चौथो अङ्ग : अहिलेका रिपोर्टरले सम्पादकलाई नै टेर्दैनन्, व्यक्तिगत स्वार्थले पत्रकारिता पत्रु हुँदै गयो
मोफसलको मात्रै हैन, समग्र पत्रकारिताकै अवस्था देखाउनसक्ने एक उदाहरणबाटै कुरा सुरु गरौँ। पञ्चायतकालमा बारामा एउटा घटना घट्यो। त्यो बेला सरकारले 'फुड फर वर्क' भन्ने कार्यक्रम ल्याएको थियो। आवेदन धेरै पर्योा। झडपै हुने स्थिति आयो।
केही बेरमा वीरगञ्जभर सो कार्यक्रममा गोली चलेको हल्ला चल्यो। म रिपोर्टिङका लागि गएँ। बाटोमा मेरै घर छेउको एकजना सरकारी कर्मचारी भेट हुनुभयो।
उहाँले माइत गएर आएकी पर्साकी एक महिलाको गोली लागेर मृत्यु भएको बताउनुभयो। यो घटना घटेको थियो की थिएन, के-के भएको थियो थाहा पाउन हुटहुटी भयो।
हुँइकिएँ घटनास्थलतिर। गएर केही सोधेको 'पत्रकार भएर आफैं थाहा पाउनु नि' भन्ने जवाफ आयो। धेरै सोधीखोजी गर्दा पनि भनिए जस्तो अवस्था फेला परेन। प्रमुख जिल्ला अधिकारीले पहिला कुरै गर्न मानेनन्।
वरपरका अस्पताल गएँ। घटनास्थल पनि हेरेँ। केही घटना भएकै देखिएन। न गोली लागेको या मरेका नै कोही पेला परे। बलबल्ल सिडिओ बोल्न माने। उनले भने, 'गोली पनि नचलेको अनि कोही पनि नमरेको' पो भने।
तर हल्ला यसरी फैलियो की काठमाडौंका मिडियाले कसैले ९ जना त कसैले २५ जनाको मृत्यु भयो भनेर समाचार छापे। जसले २५ जना मारिए भनेर लेखेका थिए उनले मलाई लिष्ट नै थमाउनुभयो। अति भयो भनेर म मृतकको नाम र ठेगाना लिएर भेरीफाइ गर्न गाउँ-गाउँ गएँ। तर त्यहाँ ती नाम गरेका कोही भेटिएनन्।
पञ्चायत हटेपछि थाहा भयो पञ्चायतलाई कमजोर बनाउन यस्तो हुँदै नभएको हल्ला गराइएको रहेछ। झुटो समाचार छापियो। यसले राजनीतिक स्वार्थको लागि नभएको समाचार लेख्ने अनि पत्रकार फिल्डमै नजाने गरेको देखियो। बढो चित्त दुख्छ त्यो घटना अनि समाचार सम्झँदा।
यो समस्या अहिले पनि छ। संविधान जारी भएपछि मधेश आन्दोलन भएको बेला मृत्यु संख्या बढाएर लेखियो। मधेशबारे मिडियाले पहिले त झनै लेख्दैनथे। खाली सनसनी भए मात्रै लेख्ने। अहिले मधेशमा पनि मिडियाको बजार बढेको छ। त्यसैले लेख्न थालेका त छन्। तर, अझै गहिराइमा पुगेर मधेशबारे लेखिएको रिपोर्टिङ बिरलै पढ्न पाइन्छ।
अधिकांश सम्पादक आफ्नो समाचार आफैँ पढ्दैनन्
२०२९ सालतिर 'विद्यार्थी बुलेटिन' भन्ने पत्रिका निकालेका थियौँ। त्यहीबेला देखिनै पत्रकारिताको चस्का पस्न थाल्यो। अरु नै काम गरे पनि हामीले पत्रिका भने निकालिहालेका थिएनौँ। २०४५ सालमा 'प्रतिक साप्ताहिक' निकाल्ने भयौँ। पञ्चायत सक्किने बेला थियो त्यो। बढो दु:ख गरेर खर्च जुटाइयो।
उसो त अहिले पनि कम्पनी कहिले ब्रेकइभन त कहिले घाटामा नै चलिरहेको छ। सन् २००३ देखि यसलाई दैनिक बनायौँ। पत्रिका यो भेगमा कुनै समय निकै चर्चित पनि भयो। अहिले ठीकै बिक्री हुन्छ।
दरबार हत्याकाण्ड अनि माओवादी द्धन्द्धकालसँगै मधेश आन्दोलनताका पत्रिका राम्रै बिक्री भएको थियो। पहिले-पहिले हामीले राजधानीमा हुने घटनालाई प्रथम पृष्ठमा महत्वका साथ छाप्थ्यौँ। त्यहाँ हाम्रो एकजना साथी थिए। उनले पठाएका समाचार छाप्थ्यौँ। पछि सोचेँ, जहाँको पत्रिका हो त्यहाँको प्रमुख समाचार किन नबनाउने।
१५ वर्ष जति भयो पहिलो पृष्ठमा वीरगञ्ज र मधेश वरपरकै समाचारलाई प्राथामिकता दिन थाल्यौँ। त्यो निर्णय राम्रो भयो। स्थानीयहरूले रुचाए। गाउँ-गाउँमा पुगेर पत्रिका बाड्ने समेत गर्यौं पहिले त। अहिले पिडिएफ अपलोड गर्ने अनि अनलाइनमा त्यही समाचार राख्ने गरेका छौँ। पत्रिका निस्किरहेको नै छ।
हाम्रोमा अहिले देखिएको मूल समस्या समाचारको फलोअप नै हो। कहिलेकाँही ठूलै समूहले हप्काउँछ-दप्काउँछ। उस्तैपरे मार्छु नै भन्छन्। त्यतिबेला पनि पत्रकार विचलित हुनुहुँदैन। सत्य जे हो त्यही लेखिरहनुपर्छ।
केही समय पहिले एक व्यवसायीले अस्पतालको लागि अधिग्रहण गरेको जग्गा छोरीलाई दाइजो दिन लागेका रहेछन्। अस्पताल भने अन्तै सञ्चालन भइरहेको थियो। त्यो समाचार प्राथमिकताका साथ छाप्यौँ। नियमअनुसार जे कामका लागि जग्गा अधिग्रहण भएको हो त्यसैका लागि प्रयोग गर्नुपर्ने कानून छ। नत्र मोहीयाहरूले हकदाबी गर्न पाउँछन्। त्यही लेख्यौँ।
त्यसपछि त किसानहरूले कुटोकोदालो लिएर अधिग्रहण गरेको जग्गामा गए। हामीले निरन्तर समाचार लेखिरह्यौँ। बाध्य भएर त्यही जग्गामा अस्पताल बनाउनुपर्योे। जग्गाको दुरुपयोग हुन पाएन। यो निरन्तर फलोअपको प्रभाव हो। एउटा समाचार लेखेर छाडेको भए परिणाम आउँदैनथ्यो।
अर्को कुरा भनेको पत्रकारले जहिले पनि बीचमा बसेर हेर्न सक्नुपर्छ। पीडित मात्र भनेर एकपक्ष भएर हेर्न हुन्न। के भएको हो सबै बुझेर मात्र धारणा बनाउँदा प्रभावित हुने जोखिम कम हुन्छ। तर यसमा हामी पत्रकारहरू चिप्लिरहेको देख्छु।
माओवादी दन्दकालमा नै हो। कांग्रेस नेता अफताव आलमको घर माओवादीले लुटे। माओवादीले के-के लुटे त्यसको लिष्ट म कहाँ आइपुगेको थियो। आलमले सबैलाई ५ करोड बराबरको धनमाल लुटिएको दाबी गरिरहेका थिए। तर मैले ९९ हजार मात्रै हो भनेर लेखेँ।
जोसुकै होस्, जसको समाचार भए पनि पत्रकारले नडराइ लेख्ने त हो। मैले पाएको लिस्टमा त्यति नै लुटिएको खुल्यो। त्यत्रो धनमाल के थियो उनको घरमा भन्ने पुष्टि हुने आधार पनि हुनुपर्यो नि! सत्य जे हो त्यही लेख्ने त हो।
समाचार मात्र लेखेर के गर्नुहुन्छ भन्नेहरू पनि भेटिन्छन्। समाचार लेखेर के हुन्छ भन्नेहरूलाई सम्झाउन सक्नुपर्छ। माओवादी द्धन्द्धकालमा माओवादीले गरेको आक्रमण र उनीहरूको कार्यक्रमबारे समाचार लेख्दा प्रशासनले माओवादीको हो कि भनेर शंका गर्थे। जसले शंका गर्थे म उनीहरूलाई 'झनै माओवादीको सूचना दिनु प्रशासनलाई सहयोग गरे बराबर हैन र' भनेर सम्झाउँथे।
एकपटक सेनाले प्रत्यक्ष हेलिकोप्टरबाट हाम्फालेर आक्रमण गर्ने भयो भनेर समाचार लेख्दा माओवादीले 'हाम्रो मनोबल गिराउने काम गर्ने' भनेर मलाइ धम्क्याएका थिए। मैले उनीहरूलाई पनि उस्तै शैलीमा 'झन् सरकारको गतिविधिबारे जानकारी दिएको छु। किन धम्काउनुहुन्छ?' भने। उनीहरू सहमत भए।
पत्रकारिताको नाममा प्रशासनको लागि सुराकी गर्ने अनि पत्रकारको नाममा माओवादीलाई सहयोग गर्ने काम भएकाले नै हामीलाई पनि शंका गरेका त हुन्। सबैजना त्यस्तै हुन्नन् है भनेर सम्झाउन सक्ने हो भने सकिन्छ सम्झाउन। तर कुनै समूह विशेषको स्वार्थमा काम गर्नुभएन।
पत्रकारिता कुनै पार्टी वा व्यवसायीको झोला बोक्ने पेशा हैन। यो सत्यको नजिक पुगेर गरिने पेशा हो नि! टन्न पैसा कमाउने पेशा यो हुँदै हैन। पैसा कमाउने हो भने अन्य पेशा छँदैछ।
किन बदनाम छ वीरगञ्जको पत्रकारिता?
वीरगञ्जको पत्रकारिता बदनाम मानिन्छ। यसका केही कारण छन्। मोफसलको पत्रकारिताको आफ्नै सीमितता छन् अनि मोसफलको पत्रकारिता पनि केही स्वार्थीको हातमा पनि नपुगेको हैन। यी दुवै कारणले अलि बदनाम भएको हो कि!
यहाँ २६ वटा पत्रिका छन्। केही नियमित निस्कन्छन् भने केही निस्कदैन्। केहीले रिपोर्टर राख्दिने अनि दिनको ५ सय पनि खर्च नगरी केही प्रति पत्रिका निकालेर धम्क्याउने धन्दा पनि चलाइरहेका छन्। सम्पादकमा नाम हुन्छ। तर पत्रिकामा के-के समाचार छापियो भनेर बिहान पत्रिका हेरेर मात्रै थाहा पाउनेहरू पनि छन्। यसरी पनि पत्रकारिता चल्छ र? तर यहाँ चलिरहेको छ।
सन् २००७ मा पत्रकारिताकै तालिमका लागि अमेरिका गएको थिएँ। मलाई २ लाख जनसंख्या भएको एउटा राज्यमा लगेर राखिएको थियो। त्यहाँ जम्मा एउटा पत्रिका निस्कन्थ्यो, ९५ हजार प्रति। तर यहाँ हेरौँ त कति छन्?
यहाँ पनि सबै मिलेर एउटै पत्रिका निकाल्ने हो भने स्रोत पनि एकीकृत हुनसक्छ अनि जनशक्तिको पनि अभाव कम हुन्थ्यो नि! साच्चै पत्रकारिता गर्ने लक्ष्य हो भने सबै मिलेर काम गर्न केले नै रोक्छ र। अब पत्रकारिताको नाममा अनेक धन्दा गर्ने हो भने त कसरी मिलेर काम गर्न सकिन्छ र!
पत्रकार मोटाए तर पत्रकारिता पत्रु भयो
समाचारको लागि विषय टन्नै छन् तर समाचार आउँदैनन्। त्यसैले पहिले पत्रकारिता थियो अहिले छैन भन्ने गरेको छु। अहिले पत्रकार मोटाए तर पत्रकारिता पत्रु भयो। आचारसंहिता पालना अनि पेशागत दायित्व दुब्लो भयो।
सम्पादकलाई नै टेर्दैनन् अहिलेका रिपोर्टर। स्वार्थी समूहबाट प्रभावित भएर गर्नै नमिल्ने काम पनि गरिरहेको देख्छु। आफ्नो रिपोर्टरले कस्तोसम्म समाचार ल्याउनसक्छ अनि कतिसम्म लेख्नसक्छ भन्ने थाहा हुन्छ नि! उसले पहुँच बाहिरको समाचार ल्यायो भने सम्पादकले थाहा पाइहाल्छन् नि! तर पत्याउनै नसक्ने समाचार ल्याए पनि उसैको बाइलाइनमा छापिएका समाचार प्रशस्तै देख्छु। अब इमान कहाँ छ भनेर सोच्नुपरेन र यस्तो देख्दा!
मोफसलको पत्रकारिताबारे त भनि नै हाले, काठमाडौंबाट निस्केका पत्रिका पनि कन्टेन्टको हिसाबमा त बिजोग देखिन्छ। सरकारी समाचार एजेन्सी राससका समाचारलाई यताउती पारेर रिपोर्टरको बाइलाइनमा हालेको समाचार कति देखिन्छ कति। यो भन्दा लाजमर्नु कुरा के हुन्छ?
कपीपेष्ट थेग्नै नसक्नेगरी मौलाएको छ। मिहिनेत गर्ने पत्रकार दुर्लभ हुँदै गए। स्रोत र साधनले पूर्ण भइकन पनि राम्रो समाचार आएका छैनन्। यसमा मैले पत्रकारलाई मात्र दोष लगाएको होइन। मिडियासँग जोडिएका सबै पक्षको कमजोरी त छ नै। तै पनि पत्रकारहरू इमान्दार हुने हो भने अन्यले मात्र चाहेर बदमासी हुन सक्दैन।
कसैलाई नेता बनाउन, कसैको व्यवसाय उकास्न, अनि कसैलाई फसाउन अनि कसैलाई जोगाउन हैन कि सकेसम्म सत्य नजिक पुगेर तथ्यहरू केलाएर पत्रकारिता गर्ने हो भने स्पेश त टन्नै छ। यत्ति बुझ्ने हो भने पत्रकारिता मर्दैनथ्यो। नत्र गाह्रो छ।
(वीरगञ्जबाट प्रकाशित भइरहेको दैनिक पत्रिका 'प्रतिक'का सम्पादक शर्मासँग उकेराको चौथो अंगका लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला
पुष २६, २०७९ मंगलबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।