भूकम्पका कारण तीन इन्च ढल्किएको तालबराही मन्दिरको पूर्ननिर्माण गरिंदै

भूकम्पका कारण तीन इन्च ढल्किएको तालबराही मन्दिरको पूर्ननिर्माण गरिंदै

पोखरा : पोखरामा फेवातालको बीचमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माण गरिने भएको छ। २०७२ सालको भूकम्पका कारण मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएसँगै जोखिम बढेकाले मन्दिरको पूर्ननिर्माण गर्न लागिएको हो। 

चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने तालबराही मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ। पूर्ननिर्माण थाल्नु अगाडि सोमबार र मंगलबार दुई दिनसम्म मन्दिरमा प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ।

चैतदेखि पूर्ननिर्माण थालेर आठ महिना भित्र काम सक्ने योजना समितिले बनाएको छ। गुठीका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार मन्दिर पूर्ननिर्माणका लागि करिब एक करोड ४५ लाख रुपैयाँ लाग्ने अनुमान छ।

यसका लागि नेपाल सरकारको पुरातत्व विभागले पचिस लाख सहयोग दिने आश्वान दिएको छ। बाँकी रकम प्रदेश र स्थानीय सरकारसहित भक्तजनहरुको सहयोगमा संकलन गरिने बताइएको छ।

तालबराही मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्माण गराएका थिए। 

फागुन १६, २०७९ मंगलबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।