प्रचण्डलाई पौड्यालको प्रश्न - ‘कार्यकारीले नेतृत्व गर्नुपर्ने सभालाई सल्लाहकारले प्रतिनिधित्व गर्न मिल्छ?’
काठमाडौं : परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औं सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानुनी वैधतामाथि प्रश्न उठाएकी छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले मन्त्री परिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशन अनुसार आफू जान नपाएको बताइन्।
उनले भनिन्, ‘जसलाई विज्ञ भनेर हामीले टोलीमा समाहित गरेका थियौं। उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने खालको कुरा आएको छ। कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन? यस्ता केही कानूनी कुराहरु प्रष्ट पार्नुपर्ने जरुरी हुन्छ।’
मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराए पनि अन्तिममा कोइरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।
फागुन १५, २०७९ सोमबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।