कुवेत १०० रनमा समेटियो, नेपाल २४३ रनले विजयी

कुवेत १०० रनमा समेटियो, नेपाल २४३ रनले विजयी

काठमाडौं : आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०० रनमा समेट्दै २४३ रनको फराकिलो जित निकालेको छ।

नेपालले दिएको ३४४ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा समेटेसँगै नेपाल लगातार दुई खेलमा विजयी भयो।

कुवेतका ओपनर जुडे क्रिस्टोफर सालदानाले सर्वाधिक २६ रन बनाए, अर्का ओपनर हित किशोर भाइ यहिन्सु १६ रन र यासुफ सिद्धिक १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलर आकाश चन्दले सर्वाधिक ६ विकेट लिए भने हेमन्त धामी र दिपेश कँडेलले २–२ विकेट हात पारे।

त्यसअघि युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा नेपालले ७ विकेट गुमाएर ३४३ रन बनायो।

नेपालका कप्तान देव खनाल र अर्जुन कुमालले शतकीय इनिङ खेले। खनालले अविजित रहँदै १२५ रनको इनिङ खेल्दा कुमालले टिमका लागि १०८ रन जोडे।

त्यस्तै, विशाल विक्रम केसीले २३ रन बनाउँदा दीपक बोहरा ‘ए’ले १३ र दीपक बोहरा ‘बी’ले २० रन बनाए।

दीपकप्रसाद डुम्रेले २० रनको अविजित इनिङ खेले।

हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले तेस्रो खेल सोमबार हङकङ, चौथो मंगलबार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्नेछ।

सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४मा श्रीलंकामा आयोजना हुने यू१९ विश्वकप खेल्नेछ।

फागुन १३, २०७९ शनिबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।