सन्दीपलाई टिममा समावेश गर्न आईसीसीसँग क्यानले माग्यो अनुमति, आईसीसीले सोध्यो- किन?

सन्दीपलाई टिममा समावेश गर्न आईसीसीसँग क्यानले माग्यो अनुमति, आईसीसीले सोध्यो- किन?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई टिममा समावेश गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)सँग अनुमति मागेको छ।

नाबालिग बलात्कार आरोप लागेका उनीमाथि उच्च अदालतले लगाएको विदेश जान नपाउने आदेश बदर गर्दै सोमबार सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएसँगै क्यानले आईसीसीलाई सन्दीपलाई टिममा समावेश गर्नका लागि अनुमति मागेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए।

‘अदालतको आदेश लगत्तै हामीले आईसीसीमा सन्दीपलाई टिममा समावेशका लागि अनुमति मागेका हौं,’ उनले उकेरालाई भने, ‘आईसीसीले हामीसँग खेलाडी परिवर्तनको कारण माग्यो, हामीले त्यसको जवाफ पनि पठाइसकेका छौं।’

क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेकाले उनलाई पठाउन खोजिएको जवाफ दिएको छ।

यसको जवाफ भने आईसीसीले दिइसकेको छैन। आइसीसीबाट अनुमति मिलेको खण्डमा आजै भिसा अप्लाइ गरिने पाठकले बताए।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आइसीसीसँग अनुमति लिनुपर्ने हुन्छ। नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ।

बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो। कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भई नसकेको पाठकले उल्लेख गरे।

क्यानले यसअघि नेपालमा भएको शृङ्खला अघि १४ जना खेलाडीको नाम आइसीसीमा दर्ता गराएको थियो । त्यसमा सन्दीप पनि थिए।

फागुन १६, २०७९ मंगलबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।