विवादित चिकित्सक डा पौडेललाई नियम विपरित एकै पटक वीर र युनिफाइड अस्पतालको नेतृत्व
काठमाडौँ : स्वास्थ्यमन्त्री पदम गिरिले डा. सन्तोष पौडेललाई एकै दिन वीर अस्पतालको निर्देशकसँगै कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा समेत नियुक्ति दिएको खुलेको छ। गिरिले मन्त्रीस्तरिय निर्णय गर्दै पौडेललाई एकै दिन दुई कार्यालयको प्रमुखको जिम्मेवारी दिएका हुन्।
वीरको निर्देशक हुन उनलाई योग्यताले रोक्दैन। तर उनी १० औँ तहका भएकाले युनिफाइडको निमित्त मात्र हुनसक्ने भए पनि प्रमुख प्रशासकीयकै नियुक्ति दिएका छन्।
डा. पौडेललाई वीर अस्पतालको निर्देशक नियुक्ति गरेको पत्रको चलानी नम्बर ‘१२७१’ हो। उनलाई कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको थप जिम्मेवारी तोकिएको पत्रको चलानी नम्बर ‘१२७२’ हो।
मन्त्री गिरिले दिएको वीर अस्पतालको निर्देशकको नियुक्ति पत्रमा डा. पौडेल ‘सह—प्राध्यापक एवं वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन (अधिकृत दसौँ)’ तह रहेको उल्लेख छ। निर्देशक नियुक्त भएका डा. पौडेलको सङ्केत नं. ‘१९३४०१’ हो।
डा. पौडेललाई दिइएको नियुक्ति पत्रमा लेखिएको छ,‘नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (मा. मन्त्रीस्तर) को मिति २०७९-११-५ को निर्णय अनुसार चिविराप्र ऐन, २०६३ को दफा २० अनुसार तथा चिविराप्र प्रतिष्ठान (बैठक सञ्चालन, पदाधिकारीको काम कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधा सम्बन्धी) नियमावली, २०६४ को नियम ११ (२) बमोजिम हुने गरी चिविराप्र, वीर अस्पतालको निर्देशकको पदमा नियुक्ति गरिएको’ उल्लेख छ।
डा. पौडेललाई कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको थप जिम्मेवारी दिइएको छ। डा. पौडेल दसौँ तहका हुन्। युनिफाइडमा ११ तहको मात्र प्रमुख हुन सक्छन्।
डा. भूपेन्द्र कुमार बस्नेत दसौँ तहका चिकित्सक भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकारीका रूपमा काम गरेका थिए।
डा. पौडेललाई थप जिम्मेवारी तोकिएको पत्रमा ‘नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (मा. मन्त्रीस्तर) को मिति २०७९-११-५ को निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म वीर अस्पताल कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीले गर्दै आएको काम काज समेत गर्ने गरी थप जिम्मेवारी तोकिएको' उल्लेख छ।
डा पौडेल विवादित छविका चिकित्सक हुन्। एमाले निकट रहेकाले एमालेले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा प्रमुख स्थानमा उनले नै नियुक्ती पाउने गरेका छन्।
एमालेको नेतृत्वको सरकारमा उनी यस अगाडि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख थिए। ट्रमाको प्रमुखहुँदा भएका खरिदबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। एम्बुलेन्स लगायतका सामाग्री खरिदमा ट्रमाले पठाएको फाइल अपुरो देखिएपछि आयोगले हालसालै थप कागजपत्र मगाएको थियो।
फागुन १४, २०७९ आइतबार २२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।