चिकित्सक बढुवामा चलखेल : बुटवल बसेर दुर्गमको सुविधामा बढुवा पाए डा. इन्द्रले, लोकसेवा छानबिनमा

चिकित्सक बढुवामा चलखेल : बुटवल बसेर दुर्गमको सुविधामा बढुवा पाए डा. इन्द्रले, लोकसेवा छानबिनमा

काठमाडौँ : लुम्बिनी प्रादेशिक अस्पतालमा काम गरेका आधारमा दुर्गमको सुविधा भन्दै मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल एघारौँ तहमा बढुवा सिफारिस भएको खुलेपछि लोकसेवा आयोगले छानबिन सुरु गरेको छ।

बढुवाका लागि नियम अनुसार दुर्गममा खटिएको हुनुपर्ने भए पनि डा ढकालले बुटवलमा कार्यरत समयलाई नै दुर्गम भनेर बढुवाको प्रक्रियामा सहभागी भएका थिए। त्यसैको आधारमा उनको बढुवा प्रक्रिया अगाडि बढेको खुलेपछि आयोगले छानबिन सुरु गरेको हो।

यसबारे उकेराले समाचार प्रकाशित गरेको थियो। आयोग स्रोतका अनुसार डा. ढकालको बढुवा सिफारिसको छानबिनका लागि टिप्पणी उठेर छानबिन प्रक्रिया अगाडि बढेको छ।

‘सम्बन्धित शाखाबाट फाइलसँगै टिप्पणी उठेर अगाडि बढेको छ,’बिहीबार उकेरासँगको कुराकानीमा आयोग स्रोतले भन्यो,‘आयोगमा छलफल गरेर बैठक बसेर निर्णय गर्ने प्रक्रिया सुरु भएको छ।'

यता आयोग छानबिनमै रहँदा उता डा. ढकालले भने स्वास्थ्य मन्त्रालयबाट फागुन १० मै ११ औँ तहमा बढुवा भएको नियुक्ति पत्र पाइसकेका छन्। उनको पोस्टिङ भने हुन बाँकी छ।

डा. ढकालले पनि आफूले ११ औँ तहमा बढुवाको नियुक्ति पत्र पाइसकेको बताए।

डा. ढकालले भने,‘नियुक्ति लिएर म त मन्त्रालयमा नै हाजिर छु। दुई दिन हाजिर भएर विदा पेस गरेर (बुटवल) आएको छु...।'

डा. ढकाल मापदण्ड नै नपुगी नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पदमा आन्तरिक प्रतियोगिता (आप्र) मार्फत बढुवा भएको देखिन्छ।

डा. ढकाललाई ११ औँ तहमा बढुवाका लागि लोकसेवा आयोगले  माघ २५ गते स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो। मन्त्रालय स्रोतका अनुसार आयोगबाट बढुवाका लागि सिफारिसपछि फागुन चार गते मन्त्रीपरिषद्लाई बढुवा स्वीकृति भएको थियो।

तर, उनी दुर्गममा नै नगई दुर्गम बापत लिने सुविधा लिएर बढुवा भएको देखिएपछि आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको थियो।

आयोगले सिफारिस गरेपछि नियुक्ति दिनुपर्ने कानुनी प्रावधान छ। तर, मापदण्ड नपुगेको प्रमाणित भएको अवस्थामा आयोगले जति बेला पनि नियुक्ति रद्द गर्न सक्छ।

त्यसो त मापदण्ड नै नपुगी उम्मेदवारले परीक्षाका लागि फारम भरेर परीक्षा दिँदा सम्बन्धित उम्मेदवारको समेत जिम्मेवारी हुने आयोगका पदाधिकारी दाबी गर्छन्। तर यसबारे औपचारिक रूपमा प्रतिक्रिया दिन मान्दैनन्।

मन्त्रालयले फाइल अस्वीकार गरेको थियो

डा. ढकालको मापदण्ड नपुगेकै कारण गत पुसमा कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि उनको फाइल अस्वीकृत भएको थियो।

मापदण्ड नपुगेकै कारण कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने ११ औँ तहमा बढुवाको लागि समेत फाइल अस्वीकृत भएको अवस्थामा कसरी लोक सेवाले डा. ढकाललाई बढुवा सिफारिस गर्यो भन्नेमा आयोगकै पदाधिकारी आफू अचम्ममा परेको तर्क गर्छन्।

‘उहाँको बढुवाको फारम नै रद्द भएको थियो उता (स्वास्थ्य मन्त्रालयमा) भनेपछि धेरै आधारहरू छन्’, आयोगका एक कर्मचारीले भने,‘त्रृटी भएको हो। कतैबाट छुटेको जस्तो लाग्छ। यो कुरो जानकारी भइसकेपछि केहीनकेही सच्याउने हुनुपर्छ जस्तो लाग्छ।’

त्यसो त ढकालले दुर्गम नै नगई दुर्गमको सुविधा बापत एघारौँ तहमा बढुवाका लागि आयोगमा परीक्षा दिएको देखिन्छ। स्वास्थ्य मन्त्रालयले २०७५-६-२१ गते पत्र लेख्दै २०७५-०६-२३ बाट ज्येष्ठता लागु हुने गरी डा. ढकालको नवौँबाट दसौँ तहमा स्तर वृद्धि गरेको थियो। यसबाट उनी बढुवाका लागि पाँच वर्ष अवधि नै पुग्दैन।

डा. ढकाल नवौँबाट दसौँ तहमा स्तर वृद्धि हुँदा लुम्बिनी अञ्चल अस्पताल, बुटवल (कार्यालय) मा कार्यरत थिए भने दसौँ तहमा स्तर वृद्धि हुँदा पनि उनको कार्यालय लुम्बिनी अस्पताल नै तोकिएको थियो। यसबाट नै उनी दसौँ तहमा बढुवा भएपछि दुर्गममा खटिएको देखिँदैन। लुम्बिनी अस्पताल दुर्गममा पर्दैन।

गत वर्ष रद्द यो वर्ष कसरी सदर?

गत वर्ष त्यही किसिमका उम्मेद्धवारको बढुवा रद्द हुने अनि यो वर्ष कसरी सिफारिस भए भन्ने विषय समेत उठेको आयोगकै अर्का एक कर्मचारीले जानकारी दिए।

आयोगकै अर्का कर्मचारीले गत वर्ष लिखितमा उत्तीर्ण भएका धेरै उम्मेदवार (चिकित्सक) को दरखास्त (मापदण्ड) मिलेन भनेर नै बढुवा सिफारिस अस्वीकृत गरिएको जानकारी दिए।

गत वर्ष ११ औँ र नवौँ तहका धेरै जना उम्मेदवार (चिकित्सक) को मापदण्ड नपुगेकै कारण बढुवा सिफारिस रद्द तथा अस्वीकृत भएको ती कर्मचारीले जानकारी दिए।

‘मिलेन भनेरै हामीले लिखितमा पास भएका थुप्रो मान्छेलाई पोहोर आउट गर्नुपर्यो,’आयोगका उच्च तहका एक कर्मचारीले भने।

गत वर्ष २०७८-१२-२० मा आयोगले नेपाल स्वास्थ्य सेवा तर्फका खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका केही चिकित्सक (उम्मेदवार) हरुको नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा–२६ बमोजिमको सेवा अवधि तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५६ को अनुसूची ६ र ७ बमोजिमको शैक्षिक योग्यता पूरा भएको नदेखिएकाले दरखास्त फारम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको थियो।

गत वर्ष  ऐनको जुन दफा २६ र नियमावलीमा टेकेर अन्तर्वार्ता सूचीबाट नाम हटाउने अनि यो वर्षचाहिँ त्यही ऐनको दफा र नियमावली अनुसार दुर्गममा नै नबसी कसरी डा. ढकाल बढुवाका लागि योग्य भए भन्ने थप खोज र छानबिनको विषय बनेको थियो।

 गत वर्ष दुई चिकित्सकको बढुवा प्रक्रिया अगाडि बढे पनि मापदण्ड नपुगेको देखिएपछि रद्द भएको थियो। रद्द भएको विज्ञापनमै बढुवा सिफारिस भएका युनिफाइड केन्द्रीय अस्पतालका तत्कालीन निमित्त प्रमुख डा भूपेन्द्र बस्नेतको बढुवा प्रक्रिया रद्द भएको थियो।

फागुन १८, २०७९ बिहीबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।