नेपालगञ्जमा दादुराले एक बालकको मृत्यु, ९० जना संक्रमित भएपछि विद्यालय बन्द
काठमाडौं : बाँकेको नेपालगञ्जमा दादुराको प्रकोपका कारण एक बालकको मृत्यु भएको छ।
दादुराले नेपालगञ्ज उपमहानगरपालिका–५ का ३१ महिने बालकको मृत्यु भएको उप–महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए।
पुस २० गते अस्पताल लाने क्रममा बाटैमा ती बालकको मृत्यु भएको हो।
त्यसैगरी, सोमबार बेलुकासम्म उपमहानगरमा ९० बालबालिकामा दादुरा पुष्टि भएको छ। संक्रमित बालबालिकाकोे स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल भर्ना नभएको प्रमुख चन्दले बताए।
उनका अनुसार पुस १३ गतेदेखि बालबालिकामा दादुराको संक्रमण फैलिएको हो। त्यो ससमयमा ३/४ जनामा देखिए पनि त्यसपछि भने बढेको उनले बताए।
पाँच जनाभन्दा बढिमा दादुराको संक्रमण पुष्टि हुनेवित्तिकै महामारीकै रूपमा लिइने प्रमुख चन्दले जानकारी दिए। करिब पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा दादुराको संक्रमण बढि देखिएको उनले बतए।
परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख सागर दाहालले उपमहानगरमा १३ गते दादुराजस्तै लक्षण देखिएपछि नमूना परीक्षण गर्दा पुष्टि भएको बताए।
बालबालिकामा दादुराले महामारीको रूप लिएपछि संक्रमित बालबालिका पत्ता लगाउने, आइशोलेशनमा राख्ने, उपचार गर्ने र भिटामिन ‘ए’ दिनेजस्ता काम गरेको उनले जानकारी दिए।
अहिले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरहरू सञ्चालन गरेर जनचेतना फैलाउनुका साथै बालबालिकालाई दादुराविरुद्धको खोपसमेत दिइएको चन्दले बताए।
सँगै बस्दा एकआपसमा सर्ने जोखिम भएकाले प्रभावित क्षेत्रका विद्यालय १४ दिनसम्म बन्द गर्नका लागि सिफारिस र सुझाव दिइएको खोप सेवा शाखा प्रमुख दाहालले जानकारी दिए। सोहीअनुरुप उपमहानगरका विद्यालयहरू पहिलो चरणमा २३ गतेबाट २७ गतेसम्म बिदा दिइएको छ। अवस्था हेरेर आवश्यक निर्णय लिइने उपमहानगरले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका ११ वटा वडामा दादुरा संक्रमित बालबालिका देखिएको छ। वडा नं. १, ४, ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा संक्रमण देखिएकोमा वडा. नं. ५, ७ र ८ सबैभन्दा बढि प्रभावित भएको हो।
त्यस क्षेत्रमा सात वर्षअघि पनि दादुराको संक्रमण देखिएको थियो। दुई दिनअघिबाट प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन सुरु गरिएको छ। सोमबारसम्म करिब दुई हजार बालबालिकाले खोप लगाइसकेको उनले बताए।
सोमबार दिउँसोसम्म देखिएका ९० दादुरा संक्रमितमध्ये २३ जना बालबालिकाले एक मात्रा पनि दादुराविरुद्धको खोप नलगाएको पाइएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप सेवा शाखा प्रमुख दाहालले जानकारी दिए।
पुष २५, २०७९ सोमबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।