रामचन्द्र पौडेलको जित सुनिश्चित, एमाले फेरि एक्लियो : प्रकाश ज्वाला
काठमाडौं : एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको जित निश्चित भइसकेको दाबी गरेका छन्।
शनिबार अपरान्ह राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरूको साझा उम्मेदवारको रूपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित भइसकेको बताए।
‘आठ दलले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौं,’ उनले भने, ‘त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ। त्यो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ।’
राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकतावद्ध भएको उल्लेख गर्दै उनले एमाले एक्लिएको दाबी गरे। आठ दलहरूबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने उनको जिकिर छ।
प्रमुख सचेतक ज्वालाले ८ राजनीतिक दलहरूबीचको एकता र संकल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताए।
उनले थपे, ‘ओलीले जे भन्नु हुुन्छ, त्यो उल्टो नै भन्नु हुन्छ। नभत्किएको भए त आजैको यो सिनारियोले देखाई पनि सक्यो। किनकी आज उहाँ एक्लै हुुनुहुन्छ। उहाँको उम्मेदवारको पक्षमा अरु दलहरू कोही पनि छैनन्।’
प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरू जतिधेरै एकतावद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरू नयाँ शीराबाट अघि बढ्न थालेको बताए।
फागुन १३, २०७९ शनिबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।