जोर्डनमा इजरायल र प्यालेस्टाइनबीच ‘राजनीतिक–सुरक्षा’ वार्ता

जोर्डनमा इजरायल र प्यालेस्टाइनबीच ‘राजनीतिक–सुरक्षा’ वार्ता

एजेन्सी: इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन्। वार्ताको उद्देश्य हिंसापछि शान्ति स्थापना गर्नु रहेको दुवै देशका अधिकारीहरूले बताएका छन्।

यद्यपि वार्ता चलिरहेकै बेला ‘प्यालेस्टाइनी आक्रमण’मा दुई जना इजरायलीको मृत्यु भएको इजरायलले जारी गरेको वक्तव्यमा उल्लेख छ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गिभरले उत्तरी पश्चिमी किनाराको हुवारामा भएको गोलीकाण्डमा दुई इजरायली नागरिकको मृत्यु भएको बताएका छन्। 

जोर्डनको सरकारी प्रसारक अल–मामलकाले रेड सीको रिसोर्ट अकाबामा भएको बैठक ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय सहभागिताका साथ प्यालेस्टाइनी र इजरायलीहरूबीच वर्षौंमा यस प्रकारको पहिलो बैठक’ भएको र यसले ‘प्यालेस्टिनी क्षेत्रको स्थिति’ लाई सम्बोधन गर्ने बताएको छ।

इजरायली अधिकारीका अनुसार एक महिनाभन्दा कम समयमा सुरु हुने रमजान महिनाभन्दा अगाडि नै यस क्षेत्रमा सुरक्षा तनाव कम गर्ने उपायबारे प्रतिनिधिमण्डलले छलफल गर्नेछन्।

इजरायल र प्यालेस्टाइनबीच बढ्दो अशान्तिलाई लिएर अन्तर्राष्ट्रिय चासोका बीच आइतबारको बैठक भएको हो।

जोर्डन सरकारका एक अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार वार्ताको उद्देश्य ‘विश्वास निर्माण गर्नु’ र ‘प्यालेस्टाइनी जनताको कठिनाइ कम गर्न सुरक्षा र आर्थिक उपायहरू’ मा सहमति जनाउनु हो।

फागुन १५, २०७९ सोमबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।