दरबारमार्गमा पार्किङ गर्न दिनुपर्ने भन्दै व्यापारीको विरोध प्रदर्शन
काठमाडौं : काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
सोमबार दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले आफ्ना पसलका सटरहरू बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन्। लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले हटाएपछि विरोध गरिएको हो।
दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगरले जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारमा ६० प्रतिशतले गिरावट आएकाले विरोध गर्न बाध्य भएको बताए।
दरबारमार्गका व्यवसायीहरूले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिए पनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धरासाही बनेको बताए।
ढकालले दबारमार्गको एकतर्फी पार्किङ कायम गर्नुपर्ने भन्दै माग पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताए।
महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ। पार्किङ नभएपछि व्यवसायीहरूले सटरभाडा समेत व्यवसायीहरूले महानगरसँग वार्ता गर्ने भनेपनि महानगरले बेवास्ता गरेको उनीहरूको आरोप छ।
फागुन १५, २०७९ सोमबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।