एक वर्षमै यसरी उल्टाइयो पलविरुद्धको गम्भीर अभियोग : जिल्ला अदालतले कमजोर प्रमाणमा टेकेर सजाय तोक्यो, उच्चले पुष्टि हुँदैन भनेर सफाइ दियो

एक वर्षमै यसरी उल्टाइयो पलविरुद्धको गम्भीर अभियोग : जिल्ला अदालतले कमजोर प्रमाणमा टेकेर सजाय तोक्यो, उच्चले पुष्टि हुँदैन भनेर सफाइ दियो

काठमाडौँ : नाबालिग बलात्कार अभियोगमा अभिनेता पल शाह पुर्पक्षमा थुनामा जान्छन् कि धरौटी निस्कन्छ भन्ने कुतुहलताकाविच चैत १० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश आयो। आदेश निकै लामो मात्र थिएन किन पुर्पक्षका लागि थुनामा भन्ने कारणहरू समेत विस्तृत रूपमा खुलाइएको थियो।

आदेशमा 'शाहले पीडितलाई जवर्जस्ती करणी गरेको कुरामा इन्कार गरे पनि निजले मौकामा गरेको बयान हेर्दा राती करिब १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको' प्रमाण लियो।

एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजे प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन नसकेको अनि राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राती निजले पीडितलाई करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको' भनियो।

शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुटो आश्वासन दिई पहिले पनि पटक-पटक करणी गरेको भन्ने पीडितको मौकामा व्यक्त गरेको घटनाको कागज उनले आफूलाई प्रतिवादीले पटक पटक करणी गर्ने गरेको कारण अप्ठेरो परेको छ भनी बताएकी भन्ने सरोज वली, योगेश शाह र दुर्गेश थापा र दुर्गा अधिकारीको बयानलाई पनि अदालतले प्रमाणको रूपमा स्वीकार गर्यो।

आदेशमा 'पीडित नाबालिग हुन् भन्नेमा शाह जानकार रहेको, उनी ३२ वर्षका वयस्क व्यक्ति रहेको र प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबिच सम्बन्ध हुनु नर्मल हो प्रेगनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा शाहले करणी गरेको थप पुस्ट्याइँ हुन आएका भनियो।

अन्त्यमा 'घटना विवरण कागज लगायतका तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले नाबालिगलाई ललाई फकाई विवाह गर्छु भनेर करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी' उनलाई थुनामा राख्न कारागार कार्यालय दमौली पठाइयो।

जिल्ला अदालत नवलपुरले पनि उस्तै व्याख्या गरेर पललाई पुर्पक्षमा थुनामा राख्ने आदेश नै दिएको थियो।

अदालती प्रक्रियामा पीडित, जाहेरीकर्ता र केही साक्षीको बयान बदलियो। बलात्कार हो भनेकाहरू बलात्कार हैन, करबलमा बयान दिएको दाबी गर्न थाले। प्रमाणले पुष्टि नै नहुने बयानहरू आए पनि अडियो, घटनाक्रम अनि स्वास्थ्य रिपोर्ट भने उही नै थियो।

करणीको थप पुस्ट्याइँ गर्ने भन्दै अदालतले स्वीकार गरेको अडियोमा पलले 'ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबिच सम्बन्ध हुनु नर्मल हो प्रेगनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ' भन्ने अडियो रेकर्ड फैसलासम्म आउँदा कमजोर बनिसकेको थियो।

पहिला जिल्ला अदालत नवलपुरले नाबालिग करणीबारे फैसलादिदै प्रमाणहरूको व्याख्या गर्यो जसमा न यौनी झिल्ली च्यातिनुलाई प्रमाण स्वीकार गरियो न अडियोलाई नै प्रमाण मानियो।

अडियोमा 'यसमा चाही के छ भनेसि यो यति ठुलो डिसिजन लिनुपर्छ नै भन्ने छैन। किनभने उ प्रेगेनेन्ट भएको भए....मैले गर्दा प्रेगनेन्ट भएको भए... समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो... बिहे गर्नेस्विकार्ने की नस्विकार्ने अब गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अरूको बाहिर हेर्नुस्..... अब अहिले यही छ..... कान्छी गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अण्डरस्ट्यान्डिङमा भयो होला...... हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि लास्टमा स्विकार्नै पर्छ विवाह गर्नै पर्छ ?.... भनिएको थियो

नाबालिगकाले अडियो नक्कली भएको भन्दै त्यो रिहर्सलको भएको दाबी गरिन्। दुर्गेश थापाले बयान बदल्दै अदालतको बकपत्रमा त्यो पल र नाबालिकाविचको सम्बन्धबारे छलफल भएको नभई म्युजिक भिडियोको संवादको रिहर्सल भएको' दाबी गरे। अडियोको संवादले त्यस्तो देखाएको थिएन। देखाउँदैन।

नवलपुरले पनि 'उ प्रेगनेन्ट भएको भए', 'बच्चा भएको भए', ' एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि' भन्ने अडियो पलकै भनेर स्वीकार गर्यो। तर दुर्गेश लगायतकाले गरेको दाबीजस्तो कुनै म्युजिक भिडियोको रिहर्सलको भएको स्वीकार गरेन।

अदालतले यसलाई अश्लील संवादको प्रमाण मान्दै पल र नाबालिकाविच प्रेमी-प्रेमिकाको सम्बन्ध रहेको स्विकार्दैं एसएमएस र म्यासेजलाई समेत आधार मानेर पलले नाबालिकामाथि यौन दुरुपयोग गरेको भन्दै कैद सजाय सुनाउँदा संवादमा भएका करणी पुष्टि हुने संवादहरूलाई नजरअन्दाज गर्यो।

सहजै वैज्ञानिक परीक्षणबाट पुष्टि हुने प्रमाणलाई कमजोर मानिने कागजी प्रमाणसँग दाँजेर नवलपुरले 'अभियोगमा गरिएको दाबी बाहेक बस्तुनिष्ठ प्रमाण कागजबाट देखिन नआएको' भन्दै करणी स्वीकार गरेन।

बाल यौन दुरुपयोग भन्दा करणी पुष्टि हुने प्रमाण बलियो हुँदाहुँदै नवलपुरले भदौ २१ गते मागवादी बाहिर गएर यौन दुरुपयोगमा सजाय तोक्यो। माघ ३ गते तनहुँले त सफाइ नै दियो।

मागवादी बाहिर गएर भएको नवलपुरको फैसलाविरुद्ध पल शाह र सरकारी पक्ष उच्च अदालत पोखरा जाँदा संयुक्त इजलासले स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका बलियो प्रमाणहरूलाई छाडेर अडियोमा केन्द्रित हुँदै 'प्रमाणका रूपमा पेस गरिएको अडियोकै विश्वसनीयता नभएको र अन्य प्रमाणमासमेत बलात्कार पुष्टि गर्ने आधार नभएको भन्दै सफाइ नै दियो।

उच्चको फैसलाविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालतमा पुनरावेदन जाने कानुनी विकल्प भने अझैँ बाँकी छ।

फागुन १४, २०७९ आइतबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।