देश संकटमा परेको बेला एमाले अन्य पार्टीहरूसँग मिल्नुपर्छ : माधव नेपाल
काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि एमालेसहितका सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै उनले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताए।
उनले भने, ‘नेपालमा जस्तो चुनौतीहरु देखिएका छन्, ती चुनौतीहरु सामना गर्नलाई देशका सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ। सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो। संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ।’
नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमानका कुराहरु भएको बताए।
‘वामपन्थी शक्तिहरुलाई हामी मिलेर जानका लागि आव्हान गरिरहेका छौं। विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्छ र त्यसपछि मन, भावना, संगठन सबैकुरा मिल्छ भने संगठन पनि एकताबद्ध बनाएर जान्छौं र हामी कुनै पार्टीमा विलय हुनेवाला छैनौं,’ उनले भने।
फागुन १४, २०७९ आइतबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।