उकेरा टप फाइभ : ओलीले प्रचण्डलाई बिरालोसँग गरेको तुलनादेखि पल शाहले पाएको सफाइसम्म
काठमाडौं : आजको देशको राजनीतिमा प्रचण्डले एमालेसँगको सहकार्य सक्काएर आठ दलसँग बनाएको नयाँ गठबन्धनको असर देखिएको थियो।
एमालेसँगको गठबन्धन टुटेकै कारण आजै प्रचण्डले एमालेबाट परराष्ट्रमन्त्री बनेकी डा. विमला राई पौडेलको जेनेभा भ्रमणमा रोक लगाए। उता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बिरालोसँग तुलना गरे।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने देशका समस्याहरुलाई समाधान गर्नका लागि एमालेसहितका सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका थिए।
आजका टप फाइभ
उकेराले आजको दिनको सुरुवात तिलोत्तमा नगरपालिकामा रहेको हरपुर गाउँका १४ परिवारको जग्गाको फर्जी लालपूर्जा बनाएर भूमाफिया काशी घिमिरेले दुई करोड ७० लाख ऋण लिएको स्टोरीबाट गरेको थियो।
घिमिरेले उक्त जग्गाको काशी ग्रिनल्याण्ड विल्डर्सको नाममा नक्कली लालपूर्जा बनाएर सोही जग्गा धितोमा राखी काठमाडौंको काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिइएका थिए।
फिल्म निर्माणमा 'कालो धन' : दीपक मनाङेपछि प्रभु शमशेर सक्रिय
आइतबार उकेरामा नेपाली फिल्म निर्माणमा 'कालो धन' प्रयोग बारेको समाचार पनि प्रकाशित भएको थियो।
फिल्म निर्माणमा 'कालो धन' लगाउनेमा विवादित पूर्व न्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरादेखि आपराधिक पृष्ठभूमिका दीपक मनाङेसम्म रहेका छन्।
गोरखाको भाइरल पुल बनाउँदा भ्रष्टाचार भएको भन्दै प्रदेश सचिवसहित तीन जना विरुद्ध मुद्दा
आइतबारै बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको दाबीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र महरहट्टासहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गोरखा नगरपालिका–३ को खोलामाथि पक्की पुल बनाएको तर सो क्षेत्रमा बाटै नभएको खुलेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।
प्रचण्डलाई इंकित गर्दै ओलीले भने : ठूलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकी कहाँ जानु अनौठो होइन
उता आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीको घरमा गए जस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताए।
दाहालले सहिद, घाइते परिवारलाई समेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको उनले उल्लेख गरेका थिए।
त्यस्तै नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहले पनि सफाइ पाएका छन्। उनीमाथि लागेको अभियोगलाई बाल यौन दुरुपयोगमा बदल्दै जिल्ला अदालत नवलपुरले दिएको सजाय उच्च अदालत पोखराले उल्ट्याएको छ।
एक वर्षमै पलविरुद्धको गम्भीर अभियोग कसरी उल्टाइयो भनेर उकेराले आज एउटा रिपार्ट तयार पारेको थियो।
फागुन १४, २०७९ आइतबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।