सोमबार रास्वपाको केन्द्रीय कमिटी बैठक बस्ने
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ। बैठक पार्टी कार्यालय वसुन्धारामा बस्नेछ।
बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए।
गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर हाल राष्ट्रपति निर्वाचनको समयमा आठ दलीय गठबन्धन बनेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा माघ २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन।
राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा पनि रास्वपा बसेको छैन। केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ।
फागुन १४, २०७९ आइतबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।