प्रतिनिधि सभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत गरिने
काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको पहिलो अधिवेशनको १३औँ बैठक बस्न लागेको हो।
आजको कार्यसूचीमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आज जनता समाजवादी पार्टी, नेपालकी समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रकट गरिनेछ।
सङ्घीय संसद्ले जारी गरेको सूचनामा उल्लेख छ- “प्रतिनिधि सभाको यो बैठक जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिकतर्फबाट २०७९ सालको प्रतिनिधि सभामा निर्वाचित सदस्य एवं बञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्त्वदायी भूमिका निभाउनु भएकी श्री शहनाज रहमानको मिति २०७९ फागुन १३ गते हृदयघातको कारण भक्तपुर जिल्ला अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।”
फागुन १५, २०७९ सोमबार ०९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।