कांग्रेसबाहेकका दल र स्वतन्त्र सांसद्लाई ओलीको १७ पत्र

कांग्रेसबाहेकका दल र स्वतन्त्र सांसद्लाई ओलीको १७ पत्र

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा पार्टीको उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी सबै राजनीतिक दल र स्वतन्त्र सांसद्लाई १७ पत्र पठाएका छन्।

एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई गरी १७ पत्र पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका हुन्।

एमालेको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रहेकाले सोबाहेकका अन्य पार्टीलाई राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका पत्र पठाउने निर्णय गरेको थियो।

आजै एमालेबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ।

फागुन १३, २०७९ शनिबार १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।