प्रमोसनको आवरणमा नेपाली फिल्मको कार्यक्रम विदेशमा गर्ने होडबाजी, विवादित सूर्यपछि अब चलचित्र प्राविधिक सङ्घको पालो

काठमाडौँ : फिल्म सम्बन्धी कार्यक्रमको आवरणमा अवैध रूपमा मानव ओसारपसारमा संलग्न देखिए पनि वैदेशिक रोजगार विभागमा सेटिङ गरेर उन्मुक्ति पाएको सूर्य इन्टरनेशनल प्रालीसँग चलचित्र विकास बोर्डले दुबईमा कार्यक्रम गर्ने सम्झौता गर्यो।
वैदेशिक रोजगार विभागले सो कम्पनीको बागबजारमा रहेको कार्यालयमा छापा मार्दा कलाकारहरूसहितको ८० वटा पासपोर्ट फेला परेको थियो। जापान लैजाने प्रलोभनमा पैसा लिएर नपठाएको भन्दै विभागमा उजुरी परेको आधारमा छापा मारिए पनि पीडितको पैसा उठ्यो भन्दै विभागका महानिर्देशक उमाकान्त आचार्यले उन्मुक्ति दिए।
जापानमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको सो कम्पनी यस अगाडि नै कार्यक्रमको नाममा पैसा असुलेर ठगी गर्ने प्रकरणमा परेको थियो। तर चलचित्र विकास बोर्डले सोही विवादित कम्पनीलाई विदेशमा नेपाली चलचित्र प्रवर्धन गर्ने जिम्मा लगायो। त्यसको जिम्मा पाए विवादित पृष्ठभूमिका सूर्य कर्पोरेसनमा वासुदेव लामिछानेले।
लामिछाने नेपालमा भन्दा बढी अमेरिकामा बस्ने गर्छन्। उनी लामो समयदेखि फिल्म अनि म्युजिक कार्यक्रमको आवरणमा विदेश जान चाहनेहरूसँग रकम असुल्न सक्रिय व्यक्ति देखिन्छन्। तर बोर्डले उनैलाई पत्यायो।
बदनाम संस्थालाई कार्यक्रमका लागि सरकारी स्रोतको दुरुपयोग गरेकोमा बोर्डकै केही पदाधिकारी केसीको निर्णयप्रति असन्तुष्ट देखिएका छन्।
यसको प्रभाव नेपाली चलचित्र क्षेत्रको बलियो संस्था चलचित्र प्राविधिक सङ्घमा समेत परेको छ। चलचित्र विकास बोर्डसँग मिलेर प्राविधिक सङ्घले अमेरिकामा नेप्टा अवार्ड गर्ने तयारी गरिरहेको छ। त्यसका लागि बोर्डका अध्यक्ष भुवन केसी र उनको सहयोगी टिम सक्रिय छन्।
अमेरिकामा नेप्टा अवार्ड गर्ने भएपछि पुष्कर लामाले आफ्नो कार्यकाल सकिए पनि पुरानै कार्यसमितिको नाम जिल्ला प्रशासन कार्यालयमा बुझाएर संस्था नवीकरण गर्ने प्रयास गरेपछि संस्थामा विरोध सुरु भयो। लामाको सो गतिविधिविरुद्ध सङ्घका महासचिव अनन्त प्रसाद तिम्सिनाले सामाजिक सञ्जालमा सार्वजनिक रूपमै आलोचना गरेपछि सङ्घको बैठक बसेर फागुन ११ गते सङ्घको साधारण सभा गर्ने निर्णय गरेको थियो।
प्राविधिक सङ्घले नेप्टा अवार्ड गर्दै आएको छ। उसले अधिकांश कार्यक्रम विदेशमा गर्ने गरेको छ। विदेशमा कार्यक्रम गर्नुको उद्देश्य नेपाली कलाको विस्तार भन्दा पनि विदेश जान चाहने गैर कलाकारहरूलाई कलाकार बनाएर लैजाने र विदेश भासिन चाहने कलाकारहरू जसले भिसा पाउन सकेका छैनन् उनीहरूलाई सहजीकरण गर्ने समेत देखिन्छ।
अहिले नेप्टा अवार्ड अमेरिकामा हुने भएकाले सो कार्यक्रमको आयोजकको टिममा नाम पारेर अमेरिका जान चाहनेहरूको सूची लामै हुने पक्का छ। बोर्डले नै कार्यक्रमको स्वामित्व लिने प्रक्रिया सुरु गर्नु अनि बोर्डका अध्यक्ष केसीको सल्लाहकार टिमका अधिकांश सदस्य अमेरिका जान पटक-पटक प्रयास गर्दा पनि असफल भएकाहरूले नै प्राथमिकता पाउनुले पनि बोर्ड र प्राविधिक सङ्घले अमेरिकामानै नेप्टा आयोजना गर्ने प्रयास गर्नुको अर्को स्वार्थ समेत देखिएको छ।
सम्बन्धित समाचार
पुष २५, २०७९ सोमबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।