आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालको शानदार प्रदर्शन, लगातार तेस्रो जित

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालको शानदार प्रदर्शन, लगातार तेस्रो जित

काठमाडौं : आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ।

हङकङले दिएको १२१ रनको लक्ष्य २२ ओभर १ बलमा १ विकेट गुमाएर भेट्टाउँदै नेपालले ९ विकेटको जित निकालेको हो। उसले यसअघि सिंगापुरलाई ९६ र कुवेतलाई २४३ रनले पराजित गरेको थियो।

नेपालको जितमा आकाश त्रिपाठीले अविजित रहँदै अर्धशतकीय पारी खेले। उनले ७२ बलमा ५ चौका र ४ छक्काको मद्दतले ६४ रन बनाए।

उत्तम रङघु थापा मगरले अविजित रहँदै ३९ रन बनाउँदा अर्जुन कुमाल भने १६ रन बनाएर आउट भए। बलिङतर्फ हङकङका डेनियल मोर्गान मापले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाएर १२० रनमा समेटिएको थियो।

उसका लागि पार्थ भागवातले ३६, मोहम्मद अलियान जाहिरले २९ र आहन त्रिवेदीले अविजित रहँदै ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङललाई सस्तैमा समेट्न नेपालका हेमन्त धामीले तीन, आकाश चन्द र सुवास भण्डारीले समान दुई–दुई र दिपेश कँडेलले एक विकेट लिए।

फागुन १५, २०७९ सोमबार १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।