नेपालको कसिलो बलिङ, २०३ रनमै समेटियो पीएनजी

नेपालको कसिलो बलिङ, २०३ रनमै समेटियो पीएनजी

काठमाडौं: नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जितका लागि २०४ रनको लक्ष्य पाएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले सानदार प्रदर्शन गर्यो। नेपालको धारिलो बलिङ सामु पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर मात्र २०३ रन जोड्न सक्यो।

नेपालको कसिलो बलिङसामु धरापमा परेको पीएनजीको ब्याटिङले कुनै समय २०० रन पनि पूरा नगर्ने देखिएको थियो। तर अन्तिम ५ ओभरमा ४३ रन जोड्दै पीएनजी यो स्कोरसम्म पुग्न सफल भयो।

पीएनजीका लागि चाद सोपार र कप्तान आसाद भालाले सर्वाधिक ३६/३६ रन जोडेका थिए। बलिङतर्फ गुल्सन झाले उत्कृष्ट खेल देखाउँदै ९ ओभरमा मात्र २८ रन खर्चिएर ३ विकेट लिएका थिए।

त्यसैगरी कुशल मल्ले २ तथा करण केसी, सोमपाल कामी र प्रतिश जीसीलै एक/एक विकेट लिए। यो सिरिजमा यूएई, पीएनजी र नेपालले एक आपसमा २-२ खेल खेल्ने छन्।

नेपाल सात टिम सहभागी लिग-२ मा २८ खेलबाट २६ अंकका साथ छैटौं स्थानमा छ भने पीएनजी २८ खेलमा २ मात्र ५ अंकका साथ अन्तिम स्थानमा छ।

नेपाललाई यो लिगमा शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न अब ७ खेल जित्नुपर्ने बाध्यता रहेको छ। एकदिवसीय मान्यता जोगाउन पनि नेपालले न कम्तिमा ५ खेल जित्नुपर्ने अवस्था रहेको छ।

फागुन १५, २०७९ सोमबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।