सरकारबाट बाहिरिने निर्णयसँगै एमालेका मन्त्रीहरूले प्रचण्डलाई बुझाए सामूहिक राजीनामा
काठमाडौं : सरकारबाट बाहिरिने निर्णय गरेको एमालेका सबै मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिक राजीनामा बुझाएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहित परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालाकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती छन्।
आज बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले लगायतका दलसँग गरेको गठबन्धन तोड्दै कांग्रेस, एकीकृत समाजवादी लगायत आठ दलसँग नयाँ गठबन्धन गरेपछि एमाले-माओवादी सम्बन्ध चिसिएको थियो।
राष्ट्रपतिको निर्वाचनमा समेत माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय भएको थियो।यतिञ्जेल एमाले भने राष्ट्रपतिको निर्वाचनको परिणामलाई कुर्ने र सरकारलाई दिएको समर्थन जारी राख्ने नीतिमा थियो।
तर, हिजो प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गरिदिएपछि एमाले क्रुद्ध भएको थियो। त्यसैको परिणामस्वरूप आज एमाले सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णयमा पुगेको हो।
फागुन १५, २०७९ सोमबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।