प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारका दुवै काम राष्ट्रपति निर्वाचनपछि मात्रै गर्ने

प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारका दुवै काम राष्ट्रपति निर्वाचनपछि मात्रै गर्ने

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तारको काम राष्ट्रपति निर्वाचनपछि मात्र हुने बताएकी छन्।

मंगलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नयाँ गठबन्धन बनेको र को-को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइन्।

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने उनले जानकारी गराइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने जुन संवैधानिक, कानूनी प्रावधान छ, त्यो प्रावधान अनुसार गरिन्छ र समय सीमा पनि त्यसै अनुसार हुन्छ। तर अहिले हामी राष्ट्रपतिको चुनावको नजिक छौँ। राष्ट्रपतिको चुनावको नजिक भइराखेको हुनाले ध्यान त्यतातिर केन्द्रित छ।’

उनले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालिन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल जान नसकेको पनि बताइन्।

१६ फागुन, २०७९, १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।