अभिनेता पल बलात्कार प्रकरणको नालिबेली : आदेशमा अडियो रेकर्डलाई करणीको प्रमाण मानेको अदालतले फैसलामा प्रमाण मानेन

अभिनेता पल बलात्कार प्रकरणको नालिबेली  : आदेशमा अडियो रेकर्डलाई करणीको प्रमाण मानेको अदालतले  फैसलामा प्रमाण मानेन

काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परे लगत्तै फरार रहेका अभिनेता पल शाह २०७८ फागुन १४ गते प्रहरी कार्यालयमा पुगेर सरेन्डर गरे। उनी विरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि नाबालिग बलात्कारको जाहेरी दर्ता भएको थियो। जिल्ला अदालत नवलपुरले बलात्कार अभियोग अस्वीकार गर्दै प्राप्त प्रमाणको आधारमा नवबालिकामाथि यौन दुर्व्यवहार देखिएको भन्दै साढे २ वर्ष कैद सजाय सुनायो। १० लाख क्षतिपूर्ति तिराउने फैसला गर्यो। त्यो भन्दा बलियो प्रमाण भए पनि जिल्ला अदालत तनहुँले भने बलात्कारको दाबी नै नपुग्ने ठहर गर्दै सफाइ नै दियो मङ्गलवार।

नवलपुर अदालतले बाल यौन दुरुपयोग भएको प्रमाणको रूपमा स्वीकार गरेको अडियोलाई जिल्ला अदालत तनहुँले प्रमाण समेत मानेन। केही दिन अगाडि उच्च अदालत पाटनले नाबालिग बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिए अनुसार उनी केन्द्रीय कारागारबाट रिहा भइसकेका छन्।

उता पलको केसमा तनहुँ अदालतबाट मङ्गलवार आएको आदेशले नाबालिग बलात्कार र 'ह्वाइट कलर क्राइम' लाई थप गम्भीर बनाउने जोखिम बढाएको छ।

यो एक वर्षको बिचमा के-के भयो पल प्रकरणमा ?

नायक पलमाथि बलात्कार ठहरिने आरोपसहितको अडियो बाहिरियो, नक्कली भएको दाबी

नायक पल शाह नाबालिग गायिकालाई प्रेम गर्छु भन्दै यौन शोषण गरेको प्रकरणमा मुछिएका छन्। सानो उमेरमै मीठो स्वरका कारण श्रोतामाझ परिचित गायिका समीक्षा अधिकारीलाई प्रेम गर्छु भन्दै उनले यौन शोषण गरेको अडियो समेत बाहिरियो फागुन १० मा। उनले अडियो नक्कली भएको दाबी गर्दै फेसबुकमा लेखे।

पुरा समाचार : नायक पलमाथि बलात्कार ठहरिने आरोपसहितको अडियो बाहिरियो, नक्कली भएको दाबी

अभिनेता पल शाहविरुद्ध तनहुँमा दर्ता भयो बलात्कारको जाहेरी

फागुन ११ गते अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भयो। नाबालिका गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनको परिवारका सदस्यले उनी विरुद्ध जाहेरी दर्ता गरेका थिए। जाहेरी दर्ता लगत्तै शाह फरार भए।

पुरा समाचार : अभिनेता पल शाहविरुद्ध तनहुँमा दर्ता भयो बलात्कारको जाहेरी

जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी किन दर्ता भयो ? 

अभिनेता पल शाह काठमाडौँमा बस्छन्। उनी विरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग गायिका कास्कीमा। तर जाहेरी भने जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भयो। किन ? 

घटनास्थल तनहुँ भएकाले उतै अनुसन्धान हुने भएकाले कास्की प्रहरीले पहिला तनहुँमा गएर जाहेरी दर्ता गर्न सुझाव दिएको थियो। तनहुँ नजाने भए कास्कीमै जाहेरी दर्ता गर्न सकिने र कास्कीले तनहुँमा पठाउने भनेको थियो।

पुरा समाचार : पलविरुद्ध किन तनहुँ पुग्यो बलात्कार जाहेरी ?

पलविरुद्धको जाहेरी :  प्रेमको झुटो नाटक गरी पोखरा र चितवनको होटेलमा बलात्कार गरे

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा 'पोखरा र चितवनको होटेलमा लगेर बारम्बार बलात्कार गरेको उल्लेख छ। 

एकै कार्यक्रममा सहभागी हुन एकै गाडीमा बस्दा यौन दुर्व्यवहार गरेको, रक्सी खाएर सुतेको कोठामा आएर करणी गरेको, कामको म्युजिक भिडियोको सुटिङमा जाँदा होटेलमा जवर्जस्ती करणी गरेको लगायतका दाबी जाहेरीमा उल्लेख छ।

'निज प्रतिवादीले यस भन्दा पहिले पनि पोखरास्थित होटेल प्राइममा र चितवनस्थित गैँडाकोट रिसोर्टमा पटक पटक जवर्जस्ती करणी गरेका हुँदा यसरी मेरी नावालीका छोरीलाई माया प्रेम गरेको, विभिन्न गीतहरूको सुटिङ हुँदाको बखत छोरीको हेरविचार गरेको बहाना गरी माया प्रेमको झुटा नाटक गरी जवर्जस्ती करणी गर्ने पूर्ण विक्रम शाह भन्ने पल शाहलाई कारबाही गरिपाऊँ' जाहेरीमा भनिएको छ।

 पुरा समाचार : पलविरुद्धको जाहेरी :  प्रेमको झुटो नाटक गरी पोखरा र चितवनको होटेलमा बलात्कार गरे

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

पल शाह र पीडित भनिएकी गायिकाको पक्ष–विपक्षमा पछिल्लो समय रंग पत्रकारहरु लागिपरेका छन्। केही पत्रकारहरु गायिकालाई मनाउन पोखरा नै पनि पुगेका थिए भने केही पीडितले न्याय पाउनुपर्छ भन्नेमा देखिन्छन्।

रंग पत्रकार सामिप्य तिमल्सिना पत्रकार आ–आफ्नो स्वार्थमा रहेका कारण वास्तविकता बाहिर नआएको बताउँछन्।

‘रंग पत्रकार तीन किसिमका छन्। एक पकेट पत्रकार छन्। तिनीहरु पक्षमा लेख्छन्। अर्को जमात विपक्षमा छ। र, अर्को चाहिँ सम्बन्ध बिग्रन्छ भनेर मौन छन्,’ उनी भन्छन्, ‘यस घटनाले हाम्रो रंग पत्रकारको हैसियत देखाएको छ। अहिले जे भइरहेको छ, त्यो गलत छ। पत्रकारिता निष्पक्ष हुनुपर्छ।’

पुरा समाचार : पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

पल शाहविरुद्ध गैँडाकोट प्रहरीमा पनि पर्यो बलात्कारको जाहेरी

अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी पर्यो। जाहेरीमा २०७७ चैत ७ मा गैँडाकोटको एक होटेलमा पलले आफूलाई बलात्कार गरेको दाबी गरिएको छ। म्युजिक भिडियोको सुटिङका क्रममा गैँडाकोट आएका बेलामा शाहले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

थप समाचार : पल शाहविरुद्ध गैँडाकोट प्रहरीमा पनि पर्यो बलात्कारको जाहेरी

'सुटिङ भन्दै रिसोर्टमा पाँच दिन राखेर मापसे गराई बलात्कार'

इलाका प्रहरी कार्यालय गैँडाकोटमा पल शाह विरुद्ध नाबालिगको तर्फबाट उनका आफन्तले दर्ता गरेको जाहेरीमा मदिरा पिलाएर बलात्कार गरेको दाबी गरियो। 

जाहेरीमा २०७७ चैत ७ गते नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको गैँडाकोट रिसोर्टमा एक दिन मात्रको लागि सुटिङका लागि लगेको उल्लेख गर्दै भोलिपल्ट पनि सुटिङ गर्ने भन्दै मादक पदार्थ खुलाएर बलात्कार गरिएको उल्लेख छ।

थप समाचार : 'सुटिङ भन्दै रिसोर्टमा पाँच दिन राखेर मापसे गराई बलात्कार'

 

पललाई सात दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा अनुसन्धानका लागि पल शाह सात दिन प्रहरी हिरासतमा परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई आइतबार जिल्ला अदालत तनहुँमा पेस गरेको थियो।

जाहेरी परेको पाँच दिनसम्म फरार रहेका उनी आफू निकटलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आइतबार आफैँ प्रहरी कार्यालय पुगेका थिए।

थप समाचार : पललाई सात दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी

'प्रेमीले मेरो भावनाको खेलवाड गर्यो ' भन्दै मिडियामा धुरुधुरु रोएको पूजा शर्माको अनुहार फनफनी घुम्न थाल्यो। अनि उनैले अहिले 'पल शाह जिन्दावाद' भनेर नारा लगाएको, जाहेरी दर्तापछि फरार भएका पलको फोटो प्रिन्ट भएको टिसर्ट लगाएर 'पल र पूजाको मुटु एकै हो, कसैले छुट्याउन सक्दैन' भनेका दृष्य झल्झली आए। 

पुरा समाचार : तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी

मनोविद् गोपाल ढकालको सुझाव : 'बलात्कृत हुनुमा पीडितको दोष भन्ने सोच्नै हुन्न'

बलात्कार तथा यौन दुर्व्यवहारको कारण आघात भएका बालिका तथा महिलामा घटनापछि परिवार तथा समाजले गर्ने नकारात्मक व्यवहारले थप मानसिक रुपमा बिच्छिप्तता तथा पीडा निम्त्याउने जोखिम हुन्छ।

घटनाले पार्ने आघात तथा दुर्घटना (ट्रमा) पहिलो (प्राइमरी) आघात हो भने घटनापछि हुने आघात दोस्रो (सेकेन्डरी) आघात हो।

यस्तोमा दोस्रो आघातमा जान नदिन सम्बन्धीतको निकै ख्याल गर्नुपर्छ।

दुवै प्रमाण पल विरुद्ध : जन्म दर्ता अनुसार पीडित नाबालिग, मेडिकल रिपोर्ट आयो

जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो।
'जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।'

थप समाचार : दुवै प्रमाण पल विरुद्ध : जन्म दर्ता अनुसार पीडित नाबालिग, मेडिकल रिपोर्ट आयो

पल विरुद्ध नाबालिगको बयान : मायाको नाटक गरेर यौन शोषण गरे

राति अं. ११:०० बजेको समयमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले मेरो फेसबुक म्यासेन्जरमा म्यासेज गरी आउँछु ढोका खुल्ला राख्नु भनेको हुँदा मैले उक्त म्यासेजको कुनै प्रतिवाद नगरी बसी रहेको अवस्थामा म सुतेको कोठा बाहिर ढोका ढकढक गरेको आवाज सुनी मैले ढोका खोल्दा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह रहेछन्।

त्यसपछि निज प्रतिवादी मेरो कोठामा प्रवेश गरी मलाई ललाई फकाई, माया गर्छु, विवाह समेत गर्छु भनी रातभरसम्म २ पटक मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेका हुन।

थप समाचार :

पल शाहको बयान : म रातको अन्दाजी ११:३० बजे पीडितको कोठामा गएको हुँ

म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले रातको अं. ११:३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमिलाई हिजोको जस्तो डर त लागेको छैन नि, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो।

थप समाचार : पल शाहको बयान : म रातको अन्दाजी ११:३० बजे पीडितको कोठामा गएको हुँ

पललाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

आदेश पत्रमा उल्लेख गरिएको आधार :

१- शाहले पीडितलाई जवर्जस्ती करणी गरेको कुरामा इन्कार गरे पनि निजले मौकामा गरेको बयान हेर्दा राती करिब १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको पाइयो।

२- एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजे प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन। राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राती निजले पीडितलाई करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।

३- शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुटो आश्वासन दिई पहिले पनि पटक पटक करणी गरेको भन्ने पीडितको मौकामा व्यक्त गरेको घटनाको कागज उनले आफूलाई प्रतिवादीले पटक पटक करणी गर्ने गरेको कारण अप्ठेरो परेको छ भनी बताएकी भन्ने सरोज वली, योगेश शाह र दुर्गेश थापा र दुर्गा अधिकारीको बयानबाट समर्थित हुन आयो।

४- शाह पीडित नाबालिग हुन् भन्ने जानकारी रहेको। उनी ३२ वर्षका वयस्क व्यक्ति हुन्। प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डविच सम्बन्ध हुनु नर्मल हो प्रेगनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा शाहले करणी गरेको थप पुस्ट्याइँ हुन आयो।

५-घटना विवरण कागज लगायतका तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले नाबालिगलाई ललाई फकाई विवाह गर्छु भनेर करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राख्न कारागार कार्यालय दमौली पठाउनु।

पुरा समाचार : पललाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

पल प्रकरणमा कानुनी आदेश त आयो, अब समाजबाट के आदेश आउला !

सामाजिक सञ्जाल हेर्ने हो भने पलसँग साइनो नै नभएकाहरू पनि आक्रोशित देख्दा भने दिक्क लाग्यो। यो घटनाबारे प्रहरीमा जाहेरी परेदेखि नै जस्तो प्रतिक्रिया आएको थियो त्यसले नेपाली समाजले अझैँ बालिग र नाबालिगबिचको भिन्नतै बुझ्नै नसकेको लागेको थियो। कानुनमा १८ वर्ष मुनीकारसँग कस्तो व्यवहार स्वीकार्य अनि कस्तो अस्वीकार्य लेखियो। तर समाजका सदस्य नै यसबारे जानकार लागेन।

थप समाचार : पल प्रकरणमा कानुनी आदेश त आयो, अब समाजबाट के आदेश आउला !

पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिगले अदालतमा बयान बदलिन्

मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्। जबकि जाहेरी दर्तापछि उनले ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ता दिँदा समेत आफूमाथि बलात्कार भएको बताएकी थिइन्।

थप समाचार : पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिगले अदालतमा बयान बदलिन्

नाबालिग त बुझ्न नचाहने समाजले होस्टायल बुझ्न खोज्ला र!

आफूलाई सेलिब्रिटी भन्ने केही त अझै पनि पल निर्दोष भएको सुन्न लालयित छन्। किरण केसी जस्ता कलाकारहरू त अहिले पनि 'त्यस्तो भलाद्मी, भद्र केटो त्यसलाई म फिल्म खेलाउँछु' भन्दै प्रतिवादीकै पक्षमा उभिएकै छन्।

यसैले देखाउँछ योबीचमा जाहेरीकर्ताले के-कति सामाजिक र मानसिक तनाव भोग्यो भनेर। ती नाबालिग अनि उनको परिवारमा एकाएक आएको समस्याको चाङबारे कमै चर्चा भयो।

पुरा विचार : नाबालिग त बुझ्न नचाहने समाजले होस्टायल बुझ्न खोज्ला र!

बलात्कार उजुरी रोक्न असफल पल पीडित होस्टायल बनाउँदा पनि धरौटी निकाल्न भएनन् सफल

अदालतबाट यौन अपराधसँग जोडिएका घटनाको अनुसन्धान र अदालती प्रक्रियामा मानव बेचबिखन कानुनमा रहेको ' पीडितको बयान सिधै न्यायाधीशको सामुन्ने गराउने र पछि पीडितले थप बयान नदिए या तारेख गुजारे पनि त्यही बयान प्रमाणित हुने'  उल्लेख गरिदिए मात्रै भोलिका यस्ता घटनामा पलहरूको चलखेलको बाटो बन्द हुन सक्थ्यो।

पुरा समाचार : बलात्कार उजुरी रोक्न असफल पल पीडित होस्टायल बनाउँदा पनि धरौटी निकाल्न भएनन् सफल

पल केसमा अदालतले कन्याजाली च्यातिनुलाई बलात्कारको प्रमाण मानेन

फैसलाको पूर्ण पाठमा पीडितको स्वास्थ्य जाँच परीक्षणबाट कन्याजाली च्यातिएको भनी उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको हो भनी अनुमान गर्न समेत पीडितले नै अस्वीकार गरेकोलाई मुख्य आधार बनाइएको छ।

प्रारम्भिक अनुसन्धानमा पीडितले शाहले बलात्कार गरेको स्वीकार गरेकी थिइन्। तर पछि अदालतमा उनले बयान बदलिइन्। कन्याजाली च्यातिएको सवालमा उनले सानैबाट साइकल चलाउने र अरूलाई सिकाउने गरेको हुँ भनी अदालतमा गरेको बकपत्रले स्वास्थ्य प्रतिवेदनलाई खण्डित गरेको व्याख्या गरिएको छ।

पुरा समाचार :  पल केसमा अदालतले कन्याजाली च्यातिनुलाई बलात्कारको प्रमाण मानेन

 

पल प्रकरणमा फैसलाको पूर्ण पाठमा नअटेको व्याख्या 'बच्चा कसरी हुन्छ?' प्रेमी-प्रेमिका मात्र भएर वा करणीबाट !

'यसमा चाही के छ भनेसि यो यति ठुलो डिसिजन लिनुपर्छ नै भन्ने छैन। किनभने उ प्रेगेनेन्ट भएको भए....मैले गर्दा प्रेगनेन्ट भएको भए... समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो... बिहे गर्ने, स्विकार्ने की नस्विकार्ने अब गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अरूको बाहिर हेर्नुस्..... अब अहिले यही छ..... कान्छी गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अण्डरस्ट्यान्डिङमा भयो होला...... हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि लास्टमा स्विकार्नै पर्छ ? विवाह गर्नैपर्छ ?....'

पुरा समाचार : पल प्रकरणमा फैसलाको पूर्ण पाठमा नअटेको व्याख्या 'बच्चा कसरी हुन्छ?' प्रेमी-प्रेमिका मात्र भएर वा करणीबाट !

‘अभियोग दाबी नपुग्ने’ भन्दै तनहुँ अदालतबाट पललाई सफाइ

नाबालिकलाई बलात्कार आरोपमा मुद्दा चलिरहेका शाहलाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएको अदालतको वेबसाइटमा उल्लेख छ।

पुरा समाचार : ‘अभियोग दाबी नपुग्ने’ भन्दै तनहुँ अदालतबाट पललाई सफाइ

सफाइ पाए पनि जेलमुक्त हुने छैनन् पल शाह, २०८१ भदौसम्म जेलभित्रै

उनले २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका थिए। प्रहरी कार्यालयमा ११ फागुनमा एक नाबालिग गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएकाले अदालतले जेलमुक्त गर्ने आदेश दिएमा उनको जेलजीवन छोटिनसक्छ।

नवलपुर अदालतले पनि शाहलाई बलात्कारको आरोपमा सफाइ दिएको थियो तर बाल यौन दुरुपयोगको कसुरमा उनलाई साढे २ वर्षको जेल र क्षतिपूर्तिबापत १० लाख रूपैयाँ जरिवाना तोकिएको थियो।

पुरा समाचार : सफाइ पाए पनि जेलमुक्त हुने छैनन् पल शाह, २०८१ भदौसम्म जेलभित्रै

माघ ३, २०७९ मंगलबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।