खानेपानीलाई प्राथमिकता नदिए प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालय घेर्छु : मन्त्री खान
काठमाडौं : खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए।
उनले खानेपानी संस्थान आम सर्वसाधारणहरूलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए।
मन्त्री खानले पार्टीमा राजनीति गर्न मन लागे फिल्डमै गएर राजनीति गर्न सुझाए। खानेपानीका लागि बजेट नछुट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताए।
‘खानेपानीमा राजनीति नगर्नुस्। राजनीति गरौँ तर यसमा प्रधानमन्त्रीको अघि धर्ना बसेर, अर्थ मन्त्रालयको अघि बसेर धर्ना दिऔँ म अगाडि हुन्छु तर कर्मचारीलाई उचालेर राजनीति नगरौँ,’ उनले भने, ‘कर्मचारीले पार्टी र व्यक्तिको लागि आन्दोलन होइन, खानेपानीको लागि आन्दोलन गरौँ।’
मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गर्नुभयो।
फागुन १५, २०७९ सोमबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।