उपचारमा लापर्बाहीका कारण छोरीको ज्यान गएको भन्दै हिमाल हस्पिटल अगाडि प्रर्दशन

उपचारमा लापर्बाहीका कारण छोरीको ज्यान गएको भन्दै हिमाल हस्पिटल अगाडि प्रर्दशन

काठमाडौं : हिमाल हस्पिटलले लापर्बाही गरेका कारण छोरीको ज्यान गएको भन्दै उपचारको क्रममा निधन भएकी प्रशंसा गौतमका आफन्तले हिमाल हस्पिटल अगाडि प्रदर्शन गरेका छन्।

बालिकाका बुवा गौरभ दर्पणका अनुसार छोरी प्रशंसालाई उपचार गर्न माघ २३ गते हिमाल अस्पताल लगिएको थियो। तर उनलाई सामान्य रुघाखोकी मात्रै लागेको भन्दै पूरै जाँच समेत नगरी औषधी दिइएको र पटक पटक जाँदा समेत पूरै उपचार नगरेको आरोप अस्पताललाई लगाइएको छ।

अन्तिम अवस्थामा मात्र उपचार गरेको आरोप लगाउँदै दर्पणले भने, ‘मेरी छोरीले समयमै उपचार पाएको भए बाँच्थिन् होला। हिमालले यहाँ हुँदैन भनिदिएको भए हामी अन्तै लैजान्थ्यौं। अस्पतालको लापर्बाहीका कारण छोरीको ज्यान गयो।’

परिवारको विज्ञप्ती अनुसार घटनाको बेलीबिस्तार :

दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काईन्छ। त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नु पर्यो, किन? हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतीमा कहीँ कतै कमजोरी छ कि किन यस्तो हुन्छ? कि नेपालमा बेचिने औषधीमा खराबी छ? कि डाक्टरको योग्यतामा कमजोरी छ? बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्यता हुन्छ कि हुँदैन?

छोरी प्रशंसालाई सामान्य रुघाखोकी थियो, नक्सालको एक क्लिनिकमा देखाएर औषधी लगेर खुवाइयो। २–३ दिनसम्म बेलाबेला कम हुँदै फेरि ज्वरो फर्किने हुन थालेपछि २३ गते नक्साल, कमलपोखरीकै हिमाल हस्पिटलमा लगेर त्यहाँ उपलब्ध बच्चाको डाक्टर डा. जयदेव यादव (एन.एम.सी. नं. १०८४५)लाई देखायौं। अगाडि खुवाई रहेको औषधि र अवस्था सबै देखाएपछि डाक्टरले आफ्नो उपचार थाले। ज्वरो नाप्ने, मुखभित्र हेर्ने, छातीको आवाज सुन्ने आदि।

‘भाइरल ज्वरो हो, म दबाई लेखिदिन्छु, खुवाएर हेर्नुस्,अनि ४ दिनपछि मलाई आएर भेट्नुस्’ भनेर शुक्रबारलाई फलोअपको लागि बोलाउँदै हामीलाई पठाए। छोरीलाई उनले दिए अनुसार दबाई र खाना खुवाउँदै भोलिपल्टसम्म हेर्यौं, तर सुधार देखिएन। अलिअलि गर्दै छोरीको खाना कम हुँदै गयो। उनी कमजोर देखिन थालिन्, फेरि भोलिपल्टै लिएर गयौं र उनै डाक्टरलाई देखायौं, ‘औषधीले काम गर्न थालेको हो, डराउनु पर्दैन झोलिलो कुरा प्रशस्त खुवाउनुस्’ भने। मलाई डर लागेर ‘कि केही अरु जाँचहरु गराएर हेर्नुपर्छ कि?’ भनेर सोध्दा डाक्टरले ‘केही पर्दैन, बरु यही ल्याएर बिहान बेलुका ३ दिन बाफ लगाउनु, म लेखिदिन्छु’ भनेपछि हामीले पनि त्यही गर्यौं।

त्यो सबै गर्दै गर्दा पनि नानीलाई सञ्चो भएन, घ्यारघ्यार बढ्न थाल्यो  दिउँसो छोरी सुतेको बेला अलि ज्यादै ‘घ्यारघ्यार’ भएको सुनेर मोबाइलमा छोरीको भिडियो समेत खिचेर लगेर डाक्टरलाई देखायौं। डाक्टरले भने ‘त्यो हेर्नै पर्दैन बिरामीलाई यही देख्खिरहेको छ।’ उक्त कुरालाई खासै महत्त्व दिएनन्। बिहान बेलुका दुई पटक हस्पिटल जाँदै बाफ लगाउँदै साँझ फेरि डाक्टरलाई देखाउँदै गर्यौं। बुधबार डाक्टरलाई भेट्दा छोरीको अनुहार हल्का सुन्निएको र पेट अलिकति फुलेको पनि देखाएँ र ‘कि एक्सरे गरेर हेरौं ’भनेर सोधें। डाक्टरले ‘यो सामान्य हो, खाना नखाएर ग्याँसले होला’ भने। बिहीबार पनि बिहान बाफ लगाउन लैजाँदा ईमर्जेन्सीका नर्सहरुले ‘नानी शिथिल छिन् त’ भन्दै थिए। तर डाक्टरलाई रिपोर्ट गरेनन् होला।

सोही दिन बेलुका ५ः३० मा फेरि छोरीलाई लिएर गयौं, बाफ लगायौँं र डा. को क्याबिनमा लिएर गयौं। छोरी कुर्सीमा बस्न सकिनन् अनि बेडमा सुतायौं। सबै अवस्था बेलिबिस्तार लगाएर ‘अब बरु भर्ना गरेरै उपचार गरौं ,घरमा राख्दा गाह्रो होला’ भनेर डाक्टरलाई भन्यौं। तर डाक्टर फेरि पनि ‘आत्तिनु पर्ने कुरा छैन तर त्यसो भन्नुहुन्छ भने एउटा एक्स–रे हेरौं अनि रगतको जाँच पनि गरौंला’ भनेर लेखिदिए।

हामी एक्सरे गराउन गयौं र लिएर आयौं, जब रिपोर्टमा फोक्सोमा दुबैतिर निक्कै पानी फैलिएको देखियो तब मात्र बिरामीको स्याचुरेसन (अक्सिजन) जाँचियो र भर्ना प्रकृया सुरु गरियो। अक्सिजन लेवल धेरै घट्न थालेपछि ‘यहाँ भर्ना नगरौं, अर्कै अस्पताललाई रेफर गरिदिन्छौं, हेम्स अस्पतालमा पठाइदिन्छौं’भने। त्यो पनि मान्न हामी तयार भयौं। तर फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि हेम्सको डाक्टरले नपठाउनु भने।

त्यसपछि डा. जयदेव यादवले अर्को नाटक रचेर भने, ‘कान्ती बाल अस्पताललाई मैले कुरा गरें, बेड खाली छ, लेटर लेखिदिन्छु सिधै ईमर्जेन्सीमा लैजानु र मेरो नाम लिनु।’ हामी अत्ताल्लिएका बाबुआमा त्यो पनि मन्जुर गरेर एम्बुलेन्स खोज्न थाल्यौं । जब बिरामीलाई गाडीमा सार्न लाग्यौं डा. जयदेब यादवले एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्र लिएर जानुस् अरु कागजात केही लानु पर्दैन भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड (प्रेसक्रिप्सन) नर्सलाई लुकाउन लगाए। त्यतिबेला भने मेरो मनमा चिसो पस्यो र डा. को आँखा छलेर गएर काउन्टरमा नर्सको हातबाट कागज खोसेर बोकेर हिडें।

त्यसपछि अक्सिजन जोडिजोडि नै नानीलाई कान्ती बाल अस्पताल पुर्यायौं। त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर लिनै मानेन फेरि त्यहाँ कुनै डाक्टर वा हिमाल हस्पिटलले केही खबर गरेको छैन, कसैसँग कुरा गरेको छैन भनेर नानीको अवस्था नाजुक भैसकेको भन्दै तुरुन्तै पीआईसीयू भएको अर्को अस्पताल लैजान सुझाव दिए। हामीले खोजी गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर त्यहाँ पुर्यायौं। मेट्रो हस्पिटल पुग्दासम्म छोरीले बोलाउँदा रेस्पोन्स गरिरहेकी थिइन्।

तर त्यो बेलासम्ममा छोरीको स्याचुरेसन ५० को हाराहारीमा झरिसकेकोले सिधै सघन उपचार कक्षमा हालियो। उता छोरीको उपचार सुरु भयो, यता हामी अन्य कागजी प्रकृया मिलाउन थाल्यौं।

लगभग एक घण्टापछि भित्रबाट मलाई बोलाइयो र म भित्र गएँ। छोरी हेर्न सकिने अवस्था मै थिईनन्। हाम्रो काख र अँगालो रित्तिईसकेको थियो।

फागुन १५, २०७९ सोमबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।