राप्रपा सरकारबाट बहिरिएसँगै गण्डकी प्रदेश सरकार घरापमा, मन्त्रीले आज राजीनामा दिने

राप्रपा सरकारबाट बहिरिएसँगै गण्डकी प्रदेश सरकार घरापमा, मन्त्रीले आज राजीनामा दिने

पोखरा: राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको नयाँ राजनीतिक ध्रुर्वीकरणले गण्डकी प्रदेश सरकार धरापमा परेको छ। राष्ट्रपति चयनका लागि आठ दलीय नयाँ गठबन्धन बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सङ्घ र प्रदेश दुवै सरकार छाड्ने औपचारिक निर्णय गरेकाले प्रदेश सरकार घरापमा परेको हो।

सङ्घीय सरकारमा सहभागी राप्रपाका मन्त्रीहरूले हिजै राजीनामा बुझाइसकेका छन्। गण्डकीमा राप्रपाबाट पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री छन्। उनले पनि आज राजीनामा बुझाउने तय भएको छ।

पुस २५ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी राप्रपाका सहित ३३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पुस २९ गते विश्वासको मत लिँदा पनि उनले ३३ सांसदको समर्थन पाएका थिए।

तर अब, राप्रपाले समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अधिकारी अल्पमतमा पर्ने भएका छन्। पुस २५ मा अधिकारीलाई एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई सहित ३१ सांसदले मतदान गरेका थिए। 

माओवादीबाट अहिले कृष्ण धिताल सभामुख छन्। अधिकारीलाई मुख्यमन्त्री बन्दा समर्थन गरेका स्वतन्त्र सांसद दीपक मनाङेले विश्वासको मत भने दिएका थिएनन्।

स्वतन्त्रबाट निर्वाचित भएका उनी माधवकुमार नेपाल नेतृत्त्वको एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ। राप्रपाका दुई सांसदको समर्थन फिर्ता भएकाले अब, अधिकारीलाई एमाले र माओवादीका २९ सांसदको मात्र समर्थन छ।

यता प्रतिपक्षमा रहेका कांग्रेससँग २७ सिट छ। नयाँ सत्ता समीकरणअनुसार कांग्रेस र माओवादी मिलेर सरकार बनाएको अवस्थामा ३५ सांसद पुग्छन्।

यसअघि गण्डकीमा मुख्यमन्त्रीसहित एमालेले चार, माओवादीले दुई र राप्रपाले एउटा मन्त्रालयको नेतृत्त्व सम्हालेका थिए।अधिकारीको नेतृत्त्वको सरकार अल्पमातमा पर्ने भएपछि कांग्रेसका सुरेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ।

मन्त्री गुरुङले राजीनामा दिने

राप्रपाबाट गण्डकी सरकारमा सहभागी नेता पञ्चराम गुरुङले आज राजीनामा दिने भएका छन्। गण्डकीको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनले केन्द्रको निर्णयअनुसार मन्त्रीबाट राजीनामा दिने भएका हुन्।

उनी गत २५ पुसमा अधिकारी नेतृत्त्वको सरकारमा मन्त्री बनेका थिए। उनले राजीनामा दिएपछि अधिकारी नेतृत्त्वको सरकार अल्पमतमा पर्नेछ।

राप्रपाका दुई सांसदले समर्थन फिर्ता लिनासाथ संविधानको धारा १८८ (२) आकर्षित हुने भएकाले मुख्यमन्त्री अधिकारीले चैत १३ गतेभित्रै विश्वासको मत लिनुपर्ने अवस्था आउँछ। उनले विश्वासको मत नपाएको खण्डमा सरकार स्वतः अल्पमतमा पर्नेछ।

त्यसपछि गण्डकीमा अर्को सरकारको लागि प्रक्रिया सुरु हुनेछ। सत्ताबाट एमाले बाहिरिदा संसद्को सबैभन्दा ठूलो दल कांग्रेससँग २७, माओवादी सात (सभामुख बाहेक) र एकीकृत समाजवादी एक गरी ३५ सदस्यको समर्थनमा नयाँ सरकार बन्ने अवस्था आउने छ।

फागुन १४, २०७९ आइतबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।