गण्डकीमा राप्रपाका मन्त्री पञ्चराम गुरुङले तत्काल सरकार नछाड्ने

गण्डकीमा राप्रपाका मन्त्री पञ्चराम गुरुङले तत्काल सरकार नछाड्ने

पोखरा : गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता पञ्चराम गुरुङ राष्ट्रपति निर्वाचनसम्म राजीनामा नदिने अडानमा रहेका छन्।

राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा नयाँ राजनीतिक ध्रुर्वीकरण भएसँगै राप्रपाका तर्फबाट पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले शनिबार सरकार छाड्दै प्रदेशमा दिएको समर्थन पनि फिर्ता लिने उल्लेख गरेका थिए।

तर गण्डकीका मन्त्री गुरुङले भने राजीनामा नदिने भएका हुन्।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकको निर्देशनपछि केन्द्र सरकार र बागमती सरकारमा सहभागी मन्त्रीले राजीनामा दिइसके पनि गण्डकी सरकारमा मन्त्री रहेका उनी राजीनामा नदिने पक्षमा देखिका हुन्।

उनले गण्डकी प्रदेशमा ११ जिल्लाका पार्टी अध्यक्षहरुको सल्लाह लिएपछि मात्र राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताए।

केन्द्रबाट दबाब आएमात्र उनले मन्त्री पदबाट राजीनामा दिएर सरकारबाट बाहिरीने सम्भाबना छ। अन्यथा उनले राष्ट्रपति निर्वाचनमा पार्टीले लिने निर्णयलाई मध्यनजर गर्दै राजीनामा नदिने मनस्थिति बनाएको बुझिन्छ।

गुरुङ खगराज अधिकारी नेतृत्वको सरकारमा गत २५ पुसमा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए भने १० माघमा मन्त्रीमण्डल विस्तार गर्दा उनी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका थिए।

गण्डकीमा राप्रपाकाका समानुपातिकबाट २ जना सांसद छन्। मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारमा राप्रपाको मत निर्णायक छ। राप्रपाको समर्थन फिर्ता हुने बिक्तिकै अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्छ।

फागुन १४, २०७९ आइतबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।