प्रचण्डलाई इंकित गर्दै ओलीले भने : ठूलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकी कहाँ जानु अनौठो होइन

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गरेका छन्।
ओलीले ठूलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीको घरमा गए जस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताए।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने बताए।
उनले भने, ‘मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिन। जसको पद नै सर्वोपरी छ, त्यस्तालाई पद दिएर गलत भयो। त्यही पनि ठूलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकी कहाँ जानु अनौठो होइन। के–के छन सर्त थाहा छैन, पछि थाहा हँदै जाला।’
‘एउटा प्रवृत्ति के देखिन्छ भने बिरालो किन्नु पर्दैन। दुध र भारत कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भईहाल्छ। कसले कचौरामा कति दुधभात दिन्छ, त्यस अनुसार फुत्रुक छिमेकीका घरतिर सर्ने। त्यस प्रवृत्तिले सरकारमा हुनु, सरकारको नेतृत्व गर्नु यो शिलशिला जारी छ,’ उनले थपे।
ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको र धोका दिएको समेत बताए। प्रधानमन्त्री दाहालले सहिद, घाइते परिवारलाई समेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको उनले उल्लेख गरे।
उनले भने, ‘परिवारका मान्छे धनि नै भएका होलान्। भान्जाभान्जी पनि राम्रै ठाउँमा पुगेका होलान्। भाइभतिजा पनि राम्रै ठाउँमा पुगेका होलान्। छोरी–ज्वाँई पनि राम्रै ठाउँमा पुगेका होलान्।’
‘तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन? सहिदका परिवार सम्झनु भएको छ कि छैन? आफ्नै स्वार्थ, आफ्नै परिवारमात्रै सम्झनु हुन्छ कि अरुलाई नि सम्झनु हुन्छ? उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन,? उनले थपे।
फागुन १४, २०७९ आइतबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।