माधव नेपाललाई भेटेर सुवास नेम्वाङले भने ‘राष्ट्रपतिमा मलाई भोट दिनुस्’

माधव नेपाललाई भेटेर सुवास नेम्वाङले भने ‘राष्ट्रपतिमा मलाई भोट दिनुस्’

काठमाडौं : एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

आज (बिहीबार) भएको भेटमा एमालेका उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग माधव नेपालसँग आग्रह गरेका थिए।

नेम्वाङ एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँगै उपमहासचिवको पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ लगायतलाई लिएर नेपाललाई भेट्न गएका थिए।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बनेका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न तिब्र भेटघाटमा छन्।

एकीकृत समाजवादीले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताए।

जसको जवाफमा नेपालले आफ्नो पार्टी राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलेको प्रश्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताएका थिए।

१८ फागुन, २०७९, १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।