नाबालिग बलात्कारको साटो बाल यौन दुरुपयोगमा सजाय पाएका पलले उच्चबाट पाए सफाइ

नाबालिग बलात्कारको साटो बाल यौन दुरुपयोगमा सजाय पाएका पलले उच्चबाट पाए सफाइ

काठमाडौँ : अभिनेता पल शाहमाथि लागेको नाबालिग बलात्कारको अभियोगलाई बाल यौन दुरुपयोगमा बदल्दै जिल्ला अदालत नवलपुरले दिएको सजाय सजाय उच्च अदालत पोखराले उल्ट्याएको छ।

नवलपुरले बलात्कार नभएको तर बाल यौन दुरुपयोग भएको भन्दै उनलाई साढे दुई वर्ष जेल सजाय सुनाउँदै पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो। जिल्ला अदालत तनहुँले उनलाई बलात्कारको अभियोगबाट समेत सफाइ दिएको थियो।

गैँडाकोटको एक रिसोर्टमा बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपुरले भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिँदै बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। सोही फैसलामा पीडितलाई १० लाख जरिवाना तिर्न समेत भनिएको थियो।

नवलपुरको फैसलाविरुद्ध पल पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएको थियो। सरकारी पक्ष समेत पुनरावेदनमा गएको थियो। दुबै निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाई गरेको उच्चको न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दियो। 

नाबालिग गायिकाको बलात्कार गरेको आरोपमा एक वर्ष अगाडि उनी पक्राउ परेका थिए। पीडितको स्वास्थ्य परीक्षण, जाहेरी पर्नु अगाडि दुवै पक्षको छलफलको अडियो रेकर्ड लगायतका प्रमाणले बलात्कारको अभियोगलाई समर्थन गरे पनि अदालतले दुरुपयोगको रुपमा ब्याख्या गरेको थियो।

प्रारम्भमा जिल्ला अदालत तनहुँबाट निकै बलियो आदेश आएको थियो। तर पीडित र जाहेरीकर्ताले अदालती बयानको क्रममा बयान बदलेपछि पेस भएका प्रमाणको व्याख्यामा अदालत नरम देखियो र जबर्जस्ती करणीको मुद्दामा तनहुँ जिल्ला अदालतले माघ ३ गते सफाइ  दियो। 

नवलपुरले 'पेटमा बच्चा भएको भए पो, प्रेमी-प्रेमिकाबिच यस्तो सम्बन्ध सामान्य हो' जस्ता संवाद र झिल्ली च्यातिनुलाई अनुकूल व्याख्या गर्दै बलात्कार नभएको तर बाल यौन दुरुपयोग गरेको देखिएको भन्दै जरिवाना र कैद सजाय सुनाएको थियो।

प्रारम्भमा प्रमाणको व्याख्यामा सचेत देखिएको तनहुँले त फैसलामा सफाइ नै दिएको थियो। उच्चले उनलाई बाल यौन दुरुपयोगको सजायबाट समेत सफाइ दिएकाले पल जेलमुक्त हुने बाटो खुलेको छ।

नाबालिग बलात्कारको आरोपमा गत फागुन ११ गते नाबालिकाको बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर)मा पलविरुद्ध उजुरी दिएका थिए।  उजुरीपछि फरार रहेका उनी  फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए।

फागुन १४, २०७९ आइतबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।