‘हेर्दाहेर्दै’मा राखियो सन्दीप लामिछानेको मुद्दा, सोमबार सुनुवाइ हुने
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्चमा रिट दायर गरेको थियो।
उता, सन्दीप लामिछानेले पनि उक्त मुद्दामा धरौटी रकम घटाउनुपर्ने र विदेशमा क्रिकेट खेल्न जान पाउनुपर्ने माग राखेर अर्को निवेदन दिएका थिए।
यी दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएपनि हेर्दाहेर्दैमा राखिएको हो। अब यसको सुनुवाइ सोमबार हुनेछ।
लामिछानेविरुद्धको नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने फैसला गरेको थियो।
उच्च अदालतले पुस २८ गते २० लाख धरौटीमा छाड्ने आदेशदिँदा उपत्यका छाड्दा प्रहरीलाई जानकारी दिनुपर्ने तर विदेश जान नपाउनेसहितको सर्त राखेको थियो।
फागुन १४, २०७९ आइतबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।