नेपाल १० विकेटले विजयी, युएईलाई जिते विश्वकप खेल्ने

नेपाल १० विकेटले विजयी, युएईलाई जिते विश्वकप खेल्ने

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियालाई १० विकेटले पराजित गरेको छ।

लगातार चौथो जितसँगै नेपाल आगामी वर्ष श्रीलंकामा हुने १९ वर्षमुनिको क्रिकेट विश्वकप खेल्न एक जितमात्र टाढा रहेको छ।

शीर्ष स्थानमा उक्लिएको नेपालले बिहीबार युएईलाई पराजित गर्न सके २०२४ मा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ।

७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।

नेपालको जितमा दिपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे।

त्यसअघि मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो।

नेपाली बलिङ सामु मलेसियाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए।

मूहम्मद हरिसानले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए।

नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ।

नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता टोलीले विश्वकप खेल्नेछ।

१६ फागुन, २०७९, १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।