फिल्म निर्माणमा 'कालो धन' : दीपक मनाङेपछि प्रभु शमशेर सक्रिय

फिल्म निर्माणमा 'कालो धन' : दीपक मनाङेपछि प्रभु शमशेर सक्रिय

काठमाडौँ : विवादित पूर्व न्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा फिल्म निर्माणमा लागेका छन्। अवैध उठ्तीपुठ्तीमा बदनाम भएका उनले फिल्म'ज्याकी : आइ एम ट्वान्टी वान' मा लगानी गरेका हुन्। उनीसँगै फिल्मको प्रड्युसरमा प्रज्जवल शमशेर राणा समेत छन्।

उनी मात्रै हैन आपराधिक गतिविधिबाट अवैध आम्दानी गरेको आरोप लागेका अनि आपराधिक पृष्ठभूमि रहेका दीपक मनाङे समेत पछिल्लो समय फिल्म निर्माणमा सक्रिय छन्। उनले पहिला आफ्नो छोराको लागी वान वे फिल्मको निर्माण गरेका थिए।

केही समय अगाडि उनले निर्माण गरेको फिल्म ' दुई नम्बरी' रिलिज भइसकेको छ। उनले शिशिर राणाको निर्देशनमा 'तिमीसँग' नामक फिल्म निर्माणको घोषणा गरेका थिए।

रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को निर्माता प्रभु हुन्। उनले यस अगाडि पनि फिल्म निर्माण गर्दै आएका थिए। प्राय उनले रेनशाको निर्देशनमा बन्ने फिल्ममा लगानी गर्ने गरेका छन्। रेनशा उनको पारिवारिक सदस्य हुन्। यस अगाडि प्रभुले फिल्म 'इन्टु मिन्टु लन्डनमा' लगानी गरेका थिए।  

आइतबार फस्ट लुक सार्वजनिक भएको फिल्म 'ज्याकी : आइ एम ट्वान्टी वान' को पोस्टरमा धिरज मगरलाई मात्र स्थान दिइएको छ।

पोस्टरमा धिरज लाहुरे र डान्सरको पोसाकमा छन्। पोस्टरमा फिल्मकी मुख्य नायिका जसिता गुरुङ अटाएकी छैनन्।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज गर्ने निर्माण पक्षको तयारी छ। यो फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको सङ्गीत, सुशन प्रजापतिको छायाङ्कन, द वाइल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ। 

फागुन १४, २०७९ आइतबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।