स्वास्थ्यमन्त्री गिरीले भने - आगामी आर्थिक वर्षसम्ममा कम्तीमा ५ लाख रुपैयाँको स्वास्थ्य बीमा लागु हुन्छ

स्वास्थ्यमन्त्री गिरीले भने - आगामी आर्थिक वर्षसम्ममा कम्तीमा ५ लाख रुपैयाँको स्वास्थ्य बीमा लागु हुन्छ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तीमा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको बताएका छन्।

सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु भएको बताए।

उनले भने, ‘यो अहिलेको १ लाख बीमाले केही हुँदैन। यसले कोही यहाँ आउँदैनन्। सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दैछौं। जस्तोसुकै दीर्घ रोग लागोस् त्यसको निःशुल्क उपचार हुनेगरी त्यसको आधार निर्माण गर्नुपर्छ। आउने आर्थिक वर्षको बजेटसम्म पुग्दा कम्तीमा ५ लाख सम्मको बीमा गर्ने गरी त्यसको आधार निर्माण गर्छौं।’

उनले गरिब जनतालाई स्वास्थ्य सेवामा पहुँच स्थापित गर्नका लागि एउटा विशेष स्वास्थ्य बीमाको कार्यक्रम आवश्यक रहेको बताए।

‘अब यो बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिंड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। कहाँ बीमा गर्न पाइन्छ भनेर मान्छेहरु खोज्दै आउने स्थितिको निर्माण गर्नुछ,’ उनले थपे।

मन्त्री गिरीले सातै प्रदेशमा डायलसिस सेवाका लागि प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उल्लेख गरे।

फागुन १५, २०७९ सोमबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।