भूगोलका आधारमा प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी, पहिचानका पक्षधरले आन्दोलन गर्ने देखेर निषेधाज्ञा

काठमाडौं : प्रदेश १ को नामकरणको लागि प्रदेशसभा बैठक सुरु भएको छ। भूगोलका आधारमा प्रदेशको नाम ‘कोशी’ राख्न एमालेले प्रस्ताव दर्ता गरेको छ।
भूगोलका आधारमा प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने देखेर प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने प्रदेश १ को नाम पहिचानका आधारमा ‘किरात-लिम्बुवान-सगरमाथा’ राख्न प्रस्ताव गरेका छन्।
बुधबार एमाले प्रदेशसभा सदस्य राम रानाले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन्। उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी र समर्थकमा निरन राई रहेका छन्।
यसअघि पहिचानको कुरा गर्दै आएको माओवादी केन्द्रले ‘कोशी’ नामको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। प्रदेश सभा संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेपछि आफूहरूले कोशीको पक्षमा उभिएको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए।
नेपाली कांग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए।
फागुन १७, २०७९ बुधबार १५:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।