक नै भू-माफिया, सार्वजनिक जग्गा दर्ता गरी बेचबिखन गर्ने तयारी गरेपछि मालपोतले लियाे नियन्त्रणमा

बुटवलः भू-माफियाले सार्वजनिक जग्गा दर्ता गरी बेचबिखनको तयारी गरेपछि मालपोत कार्यालय बुटवलले जग्गा नियन्त्रणमा लिएको छ।

रुपन्देहीको तिलोत्तमा वडा नं.६ स्थित हरपुरमा पर्ने साविक आनन्दवन ७ ख को ३ वटा कित्ताको सार्वजनिक जग्गा भू-माफियाले दर्ता गरी बेचबिखन गर्ने तयारी गरिरहेका बेला मालपोत कार्यालयले नियन्त्रणमा लिएको हो।

यस जग्गालाई शंकरनगरका शान्त कुमार कार्की र रन्जना थापा क्षेत्रीले संयुक्त रुपमा दर्ता गरी बेचबिखनको तयारी गरिरहेका थिए। सामुदायिक वन क्षेत्र भित्रको उक्त जग्गाको मूल्य करोडौं रुपैयाँ पर्छ।

शान्त कुमार कार्की तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको एक सामुदायिक विद्यालयका शिक्षक हुन्।

कार्कीले जग्गाको नक्कली लालपुर्जा बनाएर ८ करोड रुपैयाँमा विक्री गर्ने भन्दै केही विचौलियाहरुलाई परिचालन गर्दै आएका थिए। तर उनी सफल भएनन्।

कार्कीको समूहले मालपोत र नापी कार्यालयको मूल स्रेस्तामा प्रति उल्लेख भएको उक्त जग्गाको लालपुर्जा तयार गरी बिचौलियामार्फत बेचबिखनको तयारी गरिरहेका थिए।

बिचौलीयामार्फत मालपोतमा चलखेल गरी रहेकै अवस्थामा मालपोत कार्यालयले लालपुर्जा नियन्त्रणमा लिएको जनाएको छ। 

कार्कीले कित्ता नं १४० को २ बिघा ६ कट्ठा र कित्ता नं १४३ को ११ कट्ठा पौने १० धुर जग्गा २०६९ सालको मितिमा जम्मा २ बिघा १७ कट्ठा पौने १० धुर क्षेत्रफलको जग्गाधनी पुर्जा बनाइ बिचौलियामार्फत बेचबिखनको तयारी गरिरहेका थिए।

कार्कीले आफू र श्रीमती रन्जना थापा क्षेत्रीको नाममा २०६९ साउन १५ गते २ बिघा ६ कट्ठा क्षेत्रफल रहेको सार्वजनिक जग्गा कित्ता नं १४० कायम गरी मालपोत कार्यालय बुटवलमा कम्प्युटर अभिलेख कायम गराउन सफल भएको देखिएको छ।

त्यसैगरी, कित्ता नं १४३ को ६ कट्ठा पौने १० धुर क्षेत्रफल रहेको जग्गालाई २०६९ साल साउन १२ गते कम्प्युटरमा दर्ता गरेको पाइएको छ।

उनीहरुले स्रेस्ता अनुसार २०७२ साल बैसाख २३ मा उक्त जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि निकालेको देखिएको छ।

जग्गा रहेको तिलोत्तमा नगरपालिका वडा नं ६ मा अहिलेसम्म उक्त जग्गाको तिरो समेत तिरिएको छैन। वडा सचिव कृष्ण बहादुर क्षेत्रीका अनुसार तिरो तिर्न समेत अहिलेसम्म वडा कार्यालयमा कोही आएको छैन।

मालपोत कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत उपेन्द्रराज पौडेलले तीनवटै कित्ताको अभिलेख व्यक्तिको नाममा नदेखिएको बताए।

साथै उनले नापी र मालपोतको रजिष्टरमा व्यक्तिको नाममा नदेखिएको उक्त जग्गा कार्यालयको कम्प्युटरमा कसरी ईन्ट्री भयो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

‘शंकास्पद तरिकाले पुर्जा कायम भएको देखिएको छ। कम्प्युटर सिस्टममा प्रविष्ट देखिएको जग्गाको स्रेस्ता खोज तलास गर्दा कार्यालयको रेकर्डमा नभेटिएपछि अनुसन्धान भइरहेको छ,’ उनले भने।

२०४३ सालदेखि संरक्षण हुँदै आएको जग्गा

तिनाउ नदिको उकास क्षेत्र रहेको उक्त जग्गालाई २०४३ सालदेखि स्थानीयले संरक्षण गर्दै आएका थिए। तारबार गरी संरक्षण गरिरहेको जग्गा अहिले भू-माफियाको कब्जामा पुगेपछि स्थानीय वासिन्दा समेत अचम्ममा परेका छन्।

सामुदायिक वनका पूर्व-अध्यक्ष अर्जुन उपाध्यायले २०४९ सालमा जिल्ला वन कार्यालयबाट सामुदायिक वनको नाममा ल्याएर उक्त जग्गा संरक्षण गरिएको बताए।

सामुदायिक वनले अहिले सो जग्गा तारजाली लगाएर राखेको छ। तर भू-माफियाहरुले आफूहरुको लालपुर्जा रहेको भन्दै पटक-पटक जग्गा विक्रि गर्न मान्छे ल्याउने गरेको त्यहाँका स्थानीयहरु बताउँछन्।

तर जग्गाको लालपुर्जा देखाउँन अनुरोध गर्दा भू-माफियाहरुले लालपुर्जा भने आफूहरुलाई नदेखाएको स्थानीयको भनाइ छ।

जग्गा देखाउँन आउनेहरुले जग्गाधनीलाई भेट गराउँनुस् भन्दा पनि उनीहरुले आफ्नै जग्गा हाे भन्दै टार्ने गर्दथे।

मालपोतका कर्मचारीको पनि मिलेमतोको आशंका

स्थानीयहरु मालपोतका कर्मचारीहरुसँग भू-माफियाले मिलोमतो गरी कित्ता नं २१३ को १६ धुर जग्गा सँगै रहेका कित्ता नं १४० र १४३ को सार्वजनिक जग्गालाई आफ्नो नाममा बनाएको हुनसक्ने बताउँछन्।

मालपोत कार्यालयका प्रमुख पौडेलले पनि यसमा कर्मचारीको मिलेमतो हुन सक्ने भएकाले अहिले अनुसन्धानको कार्य जारी रहेको बताए।

उनका अनुसार मालपोत कार्यालयले यस विषयमा ०७९ पुस १७ गते भूमि व्यवस्था तथा अभिलेख विभागलाई पत्राचार समेत गरिसकेको छ। तर भूमि आयोगबाट यसबारे अहिलेसम्म केही जानाकारी आएको छैन।

अभिलेख विभागले बेवास्ता गरेपछि मालपोत कार्यालय बुटवलले छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहारेको छ।

के भन्छन् कार्की?

शान्त कुमार कार्कीले भने उक्त जग्गा कमलनाथ कंवरका नाममा रहेको र उनका नाती नाथुराम कंवरसँग हिसाब मिलान गर्दा फिल्डबुकमा रहेको उक्त जग्गा आफूले नामसारी गरेको दावी गरे।

जग्गाको कारोबार समेत गर्ने शान्त कुमार कार्की विद्यालयका शिक्षक हुन भने रन्जना उनकी पत्नी हुन्।

आनन्दवन सामुदायिक वन क्षेत्रमा रहेको उक्त जग्गा हडप्ने प्रयत्न गरेको सूचना पाएपछि हाल स्थानीयहरुको सहयोगमा सामुदायिक वन तारबार गरेर राखिएको छ।

माघ ९, २०७९ सोमबार १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।