प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते कतारको दोहा जाने

प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते कतारको दोहा जाने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही फागुन १९ गते कतारको दोहा जाने भएका छन्। उनी त्यहाँ आयोजना हुने अतिकम विकसित मुलुकहरू (एलडीसीज)को पाँचौँ सम्मेलनमा सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको नेतृत्त्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने उनले जानकारी दिइन्।

दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनेछन्।

एलडीसीजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ। फागुन २० गते एलडीसीजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन्।

सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६औँ वक्ताका रूपमा राष्ट्रिय सम्बोधन गर्नेछन्।

नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ।

फागुन १४, २०७९ आइतबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।