जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तर्क्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले भने, “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारीमा छ।”

सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए। उनले भने, “सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ। यो छिट्टै टुङ्गोमा पुग्छ। जनयुद्धका शहीदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानून बनाएर नै गरिन्छ। त्यसका लागि विधेयक महत्त्वपूर्ण छ।”

अन्तर्क्रियामा शहीद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुशी व्यक्त गरे।

यस्तै माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी शहीद सप्ताह मनाउने तयारी गरेको छ।

फागुन १४, २०७९ आइतबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।