गिरिजाप्रसादले जस्तै नतिजा उल्टाउन सक्लान् ओलीले !
काठमाडौं : नेपालको पहिलो राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा बहुमत नदेखिए पनि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डा. रामवरण यादव निर्वाचित भए। उनले सत्ताधारी दलका बलिया उम्मेदवार रामराजाप्रसाद सिंहलाई पराजित गरेका थिए।
पहिलो राष्ट्रपति बन्न चाहन्थे गिरिजाप्रसाद कोइराला। तर माओवादीले वचन फेरेपछि जित निश्चित देखिएन। महन्थ ठाकुर, शेरबहादुर देउवा अनि रामचन्द्र पौडेलसम्म राष्ट्रपतिको उम्मेदवार बन्न नमानेपछि सहायक महामन्त्री रहेका डा.यादवलाई प्रस्ताव आयो। उनले स्वीकार गरे। जित्न सहज थिएन। तर जित निस्कियो।
१५ वर्षपछि एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनायो। माओवादीले वचन नबदलेको भए नेम्वाङ सहजै तेस्रो राष्ट्रपतिमा चयन हुनसक्थे। अन्तिम अवस्थामा एमालेरहितको आठ दलको गठबन्धन बनेपछि नेम्वाङ डा. यादवकै अवस्थाको चुनौतीमा पुगेका छन्।
आफूभन्दा झण्डै दोब्बर मतभारले अगाडि रहेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गर्नुपर्ने चुनौती छ नेम्वाङ सामु। गिरिजाप्रसादको चलाखीपूर्ण रणनीतिले डा. यादव निर्वाचित हुन सफल भएका थिए। नेम्वाङलाई निर्वाचित गराउने चुनौती केपी ओलीको रणनीतिमा निर्भर देखिन्छ।
आफ्नो उम्मेदवारको पक्षमा मतभार बढाउने रणनीतिअनुसार शनिबार नेम्वाङलाई उम्मेदवार तोकेसँगै राष्ट्रपतिको निर्वाचनको परिणाम नआई सरकार नछाड्ने निर्णय गरेर ओलीले आफ्नो रणनीतिक चाल शुरू गरिसकेका छन्।
तर माओवादीसँगको पहिलो सहकार्यमा दुई-दुई पटक संसद विघटन गर्ने प्रयासमा असफल भएका अनि निर्वाचनमा बनेको गठबन्धन भत्काएर आफूसहितको सहभागीतामा बनेको सरकारले सय दिन पनि पार गर्न नसकेकाले उनको रणनीति कोइरालाको जस्तै सफल हुने निश्चित भने देखिन्न।
यसरी उल्टाएका थिए कोइरालाले
रामराजा प्रसाद सिंहको पक्षमा सबैभन्दा ठूलो दल माओवादी र तराईका अन्य दल थिए। कांग्रेस उम्मेदवार डा. रामवरणको पक्षमा एमाले र मधेसी जनअधिकार फोरम थियो।
तै पनि सिंहको पल्ला भारी नै देखिन्थ्यो। तर, गोप्य मतदानमा क्रस भोट हुँदा निर्वाचित भए डा. यादव।
पहिलो चरणको मतदानमा दुवै उम्मेदवारले जितका लागि चाहिने २९८ मत ल्याउन नसकेपछि दोस्रो चरणमा गयो मतदान। दोश्रो चरणको मतदानमा यादवले सिंहलाई २६ मतले पराजित गरेर राष्ट्रपति भएका थिए।
यादवले खसेको मतमध्ये ३०८ मत पाए भने सिंहले २८२ मत। ६०१ सदस्य रहेको संविधानसभामा ५ सय ९४ सदस्य कायम थियो। त्यसमा राप्रपा-नेपालका चारजना सांसद्ले मतदान गरेका थिएनन्। पहिलो चरणमा सामान्य बहुमत ल्याउन असफल भएका डा. यादवले दोस्रो चरणमा थप २५ सांसदको मत पाएर विजयी भए।
दोस्रो चरणमा नेमकिपा लगायतका साना दलले यादवलाई साथ दियो। साथ जुटाउन सबैभन्दा धेरै सक्रिय भएका थिए कोइराला।
विद्यादेवी भण्डारीको पालामा कांग्रेसको रणनीति सफल भएन। उनी पहिलो कार्यकालका लागि कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई सहजै पराजित गरिन्। दोस्रो कार्यकालमा उनले कांग्रेसकै कुमारी लक्ष्मी राईलाई पराजित गरेकी थिइन्। दुवै निर्वाचनमा एमालेले माओवादीसहित अन्य दलको साथ पाएको थियो।
आफ्नै व्यवहारले एक्लियो एमाले
आफ्नो पक्षको उम्मेदवारलाई जिताउन कांग्रेसबाहेकको दललाई पत्राचार गर्ने एमालेले निर्णय गरेको छ। तर पत्रकै आधारमा समर्थन पाउने सम्भावना भने कम देखिन्छ।
राष्ट्रपतिको निर्वाचनमा नतिजा उल्टाउन ओलीको सबैभन्दा ठुलो कमजोरी हो अविश्वास। आफू अनुकुल नतिजा ल्याइसकेपछि एकल हावी हुने उनको स्वभावले माओवादीसहित बनेको नेकपा विघटन भयो भने सरकार बनेको २ महिनामै गठबन्धन बदलियो।
राष्ट्रपतिमा सघाउने वचन दिँदा पनि माधव नेपालले नपत्याउनुको मुख्य कारण पनि त्यही देखिन्छ। अर्कोतर्फ राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने कि नगर्नेबारे राप्रपामा विवाद छ। विवाद मत्थर पार्न राष्ट्रपतिको उम्मेदवारी मनोनयमा प्रस्तावक र समर्थक नबस्ने निर्णय मात्र गर्यो, मतदानबारे निर्णय गरेन।
उता राष्ट्रिय स्वतन्त्र पार्टीले समेत निर्णय गर्न सकेको छैन। रास्वपा एमाले उम्मेदवारको पक्षमा समेत खुलेको छैन। जसकारण नेम्वाङको उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुवै एमालेका नेताहरू मात्रै भए।
नेम्वाङको प्रस्तावकमा अध्यक्ष ओलीसहित नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा बसे। समर्थकमा एमालेकै योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के बसे।
उम्मेदवारी दर्तापछि ओलीले प्रचण्डले केही समस्या पर्यो भनेको तर राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई भोट दिने अपत्यारिलो दाबी मात्रै गरेनन् शुक्रबार बेलुका बालुवाटारको बैठकमा गएका दलहरू समर्थन गर्न नभई चिया खान गएको हाँस्यापद तर्क समेत गरे।
तर, कांग्रेसका उम्मेदवार पौडेलको उम्मेदवारी दर्तामा देखिएको दृश्यले ओलीको दाबी काटिरहेको थियो। पौडेलको उम्मेदवारी दर्तामा कांग्रेसका नेताहरू मात्रै हैनन् माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायत आठै दलका शीर्ष नेताहरू नै उपस्थित थिए अनि प्रस्तावक र समर्थक पनि बसे।
कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई प्रस्तावक बसे।
लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे समर्थक बसे।
११ हजार मतभारको चुनौती
राष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ६ सय २८ छ। निर्वाचित हुन २६ हजार ३ सय १५ मतभार चाहिन्छ। कांग्रेसको राष्ट्रपतिको उम्मेदवारको पक्षमा देखिएका ८ दलको मतभार ३१ हजार ७ सय ४२ पुग्छ, जुन निर्वाचित हुन सहज मतभार हो।
कांग्रेसको १६ हजार १ सय ४२, माओवादीको ७ हजार ६ सय ४९, एकीकृत समाजवादीको २ हजार ५ सय ७४ मतभार, जनता समाजवादी पार्टीको २ हजार १ सय ४५ मतभार छ।
यस्तै, जनमत पार्टीको १ हजार २ सय ४२ र लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीको ८ सय १३ र राष्ट्रिय जनमोर्चाको २ सय ६ मतभार छ।
एमालेसँग १५ हजार २ सय ३३ मात्र मतभार छ। एमाले उम्मेदवारको पक्षमा अन्य दल खुलेका छैनन्। आठ दलीय गठबन्धनमा समावेश नभएका राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ४ सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १ मतभार छ। यी तीनै दल एकै स्थान हुँदा पनि नेम्वाङको पक्षमा १९ हजार १ सय ८४ मत मात्र देखिन्छ।
नेमकिपा र प्रभु शाहसहितका अन्य स्वतन्त्र सांसदको मत नेम्वाङले पाए पनि ११ हजार बढिको मतभार घटाएर पौडेललाई हराउन त्यति सहज देखिन्न।
एमालेको आश जनजाती भोट
कोइरालाले पहिलो राष्ट्रपतिको रूपमा मधेसी समुदायका डा.रामवरण यादवकै चयन गर्नुमा मधेसप्रति सहानुभुति राख्ने दल अनि अन्य पार्टीमा रहेको मधेसका सांसदहरूको मत प्रभाव पार्नसक्ने सम्भावना समेत कारण थियो।
आठ दलभित्र जनजाती सांसदहरूको संख्या उल्लेख्य छ। नेम्वाङ त्यति विवादित चरित्रका पनि हैनन्। उनले संविधान सभाको अध्यक्षको रूपमा समन्वयात्मक भूमिका निभाएका थिए।
उनीप्रति सहानुभुती राख्ने सांसदहरू अन्य दलमा समेत रहेकाले जनजाती मत प्रभावित गर्नसक्ने आंकलनले समेत नेम्वाङको चयन भएको देखिन्छ।
पहिलो राष्ट्रपतिको निर्वाचनताका कांग्रेसलाई समर्थन नगरेकाहरूले समेत डा. यादवलाई मतदान गर्दाको परिणाम नै उनको जित भएको थियो। मतदान गोप्य रहने र कसले कसलाई भोट दियो नखुल्ने भएकाले आठ दलभित्रका केही मत नेम्वाङको पक्षमा खस्नसक्छ।
तर, झिनो संख्यामा झर्नसक्ने क्रसभोटकै बलमा निर्वाचित हुन चाहिने ७ हजार बराबरको मतभार पाउन त्यति सहज देखिँदैन।
फागुन १३, २०७९ शनिबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।