‘ताला ठोक्ने र प्राध्यापक गोद्ने अवस्था अन्त्य गर्न स्ववियु कठोर हुनुपर्छ’
विद्यार्थी आन्दोलन हरेक देशको राजनीतिक र सामाजिक परिवर्तनको महत्त्वपूर्ण आधार हो भन्ने तथ्यको समग्र विश्व र इतिहास साक्षी छ। विश्व कायापलट गर्ने फ्रान्सेली क्रान्ति, जर्मनी क्रान्ति, अमेरिकी जस्ता ठूल्ठूला आन्दोलनहरू समेत विद्यार्थी आन्दोलनबाटै सुरूवात भयो।
सन् १९६८मा पेरिसको नानतेरे क्याम्पसबाट सुरू भएको सानो विद्यार्थी आन्दोलनले पूरै देशमा बदलाव ल्याउन सफल भयो, जसको प्रतिफल सयौं क्रान्तिकारी विचारधारामूलक किताबहरू लेखिए भने उक्त आन्दोलनले युरोप, अफ्रिका र एसिया लगायतका मुलुकहरूको राजनीतिमा पनि ठूलो प्रभाव पार्यो।
यस्तै भियतनाम युद्धले निम्त्याएको मानवीय क्षतिबारे सरकारलाई खबरदारी गर्दै सडकमा उत्रिएको सन् १९६०-१९७० को विद्यार्थी आन्दोलनको प्रभावबाट युरोप तथा अमेरिका अछुतो रहन सकेन।
अझ भारतको गुजरात र विहारमा जन्मिएको सन् १९७५ को विद्यार्थी आन्दोलनलाई गृहयुद्धमा परिणत हुनबाट रोक्न तत्कालीन सरकारले बलपूर्वक रोक्नु परेको ज्वलन्त उदाहरणका हामी साक्षी छौं। यसरी हेर्दा विद्यार्थी आन्दोलन विश्व राजनीतिको मेरुदण्ड पनि हो।
नेपालकै सन्दर्भ नियाल्दा पनि व्यवस्था परिवर्तन गर्न थुप्रै विद्यार्थीहरू विभिन्न कालखण्डमा भएको आन्दोलनहरूमा होमिए। राणा शासनविरुद्ध विद्यार्थीले गरेका जयतु संस्कृतम आन्दोलन, ०३६ सालको जनमत संग्रह, ०४६ सालको जनआन्दोलन, ६२/६३ को व्यवस्था परिवर्तनको जनआन्दोलन जस्ता सबै आन्दोलनहरूमा विद्यार्थीको सक्रिय सहभागिता रह्यो।
आज उदयमान ठूला राजनीतिक दलका नेताहरू समेत तिनै विद्यार्थी आन्दोलनकै उपज हुन्, ती आन्दोलन कोही व्यवस्था विरुद्धका आन्दोलनहरू थिए भने कुनै क्याम्पस सुधारका निमित्त स्ववियुका माध्यमबाट गरिएका आन्दोलन। तर अहिले भने समाजमा विद्यमान अस्थीर राजनीति, उकालो लाग्दै गरेको आर्थिक संकट, धनी र गरीबबीचको बढ्दो अन्तर, हिंसा र अपराधतर्फ अघि सर्दै गरेको समाज र यस्तै-यस्तै सामाजिक, आर्थिक, र राजनैतिक समस्याहरूका कारण राज्यलेपुनः विद्यार्थीको स्वफूर्त भूमिकाको अभाव महसुस गरेको छ।
यो अभावको परिपूर्तिका लागि विद्यार्थीहरूले विश्वविद्यालय भित्रैबाट चाल्ने प्रभावशाली कदमले धरातलीय योगदान गर्न सक्नेछ। तर, त्यसको लागि विद्यार्थीलाई सबल बनाउनतर्फ हाम्रो शैक्षिक प्रणाली चुक्नुहुँदैन। वर्तमान अवस्थामा सचेत विद्यार्थी जन्माउने विश्वविध्यालय आफैँमा अनेकन समस्याहरूसँग जुधिराखेको छ। त्यस समस्या समाधान गर्ने उत्तम उपाय भनेको विद्यार्थी र विश्वविद्यालयबीच सशक्त पुलको भूमिका खेली नविन मुद्दाहरू बोक्नसक्ने स्ववियु नै हो।
विद्यार्थीको हकहितलाई केन्द्रमा राखी निःस्वार्थ र स्वतन्त्र हिसाबले काम गर्न स्ववियुलाई चुनौतीहरू पनि धेरै छन्। चुनाव आउँदा थुप्रै प्रतिज्ञा गर्ने विद्यार्थी संगठनहरू चुनाव जितिसके पश्चात् किन निष्क्रिय भइ बस्छन्?
ती कबोलेका प्रतिज्ञाहरू र उठाएका विद्यार्थीका मुद्दाहरू समाधान गर्न साँच्चै गाह्रो हुने हुन् वा ती मुद्दै नभएर फगत प्रचारबाजी मात्रै भएकाले समाधान गर्न नसकेका हुन्? मुख्यतः स्ववियुको चुनौती क्याम्पस प्रशासनसँगको समन्वयता र प्रतिपक्षी विद्यार्थी संगठनहरूको बाधाअवरोध नै हुन्।
क्याम्पस प्रशासनसँगको समन्वयताः
स्ववियुलाई सशक्त र प्रभावकारी बनाउन क्याम्पस प्रशासनले पनि महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। विश्वविद्यालयमा परिवर्तन ल्याउन विद्यार्थी संगठनहरूको मात्र एकल अभ्यास नभई क्याम्पस प्रशासनको पनि उत्तिकै प्रयास, अपनत्त्व र उत्तरदायित्त्व हुन्छ।
स्ववियुलाई क्याम्पसमा प्राप्त हुने बजेट र आयोजनाका प्रस्तावबारे पारदर्शी तवरले जानकारी नहुने र क्याम्पसलाई भुईँ तहका विद्यार्थीहरूले भोग्ने समस्याबारे थाहा नहुने नै दुई पक्षबीच ठूलो वार्तालापको अन्तरको कारण बनेको छ। यस अन्तरलाई मेटाउन यसपाली हुने स्ववियु चुनावमा विद्यार्थी संगठनहरूले फरक तरिकाको चुनावी मोडालिटी अपनाउँदा राम्रो हुन्छ।
चुनावी मैदानमा मतदान गर्ने विद्यार्थीहरूको हातमा म्यानिफेस्टो थमाउनुको सट्टा स्ववियु उम्मेदवारहरूबीच नेतृत्त्वदायी बहस गराउन सकिन्छ। त्यस बहसमा क्याम्पस प्रशासनलाई स्वतन्त्र पक्षको रूपमा, विद्यार्थी समूहलाई बहसमा प्रतिप्रश्न गर्ने सक्रीय सहभागीको रूपमा र सम्बन्धित क्याम्पसमा विषयविशेष अध्यापन गर्ने सम्बन्धित प्राध्यापकहरूलाई स्वतन्त्र विषय विज्ञको रूपमा उपस्थित गराउन सकिन्छ।
यहाँ उम्मेदवारहरूलाई खुला रूपमा प्रश्न गर्ने, संगठनहरूको वार्षिक रणनीति र भावी योजनामाथि टीकाटिप्पणी गर्ने र उपयुक्त एजेण्डा बोकेर प्रस्तुत नहुनेमाथि खबरदारी गर्ने छुट दिन सकिन्छ। बहसमा ती उम्मेदवारहरूले विद्यार्थीहरूले भोगेका समस्याहरूको उचित पहिचान गर्न सकेको छ वा छैन, निजको संगठनले समयावधि तोकेर बनाएका वार्षिक रणनीतिहरू र योजनाहरू प्रभावकारी र फलदायी छन् वा छैनन् र क्याम्पस प्रशासनसँगको समन्वयमा निष्क्रिय आक्रामक शैली त्यागी सक्रीय वार्तालाप गर्ने कार्यशैलीको प्रस्ताव छ वा छैन भन्ने मुख्य विषयहरूको परीक्षा हुनेछ।
यस्तो चुनावी मोडालिटी अपनाउँदा विद्यार्थी संगठनहरू फगत प्रचारबाजी मात्र नभई वस्तुगत र व्यावहारिक एजेण्डाहरू उठाउन बाध्य हुनेछन् भने क्याम्पस प्रशासन विद्यार्थीको मुद्दामा मौन बस्ने छुटबाट बञ्चित हुनेछन्।
प्रतिपक्ष विद्यार्थी संगठनहरूको भूमिकाः
प्रत्येक विद्यार्थी संगठनहरूले बुझ्नु पर्ने कुरा के हो भने तिनीहरू विभिन्न राजनीतिक आस्थाप्रति झुकाव राख्दै राज्यका राजनीतिक दलहरूमा आबद्ध भएका भातृ संगठनहरू भए तापनि तिनीहरूले उठाउने विद्यार्थीका मुद्दाहरू नितान्त गैर दलीय हुन्। विश्वविध्यालयमा आमूल परिवर्तन ल्याउन प्रतिपक्ष विद्यार्थी संगठनहरूको पनि उत्तिकै प्रभावकारी भूमिका हुन्छ।
स्ववियु चुनावमा जित्ने पक्षको सँधै आलोचना गरिराख्ने, त्यस पक्षले राम्रो काम गरेमा आफ्नो अस्तित्व संकटमा परेको हीन भावना महसुस गरी प्रत्येक कामकारबाहीमा बाधा अवरोध गर्ने जस्ता कामहरू नगरी प्रतिपक्ष संगठनहरूले विद्यार्थीका मुद्दाहरूलाई दलीय मुद्दाबाट स्वतन्त्र राख्नुपर्छ र जित्ने पक्षसँग हातमा हात राखी अघि बढ्ने परस्पर वातावरण सिर्जना गरिदिनुपर्छ।
हाल त्रिभुवन विश्वविद्यालयले चैत ०५ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तोकेको छ। २०६५ सालयता पूर्णरूपमा हुन नसकेको स्ववियुको चुनाव अब हुने भनी घोषणा भएपछि विद्यार्थी संगठनहरूले चहलपहल थालेका छन्, घोषणापत्र तयारीमा जुटेका छन् र विश्वविद्यालयमा विद्यार्थीहरूलाई लबिङ गर्नतर्फ लागि परेका छन्। तर यसपटक विद्यार्थी संगठनहरूले फरक तरिकाको कार्यशैली अपनाउनु अति आवश्यक छ।
केबल औपचारिकता मात्र पुर्यानउन विद्यार्थी संगठनले तयार पारेको दशक पुरानो रेडिमेड म्यानिफेस्टो प्रत्येक विद्यार्थीको हातमा थमाएर, केही रकम खर्च गरी समर्थकहरू भेला गरेर चुनाव जित्न अपनाइने उपाय बिफल हुन सक्छन र पश्चागमन उन्मुख हुनसक्छ। यो कालखण्ड ०६५ को समय होइन किनकि सचेत विद्यार्थीहरूले अब खुलेर प्रश्न गर्नेछन् र आफ्ना समस्याहरूको व्यावहारिक समाधानको योजना खोतल्नेछन्।
केही समस्याहरू दशकौँदेखि ज्यूँ का त्यूँ रहेका छन् भने केही नयाँ थपिएका छन्। नेपालको दूरदराजबाट उच्च शिक्षा हासिल गर्न राजधानी बसी क्याम्पस पढ्ने विद्यार्थीहरूलाई क्याम्पसले तोक्ने शैक्षिक शुल्क थप आर्थिक बोझ हुने गर्दछ। क्याम्पसमा आफ्नै समकक्षीहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लिङ्ग, क्षेत्र, भाषा, संस्कृति इत्यादिका आधारमा अझै पनि सीमान्तकृत र उत्पीडित वर्गका विद्यार्थीहरूले मौन रूपमा विभेद खेप्नु परिरहेको छ।
विद्यार्थीहरूले विश्वविद्यालय र क्याम्पसमा भएको कक्षाकोठा, होस्टल र शौचालय लगायतका भौतिक संरचनाहरूको अवस्थाले दुःख पाइरहेका छन्। यी समस्याहरूको पूर्ण रूपमा नीतिगत समाधान खोजिनु त पर्छ तर प्रत्येक पटक विद्यार्थीहरूको घोषणापत्र यी विषयहरूमा मात्र सीमित गराई बनाइनुहुँदैन।
अब हुने स्ववियु बहस र बन्ने स्ववियुले विद्यार्थीको गुणस्तर वृद्धि गर्न थुप्रै नवीन विषयहरूको उठान र समाधान गर्नुपर्छ भने क्याम्पस प्रशासनसँगको कार्यमा समेत प्रत्यक्ष हस्तक्षेप गरेर कदम समेत चाल्नुपर्छ।
स्ववियुले ध्यान केन्द्रित गर्नुपर्ने विद्यार्थीका विषयहरू:
आजको युग आधुनिक सूचना र सञ्चार माध्यमहरूले निर्देशित छ। विश्वविद्यालयको शिक्षा प्रणालीलाई उत्पादनमूलक र व्यावहारिक बनाउन विश्वभर नै खोज र अनुसन्धान भइरहेको छ। वर्षेनी लाखौं नेपालीहरू विदेशिने गरेका कारण हाम्रो जीवनशैलीको प्रत्येक पाटोमा हुने बाह्य प्रभावबाट हामी अछुतो रहन सकेका छैनौं। यसै क्रममा अन्तर्राष्ट्रिय शिक्षा प्रणालीले नेपाली विद्यार्थीहरूको मस्तिष्कमा पारेको प्रभावका कारण यहाँ रहेका विद्यार्थीका मुद्दाहरूमा अझ नवीन आयामहरू थपिएका छन् जसलाई परिपूर्ति गर्न अबका दिनमा राज्य सरकार, क्याम्पस प्रशासन र स्ववियुले आ-आफ्नो ठाउँबाट ठूलो जिम्मेवारी निभाउनुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय शैक्षिक वेभसाइटको पहुँचमा सहजीकरण:- नेपाली विद्यार्थीले आफ्नै विदेशी समकक्षी विद्यार्थीसँग प्रतिस्पर्धा गर्न वा कुनै विश्वव्यापी परियोजनामा संयुक्त काम गर्न वा विश्वविध्यालयकै पाठ्यक्रमको निमित्त शोधपत्र तयार गर्न आधिकारिक शैक्षिक स्रोतसामग्रीहरूको अभावले प्रताडीत भइरहेका छन्। यसकारण विद्यार्थीहरूले तयार पारेका सेमिनार पेपरहरू, शोधपत्रहरू चोरीमुक्त हुन सकेका छैनन्।
स्रोतसामग्रीहरूको अभावमा विद्यार्थीहरूले अनुसन्धनात्मक लेख लेख्न नसकेका कारण ती गुणस्तरहीन हुने गर्छन्। यसको समाधान भनेको विभिन्न अक्सफर्ड युनिभर्सिटी, क्याम्ब्रिज युनिभर्सिटीजस्ता विश्वप्रख्यात विश्वविध्यालयहरूले वेभसाइट बनाई प्रकाशन गर्ने जर्नल, लेखरचनाहरूमा विद्यार्थीको पहुँचलाई सहज बनाउने हो। ती वेभसाइटहरू महंगा हुने गर्छन् तर स्ववियुले क्याम्पससँग सम्वन्य गरि ती वेभसाइटहरू केही रकममा किनेर प्राप्त भएको युजरनेम र पासवर्ड विद्यार्थीहरूलाई उपलब्ध गराउन सकेमा आगामी दिनहरूमा हाम्रा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय शोधपत्र तयार पार्न सक्नेछन्।
ई-लाईब्रेरीको सुरूवातः- आजको विश्व प्रतिस्पर्धात्मक छ। आफ्नो रूचि भएको विषयमा गहिरो खोज अनुसन्धान गरी त्यस विषयमा विग्यता हसिल गर्ने इच्छा विद्यार्थीहरूको हुनसक्छ। यदि कुनै कारणवश निज विद्यार्थीको क्याम्पसको लाईब्रेरीमा सीमित मात्र पहुँच छ भने निजको सपनाको तगारो पन्छाउने जिम्मा सबैको हुन्छ। प्रत्येक क्याम्पसहरूले आफ्नै सफ्टवेयर बनाई ई-लाईब्रेरीको सुरूवात गर्न जरूरी छ जसबाट विद्यार्थीहरूलाई चाहिने शैक्षिक स्रोतसामग्रीहरू आफ्नै हातको मोबाइलमा उपलब्ध गराउन सकियोस्। सीमित कार्यालय समयमा मात्र खुल्ने क्याम्पसका लाईब्रेरीहरू, एक आई.डी कार्ड बराबर २ वा ३ किताबहरू मात्र लिन पाइने व्यवस्था र बिदाका दिन बन्द हुने क्याम्पसका लाइब्रेरीहरूका कारण विद्यार्थीहरूले झेल्नु परेका समस्याहरू ई-लाईब्रेरीमार्फत समाधान गर्न सकिन्छ र यसका लागि स्ववियुले प्रभावकारि भूमिका खेल्नसक्छ।
अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूका निमित्त प्लेसमेन्ट फेयरः- आफ्नो उच्च शिक्षाको अध्ययनक्रम सकिएलगत्तै कतै जागिर गरी केही अनुभव पनि बटुल्ने र आर्थिक तवरले परिवारलाई सहयोग पनि गर्ने प्रत्येक विद्यार्थीको इच्छा हुन्छ। अध्ययन सकेपश्चात् पनि बेरोजगार बस्नु पर्ने र काम पाइहाले पनि योग्यता अनुसारको काम नपाए पछि अन्ततः विदेशिने बाटो खोज्नुपर्ने हरेक विद्यार्थीको अहिले बाध्यता छ। यस समस्याको सम्बोधन गर्नका निमित्त स्ववियुले हरेक वर्ष अन्तिम सेमेस्टरका विद्यार्थीहरूका निमित्त प्लेसमेन्ट फेयर सञ्चालन गर्नसक्छ। यस रोजगार मेलामा विद्यार्थीले अध्ययनपश्चात् काम गर्नसक्ने सम्भावित संस्था वा क्षेत्रका प्रतिनिधी पात्रहरूलाई निमन्त्रणा गरी विद्यार्थीहरूसँग भेटघाट गराइदिन सकिन्छ। यस्तो भेटघाट मार्फत विद्यार्थीहरू आफ्नो पेशागत जीवनबारे अझ प्रष्ट मानसिकता लिई तयार हुन पाउँछन् र ती आमन्त्रित संस्थाहरूले पनि श्रमको सम्मान गर्दै न्यायोचित आर्थिक लाभ दिँदै दक्ष विद्यार्थीहरूलाई आफ्नो संस्थामा समावेश गराउन सक्छन्। अन्ततः जागिर खोज्ने क्रममा नातावाद र कृपावादको शिकार हुनबाट योग्य र दक्ष विद्यार्थीहरूलाई जोगाउन सकिन्छ जसबाट सम्बन्धित क्षेत्रको समेत सकारात्मक विकास हुनसक्छ।
विद्यार्थी वडापत्रको थालनीः- विश्वविद्यालयमा हुने प्रत्येक क्रियाकलापलाई पारदर्शी बनाउन र विद्यार्थीलाई क्याम्पस प्रशासनले प्रदान गर्ने सुविधाबारे सटीक तरिकाले विद्यार्थीलाई जानकार गराउन बुँदागत रूपमा विद्यार्थी बडापत्र तयार गरी क्याम्पस हाताभित्र डिजिटल प्रदर्शन गर्ने व्यवस्था मिलाउन सकिन्छ। यसबाट कुन विषयको पढाइ कति नं. कोठामा र को प्राध्यापक मार्फत भइरहेको छ भन्ने विषयमा विद्यार्थीहरूलाई सहजै जानकारी दिन सकिन्छ र यसका साथै विद्यार्थीको क्याम्पस प्रशासनसँग हुने कामकारबाहीबारे पनि सहज व्यवस्थापन मिलाउन सकिन्छ। विद्यार्थीका हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउने स्ववियुले सवयंसेकहरू खटाई यस्ता कामहरू सजिलै निरुपण गर्नसक्छ।
क्याम्पस हाताभित्र प्राथमिक उपचारको व्यवस्थाः- बिरामी विद्यार्थीहरूका लागि चाहिने प्राथमिक उपचारको व्यवस्था, प्राथमिक औषधिको व्यवस्था, क्याम्पसभित्र बिरामी कक्षको व्यवस्था र महिला विद्यार्थीहरूका लागि स्यानिटेरीको व्यवस्था गर्नेबारे स्ववियुले गम्भीरतापूर्वक काम गर्न आवश्यक छ। विद्यार्थीको स्वास्थ्य विद्यार्थीको हकहितभित्र पर्ने प्राथमिक विषय हो र यसलाई सम्बोधन गर्न जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय गर्न स्ववियुले प्रभावकारी भूमिका खेल्न सक्छ।
यी विषयहरू असीमित छन् र समयको वेगसँगै विद्यार्थीका नयाँ-नयाँ मुद्दाहरू थपिँदै जानेछन्। चुनौतीहरूलाई छिचोल्दै विद्यार्थीका नवीन मुद्दाहरूमा काम गर्ने अग्रसरता देखाउनका निमित्त भने स्ववियुको काम गर्ने शैलीमा परिवर्तन गर्न अति आवश्यक छ। क्याम्पस प्रशासनसँगको मतभेदमा प्रत्येक पटक तालाबन्दी गरी पठनपाठनमा अवरोध पुर्या उने क्रियाकलापको पूर्ण रूपमा अन्त्य हुनुपर्छ। शैक्षिक हाताभित्र हुने अवाञ्छित क्रियाकलाप र शिक्षकप्रति गरिने दुर्व्यवहारको अन्त्यका निम्ति स्ववियुले कठोर निर्णय लिनुपर्छ। विश्वविद्यालयलाई पूर्ण रूपमा ज्ञान लिने र दिने थलो बनाउन सके मात्र विद्यार्थी आन्दोलन र स्ववियुको औचित्य रहनसक्छ।
(कमली पुर्व स्ववियु सभापति एवं नेवि संघ स्ववियु निर्वाचन घोषणापत्र तयारी समिति सदस्य हुन्)
फागुन १६, २०७९ मंगलबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।