सहकारीहरुले कानुनभन्दा बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो : मन्त्री राई 

सहकारीहरुले कानुनभन्दा बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो : मन्त्री राई 

काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरुले कानुनभन्दा बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताएका छन्।

आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट, कारण र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए।

उनले भने, ‘सबैले धेरै पैसा कमाएर धनी हुनुपर्छ तर मुलुकको कानुनी सीमामा रहेर हुनुपर्छ। कानुनभन्दा बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो।’

सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि उनले बदमासी गर्ने सहकारीहरुको पहिचान गरेर कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

‘यो हल्लैहल्लाको देश हो। केही ठूला सहकारीहरु विधिभन्दा बाहिर गए होला। ग्रामिण क्षेत्रका सहकारीहरुले राम्रो काम गरेका छन्। ३० हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भएपनि अन्यले गरेका छैनन्। तर सहकारी सकियो भने हल्ला बढी भयो,’ उनले भने।

उनले ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताए।

फागुन १४, २०७९ आइतबार १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।