चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी: अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच शहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए)ले आज जनाएको छ।

दुर्घटनाग्रस्त विमानमा चालकबाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र निजको परिवारका एक जना सदस्य थिए।

प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन।

निरन्तरको हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ। क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ।

शनिबार साँझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीविहीन थिए।

फागुन १४, २०७९ आइतबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।