राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभियौं : अध्यक्ष नेपाल

राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभियौं : अध्यक्ष नेपाल

सुर्खेत : एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि लडेकाहरू एक ठाउँमा उभिएको बताएका छन्।

सोमबार प्रदेशस्तरीय पार्टी प्रशिक्षणका लागि सुर्खेत आएका नेपालले राष्ट्रवादी शक्तिहरू एकठाउँमा उभिएको बताए। समाजवादीलाई अलग्याएर सरकार बनाउनु असम्भवको कुरा रहेको भन्दै उनले वर्तमान राजनीतिक कोर्ष परिवर्तनको बलियो शक्ति एकीकृत समाजवादी पाटी बनेको दाबी गरे।

विगतमा भएका राजनीतिक परिर्वनमा आफ्नो उल्लेखनीय भूमिका रहेको स्मरण गर्दै अध्यक्ष नेपालले वर्तमान राष्ट्रिय राजनीतिको कोर्ष परिवर्तनमा पनि एकीकृत समाजवादी बलियो शक्ति भएको बताए।

‘पार्टीको नीति, विचार र सांगठानिक संरचनाहरू परिपक्क छ। हामी आफ्नो निर्णय कार्यन्वयन गर्न बलियो अडानका साथ उभिएका छौँ। एकीकृत समाजवादी पाटीलाई मुलुकको राजनीतिक कोर्ष परिवर्तनको मुख्य शक्ति बनाउछौँ,’ उनले भने।

नेता नेपालले २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा ८ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने दाबी गरे।

उनले थपे, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र म आफैँसहित ८ राजनीतिक दलका शीर्ष नेताबीच सहमति भइसकेकोले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई कसैले रोक्न सक्दैन्। उहाँको जित सुनिश्चित छ।’

अध्यक्ष नेपालले सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कुनै सम्झौता नभएको बताए।

फागुन १५, २०७९ सोमबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।