ब्याच नम्बर ६९ : मारवाडीदेखि भिक्षुसम्मलाई गोली हान्दै लुट्दै गरेर निर्दयी अपराधी समूहले हैरान बनाए
म महाशाखामै रहँदा फैजान अहमदको हत्या भएको थियो घण्टाघर अगाडि। त्यसको अनुसन्धानमा संलग्न हुँदाहुँदै मेरो महाशाखाबाट सरुवा भयो।
त्यो बेला गृहमन्त्री थिए विजयकुमार गच्छदार। उनले मलाई मन पराउने कुरै भएन। उनको शैलीसँग मेरो शैली मिल्दैनथ्यो।
उनी गृहमन्त्री भए लगत्तै मेरो र काठमाडौँ परिसरका एसपी केदार रिजाललाई सरुवा गराउन प्रहरी महानिरीक्षकलाई दबाब दिइरहेका थिए। प्रहरी प्रधान कार्यालयमा मेरो सरुवा भयो।
महाशाखाको प्रमुखको रूपमा काम गर्दा २ वटा अन्तरदेशिय अपराधको अनुसन्धान गर्नुपर्यो युनुस अन्सारी र पाकिस्तानी दूतावासका कर्मचारीको हत्या प्रयास। दुवै घटनाको निकै चर्चा पनि भयो अनि विवाद पनि। यी दुवै घटनाबारे यस अगाडि नै लेखिसकेको छु।
अर्को एक जटिल अपराधको अनुसन्धान पनि गर्नुपर्यो महाशाखामा। त्यो घटना मेरो स्मरणमा सधैँ बसिरहन्छ। त्यसको कारण अपराधको प्रवृत्ति अनि अनुसन्धानको जटिलताले गर्दा हो।
पछि केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख भएपछि जटिल मानिएको रानीबारी हत्या घटनाको अनुसन्धान पनि भयो। योबारे सिआइबीको चरणमा प्रवेश भएपछि विस्तृतमा लेखौला। अहिले महाशाखाकै विषय लेख्छु।
त्यो घटना मेरो प्रहरीको कार्यकालमा अनुसन्धान गरेको सबैभन्दा जटिल आपराधिक घटना हो भन्ने लाग्छ।
२०६७ चैत १० को घटना हो। टेकुमा रहेको एक्साइड ब्याट्रीको शोरुममा गोली लागेर प्रेमकृष्ण महर्जन र सुदीप बस्याल नामका व्यक्ति घाइते भएको सूचना आयो।
दुबैलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। काठमाडौँमा गोली चल्दा सनसनी हुने नै भयो। घटनास्थलमा गएर प्रहरीले मुचुल्का उठाउने लगायतका काम सुरु गरिहाल्यो।
उता वीर अस्पतालमा उपचारका लागि लगिएको महर्जनको मृत्यु भयो। अर्का बस्यालको ज्यान जोगियो। उनी सामान्य घाइते भएका थिए।
कि व्यक्तिगत दुस्मनी कि त लुटपाटको योजनाका कारण घटना भएको हुनुपर्ने देखियो। तर ब्याट्रीको शो रुमको पैसा या सामान लुटिएको थिएन। घटनामा संलग्नहरू को हुन् चिनेको छैन भन्छन् बस्याल। यसले घटनालाई जटिल बनायो।
यता एक्साइड ब्याट्रीको घटनाको अनुसन्धानमै टिम रुमल्लिइरहेको थियो। चैत २७ मा गण बहालमा पसलभित्रै छिरेर व्यापारी अञ्जनकुमार चाचानलाई गोली हान्यो एक समूहले।
गोली हानेर उनको साथमा रहेको पैसा लिएर भागेकाले यो घटनाको उदेश्य लुटपाट भन्ने देखियो। वीर अस्पतालमा उपचारका लागी लगिए पनि चाचानको ज्यान जोगिएन।
चाचान एभी इन्टरप्राइजेजका सञ्चालक थिए। कतै यो हुन्डीसँग या लेनदेनको विवादसँग पनि जोडिन्छ कि भनेर अनुसन्धान सुरु गरिहाल्यौँ।
उता सुरक्षाको माग गर्दै मारवाडी समुदाय विरोध प्रदर्शनमा उत्रिए। वसन्त चौधरीसहितका व्यापारीहरू वीर अस्पतालमा धर्ना बसेर शव निकाल्नै दिएनन्।
सुरक्षाको प्रत्याभूति चाहियो, आइजिपी नै आउनुपर्यो भन्न थाले। आइजिपी अनि मेट्रोका एआइजी अर्जुनजंग शाही पनि आइपुगे।
उनीहरूले कति दिनभित्र हत्यारा पक्राउ पर्छन् नभनी शव नउठाउने भन्न थाले। उनले १० दिन या २० दिन कति दिन लाग्छ भनिरहेका थिए। म त्यसरी दिनै तोक्ने पक्षमा थिइन्। त्यो सम्भव पनि हुन्न। २ दिनमै पक्राउ पर्न पनि सक्छन् या २ वर्ष लाग्न पनि सक्छ।
उनीहरूले दिनै तोक्नुपर्छ भने भनेर कसरी दिन तोक्नु। तर उनीहरू दिन नतोकी हुन्न भन्ने अड्डीमा बसे। त्यही बेलामा भिडबाट कसैले १० दिन भनिदियो। त्यो प्रहरीले भनेको थिएन। तर प्रहरी भएतिरैबाट १० दिन भन्ने सुनेपछि उनीहरू सहमत भए।
प्रहरीले १० दिनमा घटनामा संलग्नलाई पक्राउ गर्छु भन्यो भनेर शव उठाएर गए। भोलिपल्ट पत्रिकाहरूमा प्रहरीले १० दिनभित्र चाचान घटनाको अनुसन्धान सक्काउने दाबी भनेर समाचार पनि आयो।
त्यो दिन कार्यालय फर्किए। अनुसन्धानमा घटनामा संलग्नबारे बलियो क्लु केही फेला परेको थिएन। उता टेकुकै अनुसन्धान सकिएको छैन। अर्को थपियो पनि।
विगतका वर्षहरूमा ठमेलमा हिमालयन बैङ्कबाट पैसा निकालेर सडकमा हिँडिरहेका भिक्षु लुटिए। कपुरधारामा मुखमा गोली हानेर एक व्यक्ति लुटिए।
ओटु, म्हैपी, बशन्तपुरतिर पनि गोली हानेर लुटियो। एकपछि अर्को घटना भइरहेका थिए। तर संलग्न को हो केही पनि खुलाउन सकिएको थिएन अनुसन्धानबाट। टोली खटिएको खटियै छन्। तै पनि छेउ टुप्पो नै फेला परेन। बढो तनाव भयो।
कता कता मनमा कतै यी सबै घटना एकै समूहले गरिरहेको त हैन भन्ने लाग्यो। त्यो बेला दीप्ति कार्की थिइन् महाशाखामा। सोमेन्द्रसिंह राठौर पनि थिए। उनी अनुसन्धानमा थिए।
सरासर अनुसन्धानका १३ वटा प्यारामिटर लेखे। घटना कति बजे भएको हो, समय कुन, स्थान, घटनाको शैली, कुन घटनामा कति जना संलग्न, महिना अनि बारसम्म हेर्ने प्यारामिटर बनाए।
कार्कीलाई बोलाएर काठमाडौँ परिसरबाट जति पनि गोली हानेर लुटिएको र हत्या भएको घटनाहरू छन् ती सबैको फाइल ल्याएर त्यही १३ वटा प्यारामिटरमा राख भने।
उनले १० वटा यस्तै प्रकारका फाइलहरू फेला पारिन्। अनि सबैलाई १३ वटा प्यारामिटरमा राखेर टिम बसेर विश्लेषण गर्न थाल्यौँ।
अनुसन्धान त भइनै हाल्छ। कतिपय अवस्थामा चैँ अनुसन्धानसँगै संयोग पनि पर्नुपर्छ सफल हुन्। प्रहरीको ग्रहदशा ठिक स्थानमा रहेको अपराधीको बिग्रिएको बेलामा ठ्याक्क फेला पनि पर्न सक्छन्।
मेरो शङ्का केवल शङ्का मात्र हैन है भन्ने ती प्यारामिटरले देखाइरहेको थियो। अर्थात् सबै घटनाको शैलीले एकै समूह संलग्न हुनसक्ने सम्भावना बढाएको थियो।
टेकुको बाहेकको घटनाको कारण लुटपाट देखियो। २-३ जना संलग्न हुने गरेको, देख्नासाथ गोली हानेर पैसा लुटिहाल्ने शैली देखियो।
समय फिक्स थिएन। तर अधिकांश घटना दिउस भएका थिए। बन्दुक देखाएर तर्साउने हैन सिधै गोली हानिहाल्ने उनीहरूको शैली देखियो।
घटनाहरू टेकु, वटु, न्युरोड, वसन्तपुर, ठमेल, कपुरधारा अनि म्हैपीमा भएका थिए। अर्थात् सबै घटनास्थल हनुमानढोका वरपर बढी केन्द्रित देखियो।
यसले लुटेरा समूह कि यही क्षेत्रका हुन् भन्ने देखायो कि यो क्षेत्रबारे राम्रो जानकार भएको देखायो। यसले अनुसन्धानलाई हनुमानढोका क्षेत्र केन्द्रित गर्न सहज भयो।
चाचानलाई गोली हानेको बेलामा सिसिटिभीले भ्याएको थियो घटना खिच्न। तर अति कम गुणस्तरको भएकाले कसरी लुटे भन्ने त देखियो तर कसले लुट्यो भन्ने पहिल्याउन सकिएन।
केही घटनाका प्रत्यक्षदर्शीले हुलिया बताएका थिए। त्यसैको आधारमा कतै फेला परिहाल्छन् कि भनेर टोली छरियो हनुमानढोका क्षेत्र वरपर। तर फेला परेनन्।
घटनामा संलग्नसम्म जसरी पनि पुग्नुपर्ने अवस्था थियो। अब जसरी पनि भनेर हुन्न। अपराधी पक्राउ पर्न पनि कहिलेकाहीँ त साइत जुर्नुपर्ने रैछ। उसलाई दशा लाग्नुपर्छ कहिलेकाहीँ।
अनुसन्धान त भइनै हाल्छ। कतिपय अवस्थामा चैँ अनुसन्धानसँगै संयोग पनि पर्नुपर्छ सफल हुन्। प्रहरीको ग्रहदशा ठिक स्थानमा रहेको अपराधीको बिग्रिएको बेलामा ठ्याक्क फेला पनि पर्न सक्छन्।
तर हामी ग्रह फल हेरेर बस्या थिएनौँ है। हामी अनुसन्धानमै थियौँ। हरेक कोणबाट खोजी जारी नै थियो।
ब्याचका पुराना अंक
पुष २०, २०७९ बुधबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।