प्रचण्डको मुर्ख्याइँले रिसायो एमाले, प्रतिपक्षी दलसँग बढ्यो दूरी र दुश्मनी

प्रचण्डको मुर्ख्याइँले रिसायो एमाले, प्रतिपक्षी दलसँग बढ्यो दूरी र दुश्मनी

काठमाडौं: संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को बैठकमा एमालेबाट नियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई जान रोकेपछि रिसाएको एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ। भ्रमणमा जाने अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पौड्याललाई रोकेर पूर्व कानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई पठाउने गैर कुटनीतिक र अपमानजनक निर्णय गरेका थिए।

यसअघि एमालेले फागुन २५ (राष्ट्रपतिको निर्वाचन)पछि सरकारबारे निर्णय गर्ने बताइसकेको थियो। तर, आइतबारको प्रधानमन्त्रीको हर्कतपछि सोमबार सचिवालयको बैठक बसेर सरकारबाट आजै बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णय एमालेले गर्यो।

जाने सबै तयारी भइसकेपछि प्रधानमन्त्रीले फोन गरेर उनलाई रोकी पूर्व कानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई जेनेभा पठाए।

राप्रपाले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र निर्णय आउन बाँकी छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नै पौड्याल आइतबार परिषद्को ५२औँ सत्रमा सहभागी हुन जेनेभा जाने तयारीमा थिइन्। परिषद्को बैठकमा नेपालको तर्फबाट उठाउने विषयबारे आइतबारै पत्रकार सम्मेलनमार्फत जानकारी गराएकी थिइन् उनले।

जाने सबै तयारी भइसकेपछि प्रधानमन्त्रीले फोन गरेर उनलाई रोकी पूर्व कानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई जेनेभा पठाए। बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल जेनेभा गएका छन्।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले पौड्यालको नेतृत्त्वमा पाँच सदस्यीय टोलीलाई जेनेभा पठाउने निर्णय गरेको थियो। फागुन १५ गतेदेखि चैत १३ गतेसम्म चल्ने सत्रमा नेपालबारे समेत छलफल हुनेछ। नेपाल मानव अधिकार सुरक्षा परिषद्को सदस्य हो।

गठबन्धन बदलेर एमालेसँग दूरी बढाएका दाहालको यो काँचो व्यवहारले अब संसद्मा प्रमुख प्रतिपक्षी एमालेको चुनौती व्यहोर्नुपर्नेछ।

मानव अधिकार आयोगको नियुक्ति र व्यवहारप्रति अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट छैन। माओवादी द्वन्द्वकालीन मुद्दालाई समेत अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी संस्थाहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका छन्। नेपालले त्यस्ता मुद्दामा प्रतिरक्षा गर्दै आएको छ।

परिषद्को बैठकमा द्वन्द्वकालका विषयमा आफूप्रतिकूल विषय उठ्नसक्ने र त्यसमा पौड्यालको भूमिका सकारात्मक नहुनसक्ने शंकामा दाहालले आफ्नै मन्त्रिपरिषद् सदस्यको भ्रमण रोकेका हुन्।

गठबन्धन बदलेर एमालेसँग दूरी बढाएका दाहालको यो काँचो व्यवहारले अब संसद्मा प्रमुख प्रतिपक्षी एमालेको चुनौती व्यहोर्नुपर्नेछ। दुई महिना लगभग प्रतिपक्षविहीन भएका दाहालको आगामी कार्यकाल त्यति सहज देखिन्न। प्रतिपक्षमा एमालेसहित राप्रपा समेत छ।

रास्वपा समेत एमालेप्रति सकारात्मक छ। तीन दल प्रतिपक्षमा बसेमा संसद् सरकारका लागि सहज नहुनसक्छ।

फागुन १५, २०७९ सोमबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।