उकेरा समाचार प्रभाव : पक्राउ परे आर्मीमा भर्ती गराइदिन्छु भन्दै ठगी गर्ने ‘रबिन्द्र’, पैसा फिर्ता पाए साहुको ऋण तिर्ने योजनामा पीडितहरू

उकेरा समाचार प्रभाव : पक्राउ परे आर्मीमा भर्ती गराइदिन्छु भन्दै ठगी गर्ने ‘रबिन्द्र’, पैसा फिर्ता पाए साहुको ऋण तिर्ने योजनामा पीडितहरू

सुर्खेत : नेपाली सेना ‘आर्मी’ मा भर्ना गराइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने रबिन्द्र विष्ट पक्राउ परेका छन्।

बराहताल गाउँपालिका-६ बिउरेनीका बुद्धिमान विक, अशिम विसी र प्रकाश गिरीले दिएको जाहेरीको आधारमा बुधबार साँझ विष्टलाई वीरेन्द्रनगर-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

‘आर्मी बनाइदिन्छु भनेर तीन जना युवाहरुबाट रकम लिएको भनेर जाहेरी आएपछि हामीले पक्राउ गरेका छौं,’ डीएसपी शाहीले भने, ‘बिहीबार म्याद थपका लागि अदालत पेश गरेर आवश्यक अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही र पीडिलाई क्षतिपुर्ति अशुल गराइनेछ।’

रबिन्द्रले गत वैशाखमा उनीहरु तीन जनालाई सिधै आर्मीमा भर्ना गरिदिन्छु भन्दै पाँच लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए।

रबिन्द्रले आर्मीको ड्रेसमै आफूहरुलाई भेटेर आर्मी बनाइदिन्छु भनेपछि पैसा दिन बाध्य भएको पीडित बुद्धिमान विकले बताए।

पैसा दिएको चार महिनापछि मात्रै रबिन्द्र आर्मीबाट नक्कली परीक्षार्थीको मुद्दामा निलम्बन भएको भन्ने थाहा पाएको उनले सुनाए।

‘गाउँकै हेमन्त माझी भन्ने साथीको चिनजानमा रबिन्द्र जीसँग भेट भयो, उहाँ आर्मीको ड्रेसमै आएर पैसा माग्नुहुन्थ्यो, आधा पैसा नगद दियौं, आधा ‘आईएमई’ बाट पठायौं,’ बुद्धिमानले भने, ‘पछि आर्मीबाट निलम्बित भएरको भन्ने थाहा पाएपछि पैसा फिर्ता माग्यौं। दिन्छु भनेर एक वर्षसम्म भुलाउनुभयो पैसा। अशुल गर्नकै लागि भएपनि जाहेरी दिनुपर्ने बाध्यता भयो।’

उनीहरुले पटक–पटक पैसा माग्दा रबिन्द्रले रकम नभएको गरिमा विकास बैंक सुर्खेत शाखाको खाता नम्बर ०७२०१९००७८५९००००००१ को पाँच लाख ६८ हजार रुपैयाँको चेक दिएका थिए।

उनले साहुबाट सयकडा तीन रुपैयाँ ब्याजमा ऋण लिएर पैसा ल्याएकोले साहुले घरजग्गा लिन खोजेको भन्दै अब साहुको ऋण तिर्न सहज हुने बताए।

साहुलाई पैसा तिर्न नसक्दा घरबाट भागेर हिंड्नु परेको अर्का पीडित प्रकाश गिरीले बताए।

जाहेरी दिएको एक महिनासम्म पनि पक्राउ नपरेको र उकेरामा समाचार आएपछि मात्रै प्रहरीले पक्राउ गर्न बाध्य भएको पीडितहरुको भनाइ छ।

आर्मी बन्नका लागि विगत दुई वर्षदेखि दौडधूप गरिरहेका उनीहरु तीनै जना लिखित, स्वास्थ्य सबैमा पास भए पनि मौखिकमा भने फालिंदै आएका थिए।

रबिन्द्रलाई विभिन्न समयमा बुद्धिमानले तीन लाख १० हजार, प्रकाश गिरीले एक लाख ५० हजार र अश्विनले एक लाख ३० हजार रुपैयाँ दिएका थिए।

यस विषयमा उकेराले प्रकाशित गरेको समाचार

फागुन १७, २०७९ बुधबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।