४४ वर्षदेखि देउता बनाउँदासमेत जीवनको एकमात्र लक्ष्य पूरा गर्न नसकेका पदमराज
ललितपुर महानगरपालिकाको तिछुं गल्लीमा आफ्नो घरअगाडि बुद्धको मुर्ति आकर्षक बनाइरहन्छन्, पदमराज शाक्य। काठलाई विभिन्न आकार दिएर आकर्षक बनाउँदै आएका उनले आफ्नै जीन्दगीलाई भने आकर्षक बनाउन सकेका छैनन्।
त्यै भएर त जीवनको ६०औं हिउँद पार गरिसक्दा पनि उनको जीवनस्तरमा खासै परिवर्तन आउन सकेका छैन। कला र सिर्जनाको मूल्यांकन हुन सकेको छैन।
लकडाउनपछि त झन् उनको सामान उधारोमा मात्रै जान थालेका रहेछन्। नदिऊँ भने व्यापार नहोला भन्ने डर त छँदैछ। अब त झन् उधारो उठाउनकै लागि आफ्नो काम छोडेर धाइरहनुपर्ने बाध्यता पनि थपिएको छ।
उनले काठको टुक्रामा बुट्टा भरेर देउता बनाउन थालेको ०३५ सालदेखि नै हो। तर, वर्षौं देउता बनाउँदै आएका उनको जीन्दगी भने कहिले बन्ने हो आफैँलाई थाहा छैन।
पदमको पुर्ख्यौली काम सिकर्मी हो। उनको बुवा, हजुरबुवा सबैले यसै काममा आफ्नो जीन्दगी समर्पित गरे। उनी स्वयंले पनि आफ्नो बालकपन, जवानी र हुँदा–हुँदै बुढेसकाल समेत यसैमा खर्च गरिरहेका छन्।
उनको पुर्ख्यौली घर पनि ललितपुर नै हो। नेवार समुदायको ठूलो परिवारमा जन्मिएका उनको बाल्यकाल निकै रमाइलो भएको सम्झँछन् उनी। पुल्चोकको घर भाइको भागमा परेपछि उनी पाटन बस्न थालेछन्।
बच्चा बेला उनी आफ्नो बुवा र हजुरबुवालाई खुब पछ्याउने गर्थे रे। उनलाई थाहा भएसम्म उनीहरूको कुनै फर्निचर उद्योग थिएन। त्यै भएर टोलमा जहाँ–जहाँ बाट बोलाउँथे त्यतै झ्याल, ढोका बनाउन गइहाल्थे। बुवा र बाजेलाई पछ्याउँदै उनले पनि सिकर्मी काम जानिसकेका थिए।
बाल्यकाल चुरोटले खाइदियो
एक दिन अचानक पदमलाई उनको हजुरबुवाले तम्बाखु सल्काएर ल्याउन अह्राएछन्। त्यसपछि त हजुरबुवालाई जहिले हुक्का खान मन हुन्थ्यो पदमले नै बनाएर दिने गर्न थाले। अनि केहि दिनपछि उनलाई पनि तम्बाखुको लत बस्यो। घरमा हुक्का खान अफ्ट्यारो लागेपछि उनी नजिकैको पसल पुगेर चुरोट किनेर सल्काउन थालेछन्। तुलनात्मक रूपमा हुक्का भन्दा निकै सानो चुरोट खान उनलाई सहज पनि भयो। पछि त उनी चुरोटको अम्मली नै भए।
७/८ वर्षको उमेरदेखि नै उनलाई चुरोटको धुँवा मन पर्न थाल्यो। पैसा भए कि चुरोट नै उनको प्रथामिकतामा पर्न थाल्यो। स्कुलमा भर्ना भए पनि उनले पढ्न भने सकेनन्।
‘एक कक्षा पढेको सर्टिफिकेट पनि छैन। स्कुल त गएको। तर, गएर पनि के गर्नु। चुरोट खानुपर्थ्यो। भागेर आउनुपर्यो। चुरोट खाएपछि जाँच दिन पनि जान्नथेँ,’ स्कुल जान मन नलागेको कुरा सम्झँदै उनी भन्छन्, ‘चाकुपाटभन्दा अलि पर गुठीको जग्गा पनि हामीले कमाइ राखेका थियौं। त्यै भएर खेतमा जानुपर्थ्यो। जाँच भएको बेलामा पनि म त खेतमै हुन्थेँ।’
त्यसरी नै उनी भर्ना भएको स्कुलमा तीन÷चार महिनाभन्दा बढि टिकेन्न्। पछि काम गर्दागर्दै उनको पढ्ने इच्छा पनि हरायो। अनि पढाइबाट सधैँको लागि टाढा भए उनी।
‘सानोमा पनि धरै काम गर्यो गर्न त। चुरोट किन्नलाई पैसा चाहिन्थ्यो। आशा चुरोट अनि सगरमाथा भन्ने चुरोट खान्थेँ। बाजेले तम्बाखु बनाउन लगाउनुहुन्थ्यो। चिलिम राखेर बनाउथेँ। धुवाँ नआएसम्म तानेर ल्याउ भन्नुहुनुथ्यो। त्यसो गर्दा गर्दै बानी भए छ नि!’ उनले हाँस्दै सुनाए।
खेत र सिकर्मी कामबाहेक उनले साइकलमा हावा भर्ने काम पनि गरे। एउटा साइकलको पाङ्ग्रामा हावा भरे बापत उनले दश पैसा पाउँथे। तर, जसमध्ये पाँच पैसा साहुले लिने गर्थे रे अनि उनले पाँच पैसा पाउँथे रे।
‘त्यति भएपछि चुरोट खान पुगिहाल्थ्यो,’ उनले भने।
पदमले अहिलेसम्म कहिले पनि आफ्नो श्रम अनुसारको पैसा नपाएको गुनासोसमेत गरे। सँगसँगै उनले वाइल्डिङ्ग गर्ने र सूचीकारको काम पनि गरे।
उनले सम्झिँए, ‘जे भेट्छ त्यै गरेँ के। जसले आउ भन्छ त्यहाँ जान्थ्यो। पैसा चाहिएको छ नि त!’
३५ सालमा फर्निचरमै गएर काम गर्ने अवसर पाए उनले। पुस्तौंदेखि सिकर्मी काम गरे पनि उनले फर्निचरमा भने त्यसअघि कहिल्यै काम गरेका थिएनन्। त्यहाँबाट उनले दिनको ३५ रूपैयाँ कमाउँथे। त्यसअघि कहिल्यै मेसिन नदेखेका उनले मेसिनबाटै विस्तारै काम गर्न थाले। दराज, टेबुल, खाट बनाउने उनी त्यहाँ तीन वर्षभन्दा धेरै टिकेनन्।
उनले स्मरण गरे, ‘१७/१८ वर्षको थिएँ होला। त्यो बच्चामा फिल्म हेर्नुपर्थ्यो, चुरोट खानुपर्थ्यो। सानोमा त धुमधाम रमाइलो गर्यो नि!’
पुस्तौंदेखि सिकर्मी तर, बनाउन सकेनन् फर्निचर
१९ वर्षको उमेरमा मागी विवाह गरेका उनको श्रीमती पनि पढेकी हैनन्। विवाहपछि जिम्मेवारी बढ्दै गयो अनि उनको काम पनि।
सिकर्मी कामले नै टोलमा चिनिन थालेका उनले त्यै कामलाई निरन्तरता दिए। त्यस बेलासम्म उनले खासै बुट्टा भर्ने काम भने जानेका थिएनन्। बिहे गरेको समयमा पनि उनको दिनको कमाइ डेढ सय रूपैयाँ मात्र थियो।
उनले ५३ सालदेखि हो, देउता बनाउन जानेको। उनको अहिलेसम्म पनि आफ्नो फर्निचर उद्योग बनाउन सकेका छैनन्। साहुको काम छोडेको पनि वर्षौं भैसक्यो। त्यै भएर अहिले जति हुन्छ त्यति आफैँ घरमा देउता बनाएर बस्ने गर्छन्।
‘किन्न आयो भने आयो, नत्र त्यसै राख्छु,’ उनले भने, ‘दुःख त अहिले पो छ त! तर, मैले नपढे पनि मेरो बच्चाहरूले पढेको छ।’
उनका एउटा छोरा र दुई छोरी छन्। अहिले भने उनले चुरोट छाडिसके। किनभने चुरोटभन्दा महँगो औषधि छ। उनलाई एक पटक स्वास्थ्यमा समस्या भएदेखि उनले चुरोट छाडेका हुन् रे।
‘अहिले पनि कहिलेकाहिँ नेवारी भोज खाने बेलामा यसो खाने गर्छु। तर, छोडिसक्यो भन्दा नै हुन्छ,’ उनले सुनाए।
३५ सालमा तीन वर्ष साहुको काम गरेर मन अमिलो बनाएका उनले ६० सालमा पनि साहुको काम गरे। उपत्यका बाहिर भएको कारण अलि बढि पैसा आउँछ कि! भनेर उनी लुम्बिनी पुगे। त्यहाँ एक वर्ष बसे तर दिनको तीन सय रूपैयाँभन्दा बढि कमाउन सकेनन्।
‘अरुलाई हजार रूपैयाँ दिएछ। हामीलाई त्यै मात्र दियो, के गर्नु काम नगरे खान पाउँदैन। काम गरे त्यस्तो छ’, उनले अँध्यारो अनुहार पारेर सुनाए।
त्यहाँ उनले धेरै बुद्धको मुर्ति देखेको हुँदा बनाउन पनि सजिलै लागेछ। अहिले त्यै भएर उनले धेरै जसो बुद्धको मुर्ति बनाउने गर्छन्।
‘आँखाले भ्याउँदैन अरुको मुकुट बनाउन गाह्रो भयो। बुद्धको बनाउन अलि सजिलो छ,’ उनले भने।
लुम्बिनी बाहेक उनी कतै पनि गएका छैनन्। त्यै भएर उनलाई आफ्नै केहि गर्नुपर्छ भन्ने लाग्यो अनि आफ्नै घरमा देउता बनाइराखे।
व्यापार नै छैन !
कोरोना महामारीअघि ठिकथाकै भएको उनको बजार अहिले ठप्पै छ। पहिलाकै साहुहरूले पनि उनलाई काम दिन आउँछन्। सामान लिएर गए पनि पैसान भने दिँदैनन्। दिइहाले पनि आधा मात्र पैसा दिएर जाने गर्छन् रे।
घरमा पैसाको कमी हुन थालेपछि उनले आफ्नो छोराको पढाइको लागि चादीको कल्लीसमेत बेचेको सम्झन्छन्।
‘सरकारी स्कुलको सबभन्दा रामो स्कुलमा छोरालाई पढाएको थियो। पैसा तिर्न नसकेर चाँदीको कल्ली बेचेर तिरेको। पैसा माग्दा पनि दिँदैन साहुहरूले। त्यै भएर घरमा जे छ त्यै बेच्नेपर्यो नि,’ निराश भएर उनले सुनाए, ‘सानोमा पो अलि–अलि पैसा दिँदा पनि मख्ख पर्थ्यो, एक्लै पनि थियो। अब अहिले त त्यसरी चल्दैन नि!’
उनको तीनै जना छोराछोरीको विवाह भइसक्याे अहिले। छोराहरू एउटै घरमा बसे पनि भान्सा भने छुट्टै छ। त्यै भएर उनलाई अहिले पनि आफ्नो लागि आफैँ नकमाइ सुख छैन।
एउटा काठको देउता बनाउनलाई अहिले उनलाई दुई दिन लाग्छ। कति दिनसम्म त एक रूपैयाँ पनि कमाइ नभएको भन्दै उनी भावुक हुन्छन्।
‘धेरै गर्न सक्दिन। १५ सय माग्यो भने १२ सय मात्र दिएर जान्छन्, के गर्ने? एउटाले १४ सय भनेर लग्यो अब कहिले दिने हो थाहा छैन।’
खाली समय सोच्दा उनलाई अहिले लाग्छ, ‘सानैमा पढेको भए हुने रहेछ’।
लकडाउनको समयमा त उनको काम ठप्पै भएछ।
‘त्यसबेला त मागेर खाने अवस्था आइसकेको थियो। साथीहरूलाई भनेँ। भाडामा बस्नेहरूलाई समेत भनेँ। के गर्ने खान लाई पैसा छैन। दुई/तीन बोरा त चामल नै लिएँ। गाह्रो भयो नि!’, उनले एकै श्वासमा भने।
अब व्यापार नभए पनि सकेसम्म यहि काम गर्ने उनले बताए।
‘अब अर्को काम के गर्नु। ६० वर्ष काटिसक्यो। साहुको काम गर्यो भने १० देखि ५ सम्म त गर्नैपर्छ। त्यो त अब सकिँदैन। त्यैमाथि पैसा पनि थोरै आउछ,’ उनले भने, ‘अब मोतिबिन्दु भइसक्यो। तीन÷तीन महिनामा जचाउन आउ भनेको छ। चस्मा राख्यो भने ठिक हुन्छ। खोल्यो भने रोएको जस्तो देखिन्छ।’
उनले आफ्नो काम भने शनिबारको दिन पनि गर्छन्। पर्यटकीय स्थल भएको कारण केहि पर्यटकहरू पनि आउने गर्छन्। तर, उनीहरू पनि अहिले हेरेर मात्र जाने गर्छन् रे।
जबरजस्ती हाँस्दै उनले भने, ‘भाग्य नभएको बेलामा जे भए पनि हुँदैन भनेको यहि हो।’
विस्तारै आफ्नो ग्राहक बढ्दै गयो भने एउटा सानो भए पनि पसल राख्ने योजनासमेत उनले सुनाए।
पुष २५, २०७९ सोमबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।