देखिंदैछ आर्थिक मन्दीको प्रभाव, घरेलु उद्योगलाई समेत नवीकरण गर्न नसक्ने अवस्थामा पुगे उद्योगी

देखिंदैछ आर्थिक मन्दीको प्रभाव, घरेलु उद्योगलाई समेत नवीकरण गर्न नसक्ने अवस्थामा पुगे उद्योगी

बुटवल : रुपन्देही सैनामैनाकी अमृता केसीले सेनेटरी प्याड बनाउने उत्पादन मुलक उद्योग खोलेको ३ बर्ष भयो।सुरुवातमा राम्रो चलेको उनको उद्योगको गति अहिले सुस्त छ।

पहिले ५ जना कर्मचारी राखेकी केसी अहिले उद्योगका लागि कर्मचारी राख्न सक्ने अवस्थामा छैनन्। जसोतसो आफू मात्र काम गरिरहेकी छन्।

‘यो काम थालनी भएपछि कोभिड भयो। त्यसपछि अहिले आर्थिक मन्दीले छोयो। कर्मचारी पाल्न नसकेपछि विदा गरें। अहिले यो पेशा गरेर आफ्नै पनि गर्जो टर्न छाड्यो,’ उनले भनिन्।

पछिल्लो एक बर्ष यता यही कारण उनले आफ्नो उद्योग नवीकरण समेत गर्न सकेकी छैनन्। ‘चलाउन सक्ने अवस्था छैन। नवीकरण मात्र गरेर के गर्नु?’ उनले थपिन्।

‘मन लाग्दा कहिले काहीं बुन्ने गरेकी छु। अहिले यसबाट आयआर्जन गर्न नसक्ने भएपछि अर्को काम खोजेर गरिरहेकी छु,’

तिलोत्तमा कान्छीबजारकी सुनिता थारु हाते मेसिनको मद्दतले कपडा बुन्ने काम गर्छिन्। कोभिड अघिसम्म उनको व्यापार राम्रो थियो। तर अहिले यसको व्यापार पनि मन्द छ। हातबाट बुन्ने पञ्जा, मोजा, स्वीटर बनाउने उनले आजभोली यो काम छाडेकी छन्।

उनको यो घरेलु उद्योग पनि कोभिड पछि तंग्रिन सकेन। त्यही कारण अहिले थारुले यसलाई उद्योगको रुपमा हेर्न छाडिन्। आफ्नो उद्योग लगभग बन्द गरेर उनी नजिकैको एक गार्मेन्ट उद्योगमा काम गर्छिन्।

उनले घरेलुमा दर्ता गरेको यो उद्योग अहिले नवीकरण गरेकी छैनन्। ‘मन लाग्दा कहिले काहीं बुन्ने गरेकी छु। अहिले यसबाट आयआर्जन गर्न नसक्ने भएपछि अर्को काम खोजेर गरिरहेकी छु,’ उनले भनिन्।

केसी र थारु मात्र होइन अहिले जिल्लाका धेरै घरेलु उद्योगीहरु आफ्ना उद्योग नवीकरण गर्न नसक्ने अवस्थामा छन्। कोभिडको असर र त्यसपछि भएको आर्थिक मन्दीका कारण घरेलु उद्योगमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ।

नयाँ उद्योग दर्ता गर्ने क्रम पनि बढिरहेको छ। तर त्यसरी दर्ता भएका उद्योग एक वर्षपछि नवीकरण नै हुन नसक्ने अवस्थामा रहेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उद्योग अधिकृत तथा सूचना अधिकारी नेत्रप्रसाद भुसालले बताए।

कोरोना महामारी सकिएपछि अर्थतन्त्र पुनः लयमा फर्किन लागेका कारण धमाधम घरेलु तथा साना उद्योग खुलेको भएपनि नविकरण नगर्नेको संख्या पनि बढिरहेको उनले बताए।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्याङ अनुसार रुपन्देहीमा अहिलेसम्म १६ हजार ८ सय ३२ उद्योग दर्ता भएका छन्। दर्ता भएकामध्ये २९५ उद्योग मात्रै नवीकरण भएका छन्।

पछिल्लो तीन वर्षमा रुपन्देहीमा घरेलु तथा साना उद्योग खोलिने क्रम निरन्तर रुपमा बढ्दो छ। तर नवीकरण गर्नेको संख्या भने निकै कम देखिएको छ।

‘अहिले उद्योगलाई कसरी टिकाउँ भन्ने मात्र ध्यान छ। नवीकरण गर्न सक्ने अवस्थामा नभएका उद्योगीहरु अहिले उद्योग बन्द गरेर अन्तै लागिसके। अवस्था निकै जटिल बनिरहेको छ।’ 

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार ०७४/७५ मा एक हजार २८ उद्योग दर्ता भएका छन्।  त्यस्तै ०७५/०७६ मा एक हजार ३ सय ९१ उद्योग दर्ता भएका छन् भने ०७६/०७७ मा एक हजार १ सय ४१ उद्योग दर्ता भएको पाइएको छ।

जसमध्ये घरेलु उद्योगतर्फ ३ वटा उद्योग दर्ता भएका छन् भने साना उद्योगतर्फ १ हजार १ सय ३८ उद्योग दर्ता छन्।

त्यसैगरी ०७६/०७७ भन्दा ०७७/०७८ मा उद्योग खुल्ने क्रम बढ्दो छ। आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ४६० उद्योग दर्ता भएका छन्। यो संख्या ०७६/७७ भन्दा ३१९ ले बढी ह ।

एक हजार ४५९ साना उद्योग दर्ता हुँदा एउटा मात्र घरेलु उद्योग खुलेको छ। ०७८/०७९ मा एक हजार ६२८ उद्योग खुलेका छन्। 

कार्यालयले आठ वर्गीकरणमा घरेलु तथा साना उद्योग दर्ता गर्ने गरेको छ। जसमा उत्पादन मुलक, सेवा मुलक, पर्यटन, उर्जा मुलक, कृषि तथा वनजन्य, सूचना प्रसारण तथा संचार प्रविधि, खनिज, पूर्वाधारहरु रहेका छन्।

यसमध्ये सबैभन्दा बढी उत्पादक मुलक उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी भुसालले बताए। घरेलु कार्यालय, रुपन्देहीमा हालसम्म दर्ता भएका ७ हजार १५२ वटा उत्पादन मुलक उद्योगमध्ये १८० वटा मात्र उद्योग नवीकरण भएका छन्। 

त्यसैगरी ४ हजार २ सय ९५ सेवा मुलक उद्योग दर्ता भएकामा ५८ उद्योग मा नवीकरण भएका छन्। २ हजार ४ सय २२ पर्यटन उद्योग दर्ता भएकामा ३६ उद्योगले मात्रै नवीकरण गराएका छन्। कृषि तथा वनजन्य उद्योग २ हजार ९ सय ६२ दर्ता हुँदा २१ मात्रै नवीकरण भएको तथ्यांक छ।

समयमा नवीकरण नगरेका उद्योगीलाई प्रत्येक नवीकरणका लागि लाग्ने अवधिको तेब्बर दस्तुर तथा प्रत्येक वर्ष २० लाख सम्मको उद्योगलाई २५ सय जरिवाना र त्यहाँभन्दा माथि ५ हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ।

सानो पुँजी तथा कम जनश्रक्तिबाट पनि उद्योग सञ्चालन गर्न सकिने भएकाले साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको भएपनि नवीकरणमा भने त्यति धेरै चासो उद्योगीले नदिएको कार्यालय प्रमुख उद्योग अधिकृत रामप्रसाद ज्ञवालीले बताए।

यता उद्योगीहरुले भने आर्थिक मन्दी र कोरोनाका कारण साना उद्योगहरु पनि नवीकरण गर्न उद्योगीले नसकेको बताउने गरेका छन्।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल भन्छन्,‘अहिले उद्योगलाई कसरी टिकाउँ भन्ने मात्र ध्यान छ। नवीकरण गर्न सक्ने अवस्थामा नभएका उद्योगीहरु अहिले उद्योग बन्द गरेर अन्तै लागिसके। अवस्था निकै जटिल बनिरहेको छ।’ 

फागुन १८, २०७९ बिहीबार १०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।